मत-विमत

वृद्ध वेश्या तपस्विनी

सौर्य अनलाइन २०६८ फागुन ८ गते ७:२७ मा प्रकाशित

एसियाली देशमा राजनीति गर्ने व्यक्ति पश्चिमा राष्ट्रका राजनीति गर्ने व्यक्तिसरह पूजित छैनन् । त्यसो हुनामा स्वयं राजनीतिका अगुवा नै जिम्मेवार छन् । जुन रूपमा राजनीति गर्नेहरूलाई पश्चिमा देशमा मर्यादा प्राप्त छ, पूर्वीय देशमा छैन । त्यसमा पनि हाम्रो जस्तो पिछडिएको देशको कथा, व्यथा अरूभन्दा आनका तान फरक छन् । हाम्रै छिमेकी देश भारतमा राजनीतिलाई यति बिघ्न तुहिएका रूपमा गनिँदैन । महात्मा गान्धी, डा. राजेन्द्रप्रसाद, सरदार बल्लभभाइ पटेल, पण्डित नेहरूहरूले बसाएको परम्परालाई उति साह्रो तोडिएको देखिँदैन । कास्मिरको समस्या बल्झ्यो भने त्यहाँ सम्पूर्ण राजनीतिक दल र भारतीय पेसाकर्मीमा एउटै आवाज निस्कन्छ, तर हाम्रो महाकालीको सवाल होस् वा कोसी, गण्डक सम्झौतादेखि पश्चिम सेती हुँदै बिप्पा, नागरिकता वितरण र पछिल्लो समयमा हुने तयारीमा रहेको सुपुर्दगी सन्धिसम्मका विषयमा मतैक्य छैन । राष्ट्रिय स्वार्थका सवालमा समेत मतैक्य नहुनाको अर्थ सबैले खासगरी नेपाली बुद्धिजीवीले बुझेकै छन्, किन हाम्रा मत बाझिन्छन् ? हामीबीच खेल्ने शक्तिहरू यति धेरै भइसके कि अब त नेपालको राजनीतिमा अर्थपूर्ण प्रभाव जमाउन सफल शक्तिको मानिस भनेर मात्र पनि उसको राम्रो पहिचान खुल्दैन, यो पक्ष र यो ढोकासँग समीप राख्ने भन्नुपर्ने अवस्था आएको छ ।
हिजोेका दिनमा नारायणहिटी बलवान् छँदाका बखत राजनीति गर्नेका यसैगरी मानिस हिसाबकिताब गर्थे । दरबार त दरबारकै, थर कुन ढोका निकटको हो, त्यसको असली पहिचान गरेपछि मात्र आफ्नो औचित्य पुष्टि गर्ने गरी बिन्ती भाउ टक्र्याउँथे, अहिले त्यो स्थान अर्कैले लिइसक्यो । त्यसैले मानिसहरू यसरी स्थापित र विस्थापित हुने क्रम जारी छ कि उसको हैसियत खुट्याउन नेपालीलाई हम्मेहम्मे पर्छ । यहाँ कुन बेला को नरम र लचकदार कुर्सीमा बस्छ, को ओर्लन्छ यथास्थितिको राजनीतिमा भन्न सकिन्न । त्यसैले त नेपालको राजनीतिलाई तरल छ भनेर व्याख्या गरिन्छ ।
कुनबेला के हुन्छ भन्नै नसक्ने अवस्था बन्नु भनेको तरल राजनीतिक अवस्था नै हो । अनि यही व्यवस्था वा अवस्था जे भनौं तिनका माझमा हाम्रा राजनीतिक दल छन् । तिनका नेता पनि छन् ।
नेपालको राजनीतिक धरातलको यथास्थितिमा तीन विचारको दरिलो उपस्थिति हुनसक्ने वर्तमान र भविष्यको कटु सत्य पक्ष हो भन्ने मेरो निचोड छ । देशको बलवान् शक्तिका रूपमा कम्युनिस्टहरू उठेका छन् । यो शक्तिलाई अलग्याएर अबका दिनमा राजनीति गर्छु भन्ने कसैले ठानेको छ भने त्यो मूर्खता सिवाय केही हुनेछैन । नेपाल कम्युनिस्टहरूका लागि उर्वरभूमि बन्दैछ । गरिब झन्झन् बढ्दै छन् । कम्युनिस्टहरू त्यही गरिबीलाई कमजोरीका रूपमा लिएर जनतालाई आकर्षित गर्न सफल छन् । जति गरिब बढ्छन्, कम्युनिस्ट त्यति बढ्छन् । हाम्रो यहाँ त्यही भएको छ र यो क्रम रोकिनेवाला छैन । नागरिकमा गरिबका पक्षमा बोल्ने र गर्ने पार्टी कम्युनिस्ट मात्र हुन्, अरु सबै सामन्त भन्ने भ्रम छर्न उनीहरू सफल छन् भने त्यसलाई चिर्न प्रतिपक्षीहरू असफल छन् । त्यसैले वामपन्थी शक्ति नेपालको पहिलो शक्ति हो र बलवान् पनि छँदै छ । यसले नेपालको राजनीतिमा शीर्षस्थान ग्रहण गरेको छ । यो पहिलो र बलवान् शक्तिका रूपमा रहेको एउटा विचार बोकेको पक्ष हो जसलाई सबैले स्विकारेकै छन् । भलै अहिले कम्युनिस्टहरूको माउ पार्टीका रूपमा एमाओवादी छ, त्यो स्थान उसले उत्कृष्ट राख्छ वा नेकपा (एमाले)ले हुत्याउँछ भन्न सकिन्न । त्यो कम्युनिस्टभित्रको लडाइँ आफ्नै ठाउँमा छ, भोलिका दिनमा प्रस्टिएला । दोस्रो विचार बोकेर हिँडेको नेपाली कांग्रेसले प्रजातन्त्रका पक्षपातीको अगुवाइ गरेको छ । स्विकारे पनि नस्विकारे पनि प्रजातान्त्रिक दलका रूपमा नेपाली कांग्रेस विगतदेखि नै स्थापित छ । कांग्रेसको स्थान अरुले ग्रहण गर्ने सम्भावना पनि देखिएको छैन । हिजोभन्दा कांग्रेस धेरै कमजोर भयो, नेता तथा कार्यकर्ता, क्षेत्रीय र जातीय पार्टीमा पलायन भए । कांग्रेसको चुनावी आधार क्षेत्रमा जातीय र क्षेत्रीय नारा दिनेहरूले कब्जा जमाइसके । त्यसका बाबजुद कांग्रेस  प्रजातान्त्रिक शक्तिको अगुवा पार्टी मानिन्छ, जसको वर्तमान संसद्मा कुनै न कुनै रूपमा औचित्यपूर्ण राजनीतिक उपस्थिति   रहेको छ । यसले प्रजातान्त्रिक विचारको स्थान ओगटेर बसेको छ । भलै यसले प्रजातन्त्रको संरक्षण गर्न भूमिका खेल्न सक्थ्यो, सकेन । यसले प्रजातन्त्रको पक्षपोषणमा कस्तो भूमिका निर्वाह ग¥यो भन्नेमा आ–आफ्ना टिप्पणी सबैका छन् । यही विचारको पक्षका हौँ भनेर पशुपति राणादेखि सूर्यबहादुर थापाहरू बर्बराएकै छन् । यिनका कुरालाई कसैले पत्याएका छैनन् । नेपालमा क्षेत्रीय र जातीय नारा दिएर मधेसवादी दल तथा केही जनजातिहरू पनि स्थापित छन् । यिनको उपस्थिति भने गौरवपूर्ण रूपमा कतै छैन । राष्ट्रियस्तरमा यिनको प्रभाव मधेसवादीबाहेक अरुका देख्न उत्ति साह्रो पाइएको छैन । हुन त जातिगत विषयले मा¥यो भनेर सबै भन्न थालेका छन्, तर जातिवादीको चुनावी भोट उत्ति साह्रो हुने सङ्केत यसकारण छैन जातिवादीहरू सबै दलमा मात्र आबद्ध छन्, जो दलभन्दा बाहिर छन् तिनका खासै राष्ट्रिय रूपमा मतका हिसाबले धनी मान्नुपर्ने अवस्था यथास्थितिमा छैन । मधेसका नाराले मधेसीहरूलाई प्रभाव पारेका कारण आज जुन गाइजात्रा मधेसीले देखाइरहेछन् भोलिका दिनमा मधेसवादी दलको यही ढङ्गको गौरवपूर्ण उपस्थिति संसद्मा रहिरहला भन्ने मलाई लाग्दैन । त्यसैले मधेसवादी र जातजातिहरूलाई शक्तिका रूपमा राष्ट्रियस्तरमा मानिरहनुपर्ला जस्तो छैन । राजसंस्थाको बहिर्गमन र सो स्थान अर्को नेपालको कुनै शक्तिले ग्रहण गर्न नसक्ताको परिणामका उपजहरू मात्र जातीय र क्षेत्रीय शक्तिहरूको उदय हो ।
मुलुकमा तेस्रो विचार पनि बलवान् छ, तर त्यो विचारको अगुवाइ गर्ने नेता र दलको खडेरी परेको छ । नेपालको राजनीतिमा बाह्य प्रभाव पछिल्लो राजनीतिक परिवर्तनसँगै जति बलवान् भएको छ, त्यसैगरी राष्ट्रियता र राष्ट्रवादको पक्ष बलियो हुँदैछ । त्यो पक्षले नेता नीति र दल पाउन सकेको छैन । राष्ट्रवादको पक्ष बलियो छ भन्ने कुरा त राष्ट्रियताको नारा दिल्ली सम्झौताका पक्षपातीहरू प्नि लगाउँछन् । गत साता सूर्यबहादुर थापाले राष्ट्रवादको वकालत गरे । एमाओवादीले जनवाद र राष्ट्रवादलाई सँगै लिएर हिँड्नुपर्ने वकालत गर्दै आएको छ । दिल्ली सम्झौता गर्दा यी वादहरू कता थिए, आज बिप्पा सम्झौता, नागरिकता वितरण लगायतका कर्ममा एमाओवादीकै अगुवाइ देखिएपछि त झन् उसको चरित्र उदाङ्गो भएको छ । एमाओवादी दोहोरो मापदण्ड अपनाउँदैछ । एमाले राष्ट्रवादकै विषयले फुट्यो र जोडियो । नेपाली कांग्रेसमा पनि बिपीले उल्लेख गरेको समाजवादमा राष्ट्रियता र राष्ट्रवादको कुरा प्रबल रूपमा उठाइएको छ । बिपीका अनुयायीहरू गिरिजाका अनुयायीभन्दा अझ पनि नेपाली कांग्रेसमा कम होलान् भन्ने लाग्दैन । मधेसवादीहरूले भने राष्ट्रवादको कुरा गरेको सुनिएको छैन । उनीहरू मधेसवाद, हिन्दी भाषा र अलग प्रदेशको कुरा गर्छन् । यी बाहेक भोट बटुल्न सबै राष्ट्रवादकै कुरा गर्दैछन् । यसले राष्ट्रवादी पक्षको भोट धेरै भए पनि नेतृत्व छैन । यसर्थ द्विविधा छैन कि राष्ट्रवादको खालमा बस्न स्वभाव, व्यवहार, चरित्र र कर्म कुनै दृष्टिमा पनि कम्युनिस्ट, कांग्रेसहरू तयार छैनन् । सूर्यबहादुर थापा एन्ड कम्पनीहरूले राष्ट्रवादको नारा फलाके पनि राजेश्वर देवकोटाको  शब्द सापट लिएर भन्नुपर्दा  ‘वेश्या वृद्ध तपस्विनी’ । मलाई देवकोटाका यी वाणीले भने ठ्याक्कै समात्यो । अर्थात् राष्ट्रवादको तेस्रो राजनीतिक विचारको खाल अद्यावधि खाली छ । त्यो स्थान कसले पूरा गर्ला, मेरो ध्येय त्यति मात्रै हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय