मत-विमत

यसरी भए कम्युनिस्ट

सौर्य अनलाइन २०६८ फागुन १३ गते ३:१८ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित‘ सदावर्ती लाग्छन् । बहत्तर वर्षीय कमरेड रोहित अभैm पनि युवा जोसका साथ कम्युनिस्ट आन्दोलनको उकालो उक्लिने प्रयत्नमा छन् । उनको राजनीतिक राप र ताप हेर्दा यस्तो लाग्छ, ‘कम्युनिस्टहरूले भनेजस्तो साम्यवादसम्म पुग्ने बाटो छोटिदै गएको छ ।’ उनले सानैमा माक्र्सवाद घोके । र, भए कम्युनिस्ट । ‘माक्र्सवादको बाटो र उज्यालोमा जीवन बिताउछु ।’  १६ वर्षकै उमेरमा निष्कर्षमा पुगेका थिए उनी । उनलाई माक्र्सवादको बाटोसम्म पुरायाउने खास घटना र दुर्घटना थिए । के थिए ती घटना र दुर्घटना ? उनको स्मृतिः

भक्तपुर सुकुलढोकाको निम्नमध्यम वर्गीय तर शिक्षित परिवारमा विसं १९९६ मा जन्मिएँ म । भक्तपुरमै बित्यो मेरो बाल्यकाल । जहानियाँ राणाशासनविरोधी आन्दोलनको लहर चलिरहेको समय थियो त्यो । मान्छेहरू भन्थे, ‘राणाशासनविरुद्ध आन्दोलन हुँदै छ ।’ तर, मलाई आन्दोलनबारे गहिरो ज्ञान थिएन । भक्तपुरको साँघुरो गल्लीभित्रको घरमा बसेर म सोचिरहन्थेँ, ‘राणाशासन कस्तो हो ? यस्तो शासनमा कस्तो हुन्छ ?’
घरमा अलि कडा अनुशासन थियो । परिवारमा राणाविरोधी आन्दोलनबारे उतिसारो चासो हुँदैनथ्यो, न समर्थन न विरोध । प्राथमिकताको विषय थिएन ।  बुबा सरकारी जागिरे भएकाले पनि हुनसक्छ, आन्दोलनप्रति कसैलाई केही पनि चासो नभएको । किन यति बिघ्न मान्छे हातमा राँको लिएर सडकमा आइरहेछन् ? त्यो केको खोजी थियो र अभीष्ट के थियो ? यस विषयमा परिवारका कसैले कहिल्यै  चासो र चर्चा गरेनन् । तर, मलाई भने असाध्यै चासो हुन्थ्यो । म जान्न चाहन्थेँ, ‘किन मान्छेहरू सडकमा आएका हुन् ?’  यिनीहरूले गर्न खोजेका के
हुन् ? यही जिज्ञासाले म सडकसम्म पुग्थँ । मलाई सबैले ‘आन्दोलनमा नलाग्न’ भन्थे । तर, आन्दोलनप्रति उत्सुकता र जिज्ञासा परिवारको छेकबारले छेकिएन । विसं २००५, ००६ तिरको हो । म त्यस्तै नौ÷दस वर्षको हँला, राणाविरोधी आन्दोलनमा प्रजा परिषद्का कार्यकर्ता भूमिगत रूपले सक्रिय थिए । पूmलको माला र टीका लगाएर युवा  कानुनीराज– जिन्दावाद, इनक्लाब–जिन्दावाद भन्दै सत्याग्रहमा निस्केका थिए । हातमा प्लेकार्ड बोकेका युवाको लामै लर्को देखिन्थ्यो टोलमा । उनीहरू पर्चा छर्थे अनि प्रहरीलाई छल्दै कतै पुगेर कोणसभा गर्थे । हामी आन्दोलनकारीले छाडेको पर्चा हातले टिप्थ्यौं । र, उनीहरूले जसरी नारा लगाउँदै हिँड्थ्यौँ । तर, पर्चामा लेखिएका नारा र अक्षरका अर्थ हामी बुझ्दैनथ्यौं । प्रहरी आन्दोलनकारीलाई लखेट्दै आउँथे । अनि हामी पो फोहोर गोरेटामा बेतोडले दगुथ्र्याँ । मानौँ, हामीलाई नै प्रहरीले पिछा गरिरहेको छ । एकदिन त्यसरी नै प्लेकार्ड बोकेर नारा लगाउँदै आएका दुई युवालाई भक्तपुर प्रहरीले समाएर बेस्सरी कुट्यो । प्रहरीका कुटाइले ती युवाको शरीरबाट रगत बग्न थाल्यो । तर, प्रहरीले उनीहरूलाई कुट्न छाडेनन् । त्यो देखेपछि प्रहरीसँग असाध्यै रिस उठ्यो । ठूलो भएपछि प्रहरीलाई पनि त्यसरी नै कुट्छु भन्ने लाग्यो ।  स्थानीयहरूले पनि नेवारी भाषामा प्रहरीलाई बेस्सरी गाली गर्थे, आन्दोलनकारीलाई कुटेको देखेर ।
७ फागुन २००७ पछि काठमाडौंको सडक, गल्ली सुनसानजस्तै भयो । मान्छेहरू भन्थे, प्रजातन्त्र आयो । तर, के हो प्रजातन्त्र, त्यसमा के हुन्छ, कुनै ज्ञान थिएन । विसं ००९ मा बुबाको रौतहटको गौर बजार अड्डामा सरुवा भयो ।  हामी सबै उतै गयौं । बुबाले गौरका लीलाराज उपाध्यायको घरमा कोठा खोज्नुभएको रहेछ । पछि थाहा भयो घरबेटी सक्रिय कम्युनिस्ट कार्यकर्ता रहेछन् । गौरको जुद्ध पब्लिक उच्च माध्यमिक विद्यालयको कक्षा सातमा भर्ना भएर पढ्न सुरु गरेँ । रौतहट किसान आन्दोलनको गढ रहेछ । गौरलाई आधारभूमि बनाएर कम्युनिस्टहरू सरकारविरोधी आन्दोलनमा सक्रिय थिए । हामी बसेको घरमा कम्युनिस्टको नियमितजसो गोप्य बैठक हुन्थ्यो । बुबा नभएको वेला हामी बसेको कोठालाई समेत कम्युनिस्टहरूले बैठकको कोठाका रूपमा प्रयोग गर्थे । बैठकमा आएकाहरूले मलगायत केही साथीलाई खाली कापीमा विभिन्न कुरा लेखेर भारतको बैरगनियाँ गान्धी प्रेस पठाउँथेँ । प्रहरीको आँखा छलेर हामी जान्थ्यौं । प्रेसका मान्छेले सानो पानामा धेरै प्रति छापेर दिन्थेँ । त्यसलाई लुकाएर नेपाल ल्याइदिन्थ्यौं । उनीहरू (कम्युनिस्ट नेता) लाई दिन्थ्यौं । उनीहरूले भित्तामा टाँस्नका लागि चाहिँ अखबारमा राता मसीले ‘काम, माम, कपडा देऊ, नत्र गद्दी छाड’ भन्ने शब्द भोजपुरी भाषामा लेखिएका हुन्थे । पोस्टर टाँस्न हामी राति जान्थ्यौँ र  टाँसेर राति नै फर्कन्थ्यौँ । हामीले कम्युनिस्टको विचार मन पराएर पोस्टर टाँसेका थिएनौँ । केवल भनेको मानेका थियौँ । तर, विस्तारै आन्दोलनमा आकर्षण बढ्दै गयो । कोठामा आएका कम्युनिस्ट नेताहरूले माओको जीवनी, कम्युनिस्ट आन्दोलनका किताब पढ्न दिन्थे । म रुचिका साथ पढ्थेँ ।
गौरमा एकपटक युवा विद्यार्थीको अन्तर्राष्ट्रिय महोत्सव भयो । महोत्सवमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण शर्मालगायत आए । उनीहरूले चिनियाँ र रुसी आन्दोलनबारे प्रशिक्षण दिए । त्यो प्रशिक्षण सुनेपछि कम्युनिस्ट बन्नुपर्छ भन्ने लाग्यो । विसं ०११ मा रौतहटमा बाढीपहिरो गयो । बाढीले धेरै घर बगायो । बाली नष्ट ग¥यो । धेरै जनता घरबारविहीन भए । नेपाल कम्युनिस्ट पार्टी र किसान सङ्गठनका प्रतिनिधिले बाढीपीडितको मुद्दालाई जोडतोडका साथ उठाउन थाले । ‘बाढीपीडितलाई सहायता देऊ’, ‘तिरो तिरान माफी गर’, उनीहरूका नारा थिए । त्यतिबेला मलाई लाग्यो, ‘कम्युनिस्टहरू गरिब किसानको पक्षमा लड्दा रहेछन् ।’ कम्युनिस्ट बन्ने अर्को ऊर्जा यहाँबाट पनि मिल्यो ।
विसं ०१२ मा फेरि बुबाको जागिरले गर्दा गौरबाट भक्तपुर आयाँै । भक्तपुरकै एक स्कुलमा १० कक्षामा भर्ना भएँ । भक्तपुरमा कम्युनिस्टहरूले जनअध्ययन बौद्धिक मण्डल पुस्तकालय खोलेका थिए । चासो राख्दै गएपछि उनीहरूले मलाई पनि त्यसमा आबद्ध गराए । भक्तपुरकै चोछेँ टोलमा बौद्धिक विकास मण्डल भन्ने पुस्तकालय थियो । त्यसमा म पनि सदस्य बने । प्रगतिशील पुस्तकहरू पाइन्थ्यो त्यहाँ । ती पुस्तक पढ्ने अवसर पाएँ । साताको कम्तीमा पनि दुईपटक विचार गोष्ठी हुने गरेका थिए । ती गोष्ठीमा साहित्य र राजनीतिका कुरा बढी हुन्थे । गोष्ठीमा सहभागी हुन र प्रवचन दिन पनि त्यस्तै खालका मानिस आउँथे । पुस्तकालयमा साहित्यिक गोष्ठी दिउँसो र राजनीतिक गोष्ठी राति हुन्थ्यो । गोष्ठीमा प्रशिक्षण दिन पुष्पलाल श्रेष्ठ, लक्ष्मण राजवंशी, वासुदेव ढुङ्गाना, शम्भुराम श्रेष्ठ, पिएन राणालगायत आउँथे । मैले उहाँहरूबाट कम्युनिस्ट कक्षा लिएँ । नियमित अध्ययन र प्रशिक्षणपछि म निष्कर्षमा पुगँे, ‘सबैभन्दा उपयुक्त पार्टी कम्युनिस्ट नै हो ।’ विसं ०१३ मा नेपाल विद्यार्थी फेडरेसनको सदस्यता लिएर कम्युनिस्ट कार्यकर्ता नै भएर मैदानमा उत्रन थालँे । पार्टीको निर्देशनअनुसार स्वास्थ्य, सरसफाइ, पर्चा टाँस्ने, कोणसभा गर्नेजस्ता गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै गएँ । विसं ०१५ देखि पूर्णकालीन रूपमै कम्युनिस्ट आन्दोलनमा लागेँ ।
आन्दोलनकै क्रममा ०१४ सालको अन्त्यतिर बिरामी परँे । नेपालमा राम्रो उपचार नहुने भएपछि सङ्गठनले चीन उपचारका लागि पठायो । चीनमा झन्डै एक वर्ष बस्नुप¥यो । मेरो उपचारमा संलग्न चिकित्सकहरूबाट चिनियाँ भाषा सिकेँ । उपचारकै क्रममा चीनको इतिहास र माओत्सेतुङको विचारधारा, चिनियाँ जनकम्युन, मजदुर–किसान आन्दोलन आदिबारे राम्रो अध्ययन गरँे । नेपाल फर्केलगत्तै  माक्र्सवाद अध्ययन गोष्ठी नामका संस्था स्थापना गरेर पुस्तकालयमा खोल्यौँ । पुस्तकालयमा विज्ञहरूलाई बोलाएर कम्युनिस्टका बारेमा प्रशिक्षण दिन लगाइन्थ्यो । फर्केर हेर्दा सङ्गत र स्वाध्ययनले म कम्युनिस्ट राजनीतिमा लागँे । कम्युनिस्ट भयो भनेर आफन्तहरूले निकै विरोध गरे ।  आफन्तहरूसँग पानी बाराबारको अवस्था सिर्जना भयो । अझै पनि काकाहरू मसँग बोल्दैनन् । अहिले जुन विचारधारा र बाटामा छु, मलाई कुनै पश्चात्ताप र गुनासो छैन ।
प्रस्तुतिः रामहरि पाण्डे

प्रतिक्रिया