मत-विमत

‘जनयुद्ध’को लहरे खोकी

सौर्य अनलाइन २०६८ फागुन ८ गते ७:३२ मा प्रकाशित

संसदीय व्यवस्थालाई पल्टा खुवाइदिने र नेपालमा ‘नयाँ जनवादी क्रान्ति’ सम्पन्न गर्ने उद्देश्यसाथ सञ्चालित एमाओवादी सशस्त्र ‘जनयुद्ध’को गतसाता टुँडिखेलमा ‘मैझारुसभा’ सम्पन्न भयो । सत्र वर्षअघि युद्ध सुरु गरेकै दिन १ फागुनलाई ‘जनयुद्ध दिवस’ रूपमा एमाओवादीले उल्लासित गर्न खोजेको थियो । तर, युद्धले प्राप्त गर्न खोजेका परिकल्पनाहरू र मुख्य प्रस्थापनाहरूलाई विसर्जन गरिसकेर शान्ति प्रक्रिया र ‘जनविद्रोह’को दुई डुङ्गामा पाइला राखेका एएमाओवादी अध्यक्ष पुष्पकमल दाहालको गर्जन ‘जनयुद्ध’को लहरे खोकीका रूपमा मात्र प्रकट भयो ।
सभाहरूका आकार बढाउन र वर्गीय मुक्ति र जातीय स्वायत्त राज्यका मायावी सपना देखाएर सङ्गठित गरिएको जनसमर्थन जोगाउन भाषणहरूमा ‘जनविद्रोह, क्रान्ति, प्रतिक्रियावाद, साम्राज्यवाद र विस्तारवाद जस्ता शब्दहरू प्रयोग गर्नैपर्ने बाध्यतामा दाहाल छन्, त्यसैको योग थियो दाहालको त्यस दिनको भाषण । उनले जनविद्रोहको राजनीतिक कार्यदिशालाई एमाओवादीले नछोडेको र ‘जनता’ बाहेक कुनै अदालतको फैसला स्विकार नगर्ने घोषणा गरे । दाहालले भाषण नसक्दै एमाओवादी विद्यार्थी राजनीतिको केन्द्रीय भूमिकामै रहेका एक पूर्व छापामार भन्दै थिए, ‘लाजिम्पाटको नयाँ नारायणहिटीमा बसेर सिंहदरबार र शीतलनिवासको निसाना साँधेको जनविद्रोहसँग जनताको कुनै साइनो छैन ।’ अस्थायी शिविरबाट भर्खरै चेक खोसिएका सीमान्तीकृत लडाकुहरूको जीवनमूल्य र लाजिम्पाट नेतृत्वको जनविद्रोहको विरोधाभास खोतल्दै थिए उनी । एमाओवादीको जार्गन, गर्जन र आश्वासन नै रहस्यमय ग्ल्यामरमा परिणत हुँदै गएको विगतले हो कि ‘जनयुद्ध’ दिवसको सभा शिथिल, थकित र विश्वास टुटेको किरिया (कसम)मा रूपान्तरित भएको देखिन्थ्यो । एमाओवादीको नाम मात्रैमा खचाखच हुने टुँडिखेलभित्र सभाबीच चलेको फेन्सी ब्यापारले त्यस्तै देखाएको थियो । पार्टीभित्रैका विद्रोही नेता नेत्रविक्रम चन्दले लेखेको ‘एमाओवादी बिग्रेको छैन, एमाओवादी भत्केको छैन’ बोलको गीत बजेको केहीबेरमै उपाध्यक्ष मोहन वैद्यले भने, ‘एमाओवादी केही बिग्रेकै हो, भत्केकै हो ।’ जव भत्कन्छ र बिग्रन्छ, त्यसबेला राजनीतिको फसल कुरेर बस्नेले भन्नैपर्छ, ‘केही बिग्रेको छैन ।’ यसमानेमा वैद्यलाई इमान्दार र सत्यवादी तर, राजनीतिक बाली भित्र्याउन असफल नेता भन्नैपर्छ, भलै उनको परिकल्पनाको ‘जनविद्रोह’ले धतुरोकै फूूल फुलाओस् ।
एकतामा पदीय आँखा
पार्टीको आन्तरिक एकतासम्बन्धी प्रस्ताव स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिसम्मले लगातार पारित गरेपछि आमसञ्चारमा एमाले भित्रको दन्तबझान मत्थर देखिएको छ तर, आन्तरिक एकता साँच्चै विचार र सिद्धान्तको तहमै हो कि जल्न लागेको घरको खरानी आफ्नो भागमा बढी पार्ने मनोविज्ञानको हातेमालो भन्ने कुरा बुझिने गरी आउन सकेको छैन । पार्टीभित्र झगडा चर्केपछि एउटा हिस्सालाई एमाओवादीले र अर्कालाई काङ्ग्रेसले आफ्नो पक्षमा उपयोग गर्ने र त्यस्तो बेला सरकारकै नेतृत्व गर्दा पनि पार्टी कमजोर हुने निष्कर्षमा दुवै पक्ष पुगेपछि आन्तरिक एकताको शृङ्खला सुरु भएको थियो ।
एकताको सन्देश सम्प्रेषण गर्न एमालेका दुवै पक्षका नेताहरूले एमाओवादीको रूपान्तरणसम्बन्धी प्रश्नमा आफूहरू एक ठाउँमा आएको बताउँदै आएका छन् । तर, अर्काे महाधिवेशनपछिको सन्तुलनको चित्र उनीहरूको मथिङ्गलमा घुमिरहेको देखिएको छ । प्रधानमन्त्री रहुन्जेल एमाओवादीलाई अलि विश्वास गरेका अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम रूपान्तरणका लागि एमाओवादीलाई फकाउने मात्रै होइन दवाब दिनुपर्ने निष्कर्षमा पुगेका छन् । उनको बोली केपी ओलीसँग मिल्दोजुल्दो मात्रै छैन, कहिलेकाहीँ त एक पाइला अघि बढेरै एमाओवादीको आलोचना खनालले गर्ने गरेका छन् । राजनीतिक दृष्टिकोणको यो विषयमा आम सहमति रहेको कुुरा केन्द्रीय समितिले पारित गरेको प्रस्तावबाट बुझ्न सकिन्छ । तर, एकताको गुदी पक्ष शक्तिको बाँडफाँडमै हो भन्ने कुरा पनि भर्खरै सकिएको केन्द्रीय समितिको बैठकमा देखिएको छ । अध्यक्षमा खनालसँग पराजित ओलीलाई तेस्रो वरियता दिने स्थायी समितिको प्रस्तावमा छलफल भइरहेका वेला अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्य तथा वेदुराम भुसालले वरीयताक्रम निर्धारणको विधि निर्धारणै नगरी ओलीलाई तेस्रो वरियता दिएको कुरा उठाए । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट मानिएका यी नेताहरूको बोली  एमाले एकताको क्वालिटीसँग गाँसिएको छ । भन्नलाई जेसुकै भनिए पनि आखिर ‘आँखा केमा गाडिए’का छन् भन्ने देखाउँछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय