मत-विमत

बास र बिसौनीका विम्ब

सौर्य अनलाइन २०६८ फागुन १३ गते ३:०८ मा प्रकाशित

मभित्र पहाडघरका सम्झना र रङहरु यसरी अल्झेका छन्, त्यहाँ मन पुग्नेबित्तिकै खुसीका तरङ्ग पैदा हुन्छन् । कतिपय सम्झना मलिना भैसके, कतिपय कुरा सपना पो हुन् कि जस्तो पनि लाग्छ, कतिपय प्रसङ्ग भने स्मृतिमा टड्कारै छन् । त्यो थलो मेरो स्रोत हो । आफ्नो स्रोतसँग जोडिनु भनेको ऊर्जामा प्रवेश गर्नु पनि होला । २०६८ सालको दसैँमा भने नरहरिजीसँग बुबालाई पनि लिएर त्यसतर्फ जाने कार्यक्रम बन्यो । मम्मीलाई पनि साथै लिएर जाने मन थियो, हिँड्न सक्दिनँ भन्नुभयो ।
पानी पर्दै छ रे उता, आँधीखोलो बढेको छ, मोटर घरसम्म पुग्दैन, हिँड्नुपर्छ । अलि पछि जाने हो कि ? भन्दै हुनुहुन्थ्यो बुबा । हाम्रो भने अर्को पनि योजना थियो, त्यहाँबाट फर्केर मनाङतिर जाने । भने– हजुर सक्नुहुन्छ भने हामी त हिँडिहाल्छौं नि बुबा !
घटस्थापनाकै दिन पोखरा लाग्यौं हामी मोटरमा । करिब ३४ वर्षपछि माइती जाँदै थिएँ म । बिहेअघि छुट्टीमा बेलाबखत गइरहन्थँ, हजुरआमा हुनुहुन्थ्यो– यशोदादेवी पौडेल । पुरानो घरमा एक्लै बस्नुहुन्थ्यो, हामी गएका वेला उहाँसँगै बस्थ्यौं, माया गर्नुहुन्थ्यो । हजुरआमा सन् १९९४ मा बित्नुभयो, म इजरायलमा थिएँ त्यतिखेर । हजुरआमा नभएपछि झनै पहाड घर जाने संयोग बनेन ।
०००

पोखरामा चन्द्रा गुरुङको माइतीमा बेलुकाको खाना खान पुग्दा निकै अबेला भइसकेको थियो । चन्द्रा नरहरिजीको सेक्रेटरी छन् यतिखेर । उनका बाआमा हामीसँग फोटो खिच्ने भनेर परम्परागत गुरुङ पोसाकमा चटक्क परेर निकैबेर पर्खनुभएछ । ढिलो भएकाले सुत्न जानुभएको रहेछ । खिर, तरकारी अचारसँग सेलरोटी खाँदै थियौं, बा उठेर आउनुभयो– मैले त लुगा फुकालेर सुत्न पो गयो ! बूढो मान्छे थकाइ लाग्छ ।
आमा पनि आउनुभयो एकैछिनमा । उहाँचाहिं घलेकमन्तिर मखमलको चौबन्दी र लुङ्गीमा हुनुहुन्थ्यो । हँसिली, अगाडिका दाँत फुक्लेका भए पनि हिस्सी परेकी । ‘मभन्दा यो १२ वर्र्ष कान्छी छ, साह्रै राम्री थियो, मसँग बिहे गर्दा !’ कोठाभित्र पसेर एउटा पुरानो फ्रेम हालेको फोटो ल्याएर देखाउनुभयो बाले । आमा मुख छोपेर अर्कोतिर फर्कनुभयो । पेन्सिन पकाएर बसेको पुरानो ब्रिटिस आर्मी, निकै रसिक हुनुहुँदो रहेछ बा । एक छोरा र पाँच छोरी जन्माएका ढुकुरका जोडीजस्ता बूढाबूढी ! छक्क परिरहेथँ म तिनको मायाप्र्रीति देखेर ।
छोरीले अमेरिकाबाट पठाइदिएको क्यामेरा भन्नुहुन्थ्यो, निकाल्नुभयो र भिडिओ खिच्नुभयो आफैं, ‘माल भएर मात्रै क्या गर्ने हो र, चलाउन जान्नप’रो, मो बुढो रामरी जान्दैन यो चलाउन पनि ।’ गजब मीठो सेल पकाएका थिए कृष्ण र चन्द्राले, यति धेरै खाइसकेका थियाँ, भात खान भने सकिएन ।
निकैबेर बसेर कुरा गर्यो । फोटो खिच्दा आमाले असर्फीको माला लगाउनुभयो । बाले पुराना दिनको चर्चा गर्नुभयो– धुवारकोट गाउँमा छँदाका, धेरै दुःखका थोरै सुखका कुरा थिए । पढ्न पाएन उसबेला । गुरुङको छोरो भर्ती हुने चलन थियो, मो पनि भर्ती पो हुन गयो नानी ।
०००
सिद्धार्थ राजमार्ग हुँदै बिहानै स्याङ्जातिर लाग्दा मेरो मन विगततिर फर्किरहेको थियो । बुबासँग नागडाँडा आउँदा अफिसको रसियन जिपमा आउँथ्यौँ हामी, कोदालो पनि बोकेर । भर्खर खन्दै गरेको भिरको बाटो, मोटरको पाङ्ग्रा घरीघरी फस्थ्यो । कति ठाउँमा हामी गाडीबाट निस्केर हिंड्थ्यौं पनि । परिवारै आएका वेला मम्मीले ठूलो स्टिलको टिफिन क्यारियरभरि खानेकुरा पकाएर ल्याएको सम्झन्छु– खिर, पुरी, तरकारी हामी बाटैमा खान्थ्यौँ, पिकनिकजस्तो लाग्थ्यो हामी केटाकेटीलाई, बडो रमाइलो । भालु पहरोमा जब्बर चट्टानहरू थिए, माथिबाट पानी रसाइरहन्थ्यो, बाटो खन्न निकै गाह्रो थियो त्यहाँ ।
भालु पहरोनिर ओल्र्यौं हामी एकछिन, भिरमुन्तिर दाहिनेतर्फ एउटा निकै अग्लो सानो गोलाइ भएको टापुजस्तो पहाड थियो । यसमा बन्जी स्पट बनाउने कुरा भइरहेको छ, बुवाले भन्नुभयो । नजिकै सहिदपार्क रहेछ । माओवादी द्वन्द्वकालमा मरेका माओवादीहरूको सम्झनामा बनाइएको त्यस पार्कमा मृत लडाकुहरूको नाम सिंगमर्मरमा लेखिएको थियो । सबैथरी जातका रहेछन्–बाहुन,क्षेत्री, गुरुङ, दलित गाउँका केटाकेटीहरू ! कति निरपराधलाई मारे तिनले र आफैंँ पनि मरेर गए ! कस्तो निष्ठुर क्रुर समय गुज्रेर गयो यो मुलुकमा । यस्तो फेरि नहोस् कहिल्यै ! मनले भन्यो ।
०००

यी बाटामा म बुबाको हात समातेर धेरैपल्ट हिँडेकी छु । पछि काठमाडाँ बस्न थालेपछि भने स्कुलमा मीनपचासको छुट्टी हुँदा अरूको साथ लगाएर प्लेनबाट पोखरा पठाइदिनुहुन्थ्यो बुबाले, त्यहाँबाट बसमा हामी नागडाँडा उत्रन्थ्यौं र सेतीदोभान झथ्र्यौं । चिटिक्कको बजार थियो सेतीदोभान । फुस्रेखोलो, भाटखोलो मिसिंदै आएको सेतीखोलो यस दोभानमा आँधीखोलासँग मिसिएर निकै ठूलो बन्थ्यो । खोलाको पानी बजारका बीचमा सानो कुलो बनाएर ल्याएको थियो, त्यहाँ स–साना भुरा माछाहरू देखेर बेसरी रमाउँथ्यौं हामी, समात्न खोज्थ्यौं र ती फुत्कन्थे । राति पिलिकपिलिक बत्ती बालेर उड्ने जुनकिरीको शरीरमा बत्ती कसरी जडान भयो भन्ने कुराले सधैं उत्सुकता जगाउँथ्यो हामीलाई । घर पुग्नु अघिल्लो पहिलो बास यहीँ हुन्थ्यो सधैं । कम्पाउन्डर ठूलोबुबा गङ्गाप्रसाद पौडेलको मेडिकल दोकान भएको बार्दली निकालेको बजारको घरको आँटीमा सुत्थ्यौं । ठूलीआमाले खोलाका माछा पकाउनुहुन्थ्यो । आँधीखोलाको एकनासको सुसाइ सुन्दासुन्दै निदाउँथ्यौं हामी ।
कम्पाउन्डर ठूलोबुवा उतिखेर निकै अलमस्त स्वभावका हुनुहुन्थ्यो रे । निकै वर्ष भारतमा बरालिएर घर फर्कंदा उमेर छिप्पिएको केटो भनेर दुलही खोज्न गाह्रो भएको थियो रे ! गाउँका केटीहरूको बिहे बालखैमा भइसक्थ्यो रे ! ठूलीआमा राम्री, छरिती, सबै काम आफैं भ्याउनुपर्ने, पेटमा केही कुरा नराख्ने, पटरपटर बोलिरहनुपर्ने स्वभावकी हुनुहुन्थ्यो ।
यतिखेर भने सेतीदोभान बजार मोटरबाटादेखि बाहिर देब्रेतर्फ पर्दोरहेछ । ठूलोबुबाकहाँ फर्कंदा पस्ने विचारले हामी सोझै जुगलेतिर लाग्यौं ।
०००
हुइँकिँदै गरेको जिपबाट देब्रेतिर आँधीपारि बुबा हामीलाई देखाइरहनुभएको थियो– निबुवाबोट, छाप, दुइपिप्लेको स्कुल, मडुवा, चिलाउनेवास । छापमा छपाली काइँलाबाको घर थियो रे, उहाँको घोडा थियो एउटा, जसलाई हामी ज्ञानी घोडा भन्थ्यौं । त्यो घोडा चढेर त्यतिखेर स्याङ्जाको सदरमुकाम रहेको नुवाकोट गएकी थिएँ रे, म पटकपटक ! पछि मात्र सदरमुकाम सरेर स्याङ्जामा आएको हो भन्नुहुन्छ बुबा ।
नुवाकोट बस्दाका केही धुमिल सम्झना छन् मसँग– १८, १९ सालतिरको कुरा होला । बुबा जिल्ला विकास अधिकारी हुनुहुन्थ्यो । सानो भाइ सञ्जीव जन्मिसकेको थिएन, म तीन, साढे तीन वर्ष जतिकी  हुँदी हुँ । हाम्रो डेराको केही माथि जेल थियो, त्यहाँ डिल्लीरमण भिनाजुलाई हत्कडी लगाएर राखिएको थियो । बुबाकी ठूली बहिनीका पति कांग्रेसी हुनुहुन्थ्यो । उहाँ ०१७ सालको राजाको कदमको विरोध गरेकाले राजनीतिक बन्दी बनाइनुभएको थियो । जोगीझैं कपाल पाल्नुभएको उहाँले जेलभित्रै तानमा कपडा बुनेको सम्झना हुन्छ मलाई । हामी केटाकेटी उहाँलाई निकै मन पराउँथ्याँ । मलाई एउटा झोला बुनिदिनुभएको थियो, पोखरा आइसकेपछि पनि त्यो झोला बोकेर म स्कुल जान्थें । पञ्चायतकालमा भैरहवामा प्रजिअ रहेका बेला कांग्रेसी क्रियाकलापमा संलग्न रहँदा बुबाले डिल्लीरमण भिनाजुलाई सधँ पक्डनुहुन्थ्यो । म छक्क पर्थें– आफ्नै ज्वाइँलाई किन थुन्नुहुन्छ बुबा !
बालककालदेखि आफ्नै आँखा अघिल्तिर निरन्तर पञ्चायतविरोधी मोर्चामा डटेर बसेको यो मान्छे मलाई सधैं कांग्रेसको बिम्बजस्तो लाग्थ्यो । यतिखेरको कांग्रेसको मूलधारले भने उहाँलाई त्यति आफ्नो नठानेको जस्तो लाग्दा अचम्म मान्छु ।
जेलका कैदीहरूले प्रयोग गरेर फालेका साबुनका टुक्रा शरीरमा दलेर राजीव र म पँधेरामा खेलिरहन्थ्याँ रे पानीमा । हैरानै पाथ्र्यौ तिमीहरूले !  लुतो आएर फतक्कै भएको थियो तिमीहरूको शरीर ।
डा. मथुरा श्रेष्ठ त्यतिखेर  मेडिकल अफिसर थिए रे नुवाकोटमा । हाम्रो लुतो उनले  नै सन्चो बनाएका हुन् भनेर मम्मी भनिरहनुहुन्छ । बन्दीपुर घर भएका यी डाक्टर काठमाडौँमा बुबालाई भेट्न आएका पनि हुन् पछि । ०४६ सालको आन्दोलनपछि किसुनजीको क्याबिनेटमा उनी मन्त्री भएका बेला भने बुबा विराटनगरमा सह–अञ्चलाधीश हुनुहुन्थ्यो । भुलक्कड स्वभावका यिनले त्यतिखेर बुबालाई भेट्दा सोधेका रहेछन्–तपाईंको घरचाहिँ कता हो महेश्वरजी ?
०००

आँधीखोलाको किनारैमा चिलाउनेवास बजार देखाउनुभयो बुबाले । त्यतातिरबाट हाम्रो पँधेरैसम्म पुग्ने मोटरबाटो बनेको रहेछ । पानी परिरहेकाले भत्केर बाटो बन्द रहेछ यतिखेर ।
स–साना रूखका पोथ्राबीच रातोमाटो भएको पाखापाखै हामी ओरालो लाग्यौंँ र सरादी खोलामाथिको लामो झोलुङ्गे पुल तर्यौ। अर्कातिरबाट आएको आँधीखोलो यहीँ मिसिएर दोबिल्ला बनेको रहेछ । आँधीखोलाको स्रोत नै चिलाउनेवास रहेछ । अन्धा बाबुआमालाई बोकेर हिंँडेका छोरा श्रवणकुमार यही वनमा वाण लागेर मरेपछि अन्धाअन्धीको आँसुबाट खोलो उत्पत्ति भएको किंवदन्ती पनि यहींँको रहेछ ।
अलि तल झरेपछि सानो गाउँ आयो, पिँढीमा बिरामी बूढामान्छे बसिरहनुभएको थियो । सुभानसिंह रहेछ नाम, ठूलोबुबा भन्नुपर्ने । बुवाले मलाई र नरहरिजीलाई चिनाइदिएपछि जुर्मुराएर गलैंँचा मगाउनुभयो । गाउँमा ज्वाइँ भनेपछि बेग्लै मान हुन्छ । मलाई नचिने पनि टेलिभिजनमा देखेका ज्वाइँलाई चाहिँ चिन्नुभएको रहेछ उहाँले ।
उक्लँदै गर्दा बुवा बाटाका घरहरूमा बोलाउँदै हिँड्नुहुन्थ्यो । सार्की कान्छादाइको घर उस्तै देख्ता रमाइलो लाग्यो मलाई । बोलायाँ, कोही बोलेन, मान्छे थिएनन् । पारि गैह्राको ठूलो सार्वजनिक चौरमा लहरै घर बनेछन्, चौतारोचाहिँ जहाँको तहीँं थियो । भैँसी आहाल बस्ने पोखरीहरू भने देखिनँ ।
०००

गैराको चौतारीबाट एउटी स्वास्नीमान्छे बारीको कान्लामा घाँसको भारी अड्याएर निकैबेरदेखि हामीलाई तलबाट आउँदै गरेको हेरिरहेकी थिइन् । बुबा नजिकै आएपछि निकै निहुरेर निधारमा छुवाएर दुवै हात जोडिन्– ए, काठमान्डूका ससुरा पो हुनुहुँदो रहेछ !
पँधेरो जाने बाटोको ठूलो पीपलको रूख त्यहीं थियो । ग्रहदशा फाल्न शनिबार काँचो धागो त्यसका वरिपरि बाँधेर बत्ती बाल्ने चलन अहिले पनि रहेछ । म त्यतै उक्लँ बायाँतिर । घर जाने बाटो दायाँपट्टि थियो । पँधेरोसम्म पुगेर आउँछु नि बुबा म ?
बाबा मसँग आयो पछिपछि । म फुर्केको देखेर ऊ रमाइलो मानिरहेथ्यो । अचेल यो पँधेरो चल्तीमा रहेनछ क्यारे । जताततै घाँसपात उम्रेको, बाटै पो थिएन । हामीले त्यतिखेर नुहाउने, लुगा धुने पँधेराका स–साना रह प्रयोगमा आएजस्ता लाग्दैनथे । पानी भर्ने मूल पँधेरामा बाँसका कप्टेराको धारा हालिएको थियो क्यारे पहिला, हजुरआमा तामाको गाग्री डोकोमा बोकेर आउनुहुन्थ्यो पानी भर्न, म सानो अम्खोरा बोकेर आउँथेंँ । अहिले त्यस्तो कुनै धारो थिएन । जुका लाग्छन् कि भन्दै डराउँदै हिंडिरहेथें, बाबाले भन्यो–डराउनु पर्दैन । माइतीका जुकाले टोक्तैनन्, टोके नै पनि माया गरेर टोक्छन् । मैले रिसाएजस्तो गरी बाबालाई माया भरिएका आँखाले हेरेँ ।
पँधेराबाट घरतिर जाने डहर उस्तै रहेछ । डहर तल्तिरको हाम्रो पुरानो गोठ भने देखिनँ । हजुरआमाले भैंँसी दुहिरहँदा हामी टुक्क्रुक्क पर्खालमाथि बसेर हेथ्र्यौं । तल्लो गह्रोमा मलखातो थियो । मलखातै माथि त्यसैका वरपर रायोको साग रोप्नुहुन्थ्यो हजुरआमा । नपत्याइसक्नु ठूला गाँज हुन्थे । चरेसको थालमा हजुरआमा आँसीले मसिनो गरी काट्नुहुन्थ्यो कलिलो साग । पिरो राग पिँढीभरि फिँजिन्थ्यो, आँगनमा पनि पुग्थ्यो, खुब मनपथ्र्यो मलाई । अचेल रायोमा यसरी राग आएको थाहा पाएकी छैन मैले ।


खरको छानो र पाली भएको पुरानो घर थियो हाम्रो । एकापट्टि सानो कोठी थियो, म र मेरा दुवै भाइ राजीव र सञ्जीव यहीं जन्मेका हौं । अर्कोपट्टिको कुनामा ढिकी र जाँतो गाडेका थिए । गोबर र रातो माटाले लिपेको लामो पिँढी, मूलदैलोभित्र पसेपछि हजुरआमा सुत्ने मझेरीको ठूलो खाट र त्यसको भित्तातिर ठूलो मदुस थियो । मझेरीमा खाट नजिकैको खामोमा बाँधिएको ठूलो ठेकोभित्र मदानीमा बेरिएको नेती घारघुर पार्दै पिर्कामाथि बसेर हजुरआमा मही पार्नुहुन्थ्यो । दैलोछेउ पोतहरीको कुनोमाथिको तख्तामा बाबियोले बनाएका गोला पीँधहरूमाथि तामाका गाग्री हुन्थे लहरै ।
पहिलोपल्ट दुई वर्षको उमेरमा घर छाडेर हिँडेपछि म सधैं पाहुनाजस्तो गरेर आएँ यहाँ । लामो अन्तरालपछि आफू बामे सरेको आँगनतिर फर्कदै गर्दा लागिरहेथ्यो– मनको सबैभन्दा भित्र बनेका गहिरा विम्बहरूले नै मान्छेको व्यक्तित्वको केन्द्र निर्माण हुन्छ क्यारे ! जीवनका सबैभन्दा शक्तिशाली प्रेरणाका स्रोत पनि सम्भवतः तिनै विम्ब नै हुन् । पछिल्लोपल्ट बुबासँग यहाँ आउँदा १८ वर्षकी थिएँ म, एकरात बसेका थियाँ हामी । यतिखेर भने, सम्झनाहरू अटेसमटेस भरिएको जन्मघर नदेख्ता मन खिस्रिक्क भयो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय