मत-विमत

मन्डेलाले भने, जवानहरू देश फर्कनुपर्छ

सौर्य अनलाइन २०६८ फागुन १३ गते ११:०० मा प्रकाशित

६ जुन  २००६ सन्मा म साउथ अफ्रिकाको जोहान्सबर्ग सहरमा थिएँ । त्यहाँका प्रायः पत्रपत्रिकाले नेल्सन मन्डेला अस्वस्थ रहेको खबर प्रकाशित गरेका थिए । संयुक्त राष्ट्रसङ्घस्थित राजनीतिक विभागअन्तर्गत पश्चिम अफ्रिकामा पर्ने आइभोरी कोस्टको आन्तरिक विद्रोह र यसको अन्य छिमेकी मुलुकसँगको विविध तादात्म्यका बारेमा अध्ययन गरी महासचिवलाई प्रतिवेदन दिने ‘प्यानल अफ एक्स्पर्ट’को एउटा सदस्यका रूपमा कार्यरत थिएँ । पश्चिम अफ्रिकामा भएको विद्रोह अनि विद्रोहीहरूले डाइमन्ड र कोकाको अवैध व्यापारबाट प्राप्त रकमबाट युद्धका लागि हतियार र साधनस्रोत खरिद गरिरहेको सम्बन्धमा केही व्यापारी र राजनीतिज्ञलाई भेट्नुपर्ने भएकाले म दक्षिण अफ्रिका पुगेको थिएँ । मन्डेलाकी हालकी श्रीमती ग्रेसा मासेललाई म राम्ररी चिन्थँ। १९९५ मा मोजाम्बिकमा काम गर्दा पटकपटक उनीसँग मेरो भेट भएको थियो ।
उनी मोजाम्बिकका पूर्वराष्ट्रपति समारा मासेलकी धर्मपत्नी थिइन् । राष्ट्रपति मासेलको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी ‘पब्लिक लाइफ’ बाट टाढा बसेकी थिइन् । मोजाम्बिकमा त्यसताका उनलाई आदर्श महिलाका रूपमा इज्जत गरिन्थ्यो । ग्रेसा मासेल सामाजिक वैज्ञानिक थिइन् र उनको अध्ययनले तत्कालीन सामाजिक अवस्थालाई सही बाटोमा ल्याएकोबारे उनैको मासेल स्कुल भन्ने एउटा अवधारणा प्रसिद्घ थियो । त्यसै अवधारणाका बारेमा र यसको सामाजिक व्यक्तिलाई परिवर्तनमा पार्नसक्ने प्रभाव सम्बन्धमा कुरा गर्न उनीसँग मेरो धेरैपटक वार्ता भएको थियो ।
त्यस समय उनी जोहान्सबर्ग बस्थिन् । उनी हाल मन्डेला–पत्नी भएकीले मलाई उनीसँग भेट्ने उत्कट इच्छा पलाएको थियो । मन्डेला बिरामी थिए, त्यसैले उनलाई भेट्ने सम्भावना थिएनँ । मैले होटेलबाट उनको सेक्रेटरीलाई सम्पर्क गरेको थिएँ र ग्रेसा म्याडमलाई आफूले भेट्न चाहेको भन्दै आफ्नो विवरण टिपाएर उनको  प्रतिक्रिया जान्न अनुरोध गरेको थिएँ । एक घन्टापछि ग्रेसा म्याडमको फोन आयो । पुराना कुराहरू भए ।
उनले भोलिपल्ट चार बजे चिया खान घरमा आउने निम्ता गरिन् । ‘प्रेसिडेन्ट मन्डेलालाई कस्तो छ नि ? पत्रिकाहरूले उहाँको स्वास्थ्यका बारेमा खबरहरू छापेका छन् ?’ मेरो यस प्रश्नमा उनले ‘सामान्य समस्या’ भएको बताएकी थिइन् । भोलि प्रेसिडेन्टसँग भेटेर शीघ्र स्वास्थ लाभका लागि शुभकामना दिन सकिन्छ कि भनेर सोद्घा ‘भइहाल्छ, उहाँले पनि चियामा सहभागिता जनाउनुहुन्छ होला’ भनेर जवाफ दिइन् । मैले ‘हुन्छ धन्यवाद’ भनेर फोन राखेँ । सात तारिख बिहान ११ बजे मेरो फ्लाइट थियो तर भेटको समय पाएकाले मैले फ्लाइट एकदिन पर सारेको थिएँ ।

मभित्र मन्डेलालाई भेट्ने उत्साह थियो । उनको विशाल व्यक्तित्वको बारेमा म जानकार थिएँ । भोलिपल्ट ठीक समयमा मन्डेला निवास पुगेँ । गेटमा उनका सचिव कुरिरहेका थिए । गाडीबाट ओर्लेर अगाडि बढ्दै गर्दा वाद्यवादन बोकेका, अम्बाको ठूलो रुखमुनि बसेका पाँच–सातजना मान्छेहरू अभिवादन गरेर एक प्रकारको मीठो धुन बजाउन थाले । म केही क्षण शान्त उभिएँ र उनीहरूको धुनलाई सुनँे । सचिवलाई सोधेँ, ‘यो धुन कस्तो हो ?’ ‘यो धुनले ‘वेलकम टु अ जेन्टलम्यान फ्रम टप अफ दि वल्र्ड’ भन्ने शब्दलाई सम्बोधन गरेको छ’, उनको जवाफ थियो ।’ म आश्चर्यचकित भएको थिएँ । उनीहरू बसेको घर साह्रै सामान्य लाग्थ्यो । घरभित्र अफ्रिकी सभ्यता झल्किने आकृति र साजसज्जाको गज्जबको संयोजन थियो ।
केही क्षणमै ग्रेसा म्याडम आउनुभयो । उहाँ केही मलिन देखिनुभएको थियो । ‘तपार्इँलाई भेट्न पाउँदा असीम आनन्द लागिरहेको छ, ग्रेसा म्याडम’, मैले भनेको थिएँ । उहाँ मुस्कुराउनुभयो । उहाँ मेरा दुवै हात न्यानो हत्केलाले समातेर केही समय उभिनुभयो । अनि, शान्तपूर्वक बोल्न थाल्नुभयो । ‘एघार वर्षमा तपाईंमा कुनै ठोस परिवर्तन भएको रहेनछ । मोटाउनु पनि भएको छैन । तपार्इंको विश्वास अझ गहन भएको लाग्यो । केमा विश्वास छ ग्रेसा म्याडम ?’ ‘जीवनमाथिको विश्वास’, उहाँको उत्तर थियो । ‘धन्यवाद’ मैले भनँे । उहाँले राष्ट्रपतिसँग भेटाउने वाचा गर्नुभयो । अनि, हामीले गृहयुद्धपछि मोजाम्बिकले गरेको परिवर्तन र उन्नतिबारे कुरा ग¥यौँ । नेपालको राजनीतिक र आन्तरिक द्वन्द्वका कुरा ग¥यौँ । यत्तिकैमा बाहिर बरन्डामा लठ्ठीको ट्वाकट्वाक आवाज आयो । प्रेसिडेन्ट नेल्सन मन्डेला हामी भएको कोठातर्फ आउँदै हुनुहुन्थ्यो ।
मन्डेला ढोकाभित्र छिर्नुभयो । मैले मेचबाट जुरुक्क उठेर मन्डेलालाई अभिवादन गरेँ । उहाँको कालो अनुहारमा देखिएको गहिरो चमक म अहिले पनि बिर्सन सक्दिनँ । उहाँ म भएतर्फ आउनुभो । मैले फेरि दुई हात जोडेँ ‘तपाईं कस्तो हुनुहुन्छ महोदय’, उहाँले मलाई सोध्नुभयो । पे्रसिडेन्टको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दछु भनेर कुराको सुरुवात गरेँ । उहाँले ग्रेसाले मेरा बारे कुरा गर्नुभएको प्रसङ्ग उठाउनुभयो । हामीले राजनीति र दर्शनका बारे लामो कुरा ग¥यौँ । मन्डेला महात्मा गान्धीबाट धेरै प्रभावित हुनुहुँदोरहेछ । उहाँसँग एक्काइसौँ शताब्दीको राजनीतिमा सत्याग्रह र अहिंसात्मक आन्दोलनका विषयमा कुरा भए । नेपालले भोगिरहेको आन्तरिक द्वन्द्व र त्यसका पहलमाथि कुरा भए । मान्छे परिस्थितिको दास भएको र केही सीमित क्षमतावान् व्यक्तिले मात्र परिस्थितिलाई आफूअनुकूल र मुलुक अनुकूल बनाउन सकेको विषयमा कुरा भए । नेपालको संस्कृति, भाषा, साहित्य र कलाको विषयमा उहाँले बडो चाख दिएर सुन्नुभयो । नेपालको हिमाली श्रृङ्खला
र बिबिसीले देखाएको हिमाली भेगको जनजीवनबारे वृत्तचित्रबाट अझ धेरै प्रभावित भएको कुरा प्रेसिडेन्टले गर्नुभयो ।
त्यसबीच नजिकैको टेबलबाट ग्रेसा म्याडमले चियाको भरिएको कप र बदामका बिस्कुट ल्याउनुभयो । ‘आफ्नो जीवनसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ मैले मन्डेलालाई सोधेँ । उहाँ मुस्कुराउनुभयो । केहीबेर रोकिएर आफू जीवनदेखि केही मात्र सन्तुष्ट रहेको बताउनुभयो । ‘असल मान्छे बन्न मलाई केही टिप्स छ कि प्रेसिडेन्ट ?’ फेरि अर्को प्रश्न । त्यसदिन उहाँले मलाई दिनुभएको जवाफले मेरो जीवनलाई दिशानिर्देश गरेको छ । ‘हामी मान्छेकोे जीवन सानो छ, गर्नुपर्ने काम पनि धेरै छन् । राम्रो मान्छे बन्न असल नागरिक बन्नुपर्छ । असल देशले मात्र असल नागरिक उत्पादन गर्न सक्छ । त्यसैले मुलुकलाई असल बनाउन काम गर्नुपर्छ । जुन माटोमा पहिलो पाइला टेक्नुभएको छ त्यो माटोको समृद्धिका लागि जीवन लगाउनुपर्छ । अफ्रिका र एसियाका कतिपय विकासोन्मुख मुलुकको समस्या भ्रष्टाचार हो । भ्रष्टाचारले खराब शासनलाई मलजल गर्छ । पब्लिक अफिसमा बसेर भ्रष्टाचार गर्नेहरू हिंस्रक अपराधीभन्दा पनि निन्दनीय हुन् । तपार्इं पहिला मुलुकको समृद्धिमा लाग्नुहोस्, तपार्इंको समृद्धि स्वतः हुन्छ । खराब धनले जीवन नर्क बन्छ । खराब धनले व्यक्तित्व क्षयीकरण हुन्छ । तपार्इं सधैँ बाँच्ने वस्तु पनि त होइन । बाँचुन्जेल आफ्नो मातृभूमिको लागि काम गर्नुपर्छ,’ उहाँको यो लामो जवाफ म आज पनि सम्झिरहन्छु । एकान्तमा बसिरहँदा उहाँका यी वाणी मेरो कानमा गुन्जिरहन्छ ।
‘मैले राष्ट्रसङ्घको काम छाडेर मुलुकमा फर्किनुपर्छ महामहिमको सल्लाह के हो ?’ मैले सोधेँ । ‘बिलकुल हो’ मेरो प्रश्नमा मन्डेलाको उत्तर थियो, ‘तपार्इंजस्ता जवानहरू देश फर्किनुपर्छ । आफ्नो  मुलुकका लागि काम गर्नुपर्छ । तपाईं भाग्यशाली हुनुहुन्छ किनकि धेरै गर्न बाँकी छ तपाईंको मुलुकमा ।’ यति बोल्दा उहाँका आँखाहरू चम्किरहेका थिए । मैले मुलुक फर्किने फैसला भित्री मनबाट तत्काल गरिहालेँ । कुराकानी सकिएपछि उहाँहरू दुवैजना मलाई छोड्न बाहिरसम्म आउनुभयो । अनि ती वाद्यवादकले फेरि सुमधुर सङ्गीतको धुन बजाउँन थालेँ । मैले सोधेँ ‘यो संस्कृति कहिलेदेखिको हो ?’, मन्डेला केबल मुस्कुराउनुभयो । उहाँको इसारापछि एकजनाले गीत गुनगुनाउन थाले ।अफ्रिका डो सोल ……
तत्कालै प्रेसिडेन्टले भारतीय सङ्गीत र फिल्महरूको प्रसङ्ग निकाल्नुभयो । नेपालको सङ्गीत र कलाकारको अवस्था कस्तो छ भनेर सोध्नुभयो । हामीहरू बाहिर लेनमा उभिइरहेका थियौँ । ‘नेपाली संस्कृति र कला धनी छ’ भनेर मैले जवाफ दिएँ । ‘ल एउटा नेपाली गीत सुनाउनुप¥यो’ भनेर ग्रेसा म्याडमले बीचमै अनुरोध गर्नुभयो । मैले नारायण गोपालले गाएको ‘कस्तुरी हे बास आउँछ भन्छन्’, बोलको गीत दुई स्ट्यान्जा गाएँ । वाद्यवादकहरूको सुमधुर धूनले मेरो स्वरलाई छोप्ने प्रयास ग¥यो । प्रेसिडेन्ट मन्डेलाको अनुहारमा एक प्रकारको चमक देखियो । उहाँको अनुहारले बताउँथ्यो, मन्डेला निकै खुसी देखिनुहुन्थ्यो । ग्रेसा म्याडमले ‘लुक आई एम फिलिङ मच बेटर’ भनेर मेरो हात समाउनुभयो । त्यसबेला म निकै भावुक भएको थिएँ ।
प्रसिडेन्टले भन्नुभयो, ‘सङ्गीत अन्तर्राष्ट्रिय भाषा हो । यसलाई हरेक मान्छेको मनले बुझ्छ र आत्मसात् गर्छ । सङ्गीतबिना जीवन निरस हुन्छ ।’
म हिँड्न खोज्दा मन्डेलाले मेरो हात समाउनुभयो अनि मुस्कुराउँदै भन्नुभयो, ‘तपार्इंको हातबाट मभित्र इनर्जी ट्रान्स्फर्म भइरहेको छ ।’ अहो ! म उहाँको विनम्रता र साधारण जीवनशैली अनि एउटा अपरिचित मान्छेलाई पनि तुरुन्तै आफ्नो बनाउन सक्ने क्षमताबाट निकै प्रभावित भएँ । त्यो भेट मेरो जीवनका अनगिन्ती भेटमध्येका एउटा महत्वपूर्ण भेट थियो । मेरो गाडी आँखाबाट ओझेल नहुँदासम्म ग्रेसा म्याडमले हात हल्लाइरहनुभएको थियो ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय