खेल-खेलाडी

भक्कुलाई रागो

सौर्य अनलाइन २०६८ फागुन १३ गते ३:५३ मा प्रकाशित

भन्नेहरू भन्छन्– समय आफैँमा सबैभन्दा ठूलो खेलाडी हो । उसका अगाडि अरू कसैको केही लाग्दैन तर, मानिस पनि कम्तीको कहाँ पो छ र ? उसले पनि मनोरन्जनका लागि वा शारीरिक तन्दुरुस्तीका लागि नै भए पनि सभ्यताको उषाकालदेखि नै एक वा अर्को गरी अनेकखाले खेलको विकास गर्दै आएको छ । त्यस्ता कतिपय खेल आरम्भ भए, खेलिए र कालान्तरमा इतिहासको धुलोमा पुरिँदै पनि गए । कतिपय खेलहरू भने समयको प्रवाहसँगै मानव सभ्यताको विरासतजस्तै बन्न पुगे । शताब्दीपछि शताब्दीहरू बिते तर ती खेलहरू हराएनन् । बरु झन् परिस्कृत हुँदै आए ।
दौड (एथलेटिक्स), कुस्ती, पौडी, सुटिङ, घोडचढी, फेन्सिङ आदि जस्ता खेलहरू आदिम सभ्यताका बेजोड लिगेसी हुन् । बित्दो समय, चुलिँदा मानवीय चाहना र बढ्दो भौतिक प्रगति सबैको प्रभावले ती खेलको आधुनिक स्वरूप विकास भयो । अरू पनि नयाँनयाँ खेल विकसित हुँदै गए । कतिपय खेल ग्लोबलाइज्ड भए भने अनेक खेल त्यही ठाउँ विशेषमा सीमित भएर रहन पुगे जहाँ ती उदाएका थिए ।
नेपाल यस्ता कुराको अपवाद हुन सक्दैन । अचेल खेलिने तमाम खेलहरू आफ्ना ठाउँमा छन् । तर प्रसङ्ग त्यस्ता खेलहरूको हो जुन खेल हिजोआज खेलिँदैनन्, इतिहासको कुनै कुनामा धुलिसात भएका छन् । पछिल्लो समयको पुस्तालाई त त्यस्ता धेरै खेलको नामैसमेत थाहा छैन ।
नेपालमा कुनै समय खेलिने त्यस्तै एउटा खेल थियो– भक्कुलाई राँगो दिने । राणाशासन कालभरि खेलिने यो खेल अन्तिमपटक पाँच दशक पहिले खेलिएको थियो । काठमाडौँमा खेल्ने÷खेलाइने यो खेलका सम्बन्धमा धेरैजना जानिफकार छैनन् ।
भनिन्छ, यो खेल एक किसिमको धार्मिक चाडजस्तै थियो, एउटा प्रचलन जस्तो । राणा शासनकालभन्दा धेरै पहिले, उहिल्यै मल्लकालदेखि, नै यो परम्परा चल्तीमा थियो । नरशमशेर जबराका अनुसार, वर्षको एकपटक हनुमानढोका चोकमा खेलाइने यो खेल राणा शासनभर कायम थियो  तर, विक्रमीय सम्बत् २००७ को परिवर्तनपछि क्रमशः हराएर गयो । यो खेल हेर्न राजामहाराजा, भारदार तथा सर्वसाधारणसमेत वर्षको सात दिन हनुमानढोकामा घुइँचो लागेका हुन्थे । उनीहरूमा उत्सुकता, उत्तेजना र रोमाञ्च हुन्थ्यो ।
चोकको एक कुनामा भैरबको मुखुण्डो लगाइ हातमा खड्ग लिएर मान्छे उभिएको हुन्थ्यो । अर्को कुनाबाट अजङ्गको राँगोलाई रक्सी खुवाई मत्त्याएर चोकभित्र हा…हा… गर्दै ठिटाहरूले पसाउँथे । दुईजना भक्कु त्यस राँगोलाई जिस्क्याई जिस्क्याई भैरबतिर लखेट्ने काम गर्थे । भैरबलाई राँगोले हान्न जाओस् र भैरबले खड्गद्वारा प्रहार गरी राँगोसँग भिडन्त गरोस् भन्ने मनसाय सबैमा हुन्थ्यो ।
अजङ्गको रिसाहा राँगो भएको खन्डमा चानचुने भैरबलाई सिङले हानी घाइते पारिदिन्थ्यो । लुत्रे राँगो परे भैरबले सजिलै खड्ग प्रहार गरी  मारिदिन्थ्यो । हेर्नेहरूलाई रमाइलो त्यतिबेला हुन्थ्यो जतिबेला राँगो भयङ्करको हुन्थ्यो र भैरब पनि अनुभवी हुन्थ्यो ।
नर शमशेरको भनाइ, ‘‘भैरब हुनेहरूमा मैंले चिनेको एकजना लाहुरे ‘डुइयाँ’ थियो । त्यो लाहुरेलाई बगलीमारा मुद्दामा लामो कारागार सजायँ भएको थियो । तर प्रत्येक वर्ष सात दिनका लागि उसलाई जेलमै मासु, रक्सी ख्वाएर हनुमानढोका ल्याउने गर्दथे । उसले आफ्नो एउटा खुट्टा भुइँमा खुम्च्याउँथ्यो र राँगो त्यसरी खुम्चिएको घुँडामा हान्न आउँदा खड्गले छपक्कै गर्धन काटी ढाली हाल्थ्यो ।’’
कता–कता स्पेनको साँढे जुधाइ खेलसित मिल्न खोज्ने यो नेपाली खेल ‘भक्कुलाई राँगो’ पछिल्लो र अन्तिमपटक विक्रमीय सम्बत् २०१५ तिर भएको अनुमान छ । नरशमशेरका अनुसार, यो खेलको कुनै अवशेष बाँकी छ भने मल्लकालदेखिकै आकाश भैरबको मन्दिरमा राखिएको भैरबको त्यो कालो मुकुट छ, जुन मुकुट पहिरिएर उहिलेउहिलेका मानिस भैरबको रूपमा राँगोलाई खड्गले मार हान्न हनुमानढोकाको त्यही चोकमा वर्षको सात दिन उत्रन्थे । सोही मन्दिरमा झन् पुरानो तान्त्रिक शक्तियुक्त अर्को कालो मुकुट पनि छ, जुन ‘मुकुट लगाएर हेर्दा उडिरहेको काग पनि खस्थ्यो’ भन्ने जनविश्वास थियो । त्यसैले त्यो तन्त्रयुक्त मुकुट मन्दिरमै राखी त्यस्तै नक्कली अर्को मुकुट (मानिस) भैरबलाई पहि¥याइने गरिन्थ्यो ।
साँढे जुधाइ नै भनेर नेपालमा कहिल्यै खेल खेलिएन । तर भनिन्छ, राजा रणबहादुर शाह साँढे जुधाउन निकै मज्जा मान्ने गर्थे । कहाँसम्म भने उनी विदेशबाटै भए पनि ठूला साँढे झिकाई जुधाउन लगाउँथे । त्यति मात्र होइन, घाइते साँढेहरूलाई स्याहार गर्न अनगन्ती सुसारे र एकाधजना ‘साँढे वैद्य’ पनि नियुक्त गरेर राखेका हुन्थे । तर, यी सबै कुरा अब अँध्यारो अतीतका विस्मृति मात्र हुन् ।
सन्दर्भ–स्रोतः हेमन्तशमशेर राणाद्वारा प्रस्तुत ‘जनरल नरशमशेर जङ्गबहादुर राणाको जीवनी’

प्रतिक्रिया