मत-विमत

अभिशप्त जातीय अहङ्कार

सौर्य अनलाइन २०६८ फागुन १० गते ३:२५ मा प्रकाशित

आजको बौद्धिक जमात र पार्टी नेतृत्व पंक्तिमा जातीय सवालबारे विशेष छलफल भइरहेको छ । यसो हुनु उचित हो । तर, तथ्यसङ्गत छलफल र निष्कर्षले मात्र हामीलाई लक्ष्यमा पु¥याउँछ । समयको मागलाई गम्भीर भएर बुझ्ने प्रयत्न हामीबाट भएको छैन । जातीय सवालमा मात्र अनर्गल छलफल गर्दै निष्कर्ष विहीन हुने अवस्था बनाइएको छ । जातीय सवाल सिधै सङ्घीय गणतान्त्रिक लोकतन्त्रमा ठोकिने विषय हो । जातजातिको विषयलाई स्पष्ट ढङ्गले नबुझ्दा नै स्थानीय जातीय अहङ्कार र उच्च जातीय अहङ्कारको मनोरोगले हामीलाई ग्रस्त गर्दै लगेको भान हुन्छ । यो दुखद पक्ष हो ।
नेपाली समाज वास्तवमा भावनात्मक रूपमा एकाकार  छ । यो समाजको बनोटमा सांस्कृतिक तथा भाषा पक्षमा विविधता छ । यहाँको बसोबास पनि विविध हावापानीमा आधारित छ । ठन्डा हिमाली भेगदेखि पहाडी हुँदै अति गर्मी समथर भूमिमा नेपालीहरूको बसोबास छ । नेपालीहरूको यथार्थ जीवन विविधताले भरिएको छ । यस्तो विविधताको विषयमा अर्थहीन टिकाटिप्पणी र निष्कर्ष बोकेर हिँड्नु उचित होइन । आज उच्च तहबाटै नेपाली समाजलाई धुमिल बनाउने कसरत भइरहेको देखिन्छ । यो विषय इतिहासले पनि क्षमा दिन नसक्ने गम्भीर विषय हो ।
कुल वा वंशको आधारमा नेपाली जनता तीन प्रकारका छन् । ती तीन प्रकारका मानव जातिलाई विभिन्न थप सहजातिमा विभक्त गरी आदिबासी जनजातिमा ५९ प्रकारका, अन्य जाति समाजबाट पैदा भएका तीन प्रकारका र काकेसीयन वंशका अरू थप गरी १ सय ३ प्रकारका जातिहरू भने चर्चामा रहेका छन् । सङ्ख्यामा जे जति भए पनि जातीय वंश तीन प्रकारका मानव जातिले बनेको छ तापनि यो समाज हार्मोनियमको रिटजस्तै मिलेर बसेको सभ्य समाज हो । यो सभ्य समाजलाई कुनै व्यक्ति विशेष र शक्तिले बिथोल्न सक्ने छैन । किनभने एकआपसमा भावनात्मक रूपमा एकाकार भएर बसोबास गरिरहेका मानवजातिहरू कलह उत्पन्न गरी आफै नाश हुने कार्यमा कदापि संलग्न हुँदैनन् । कलह उत्पन्न गराउने काम विगतका जनविरोधी राज्यसत्ताबाट गरिँदासमेत कुनै पनि असामाजिक, अमानवीय र भौतिक आधारमै समाज बिथोलिने काम भएकै छैन । जात खोसिदा वा ठूलो जात बनाइँदा समेत यो समाजमा कुनै अप्रिय घटना घटेन । द्रष्टव्यको लागि तामाङहरूलाई घटिया कामको लागि मात्र राज्य शक्तिले पिपा बनायो । ती आदिबासी जातिले सहेर बसे । त्यस्तै रसुवा धैबुङ गाउँका उपाध्याय बाहुनहरूलाई जैसी बनाइयो । ती बाहुनहरूले विद्रोह गरेनन् । भन्नुको अर्थ नेपाली जनता बडो सहनशील छन् । जातीय झगडा गर्दैनन् । बरु हामी अगुवा भनाउँदा मात्रै जातीय झगडाका कुरा, समाज बिथोल्ने कुरा गरी हिँडिरहेका छाँै । के हाम्रो विवेक भ्रष्ट भएकै हो त ? हाम्रो ज्ञानमा बिर्को लागेकै हो त ? जातीय सवालमा यी दुई गम्भीर प्रश्न हुन् । यिनको उत्तर चाँडोभन्दा चाँडो समयले माग गरिरहेको छ ।
नेपाली समाजको वर्तमान जातीय सवाललाई सही उत्तर दिन सक्षम नेतृत्वको खाँचो परेको त छैन ? नेतृत्वलाई सहयोग गर्न कतै कमी त भएको छैन ? जातीय सवालमा निर्णय गर्ने सही समय यही हो । यो समयलाई सबैले उचित ढङ्गले बुझ्न जरुरी छ । जात, जाति, लिङ्ग र क्षेत्रीय समस्याहरूलाई उचित ढङ्गले सम्बोधन गरिएन भने राष्ट्रमा खलबली मच्चिने देखिन्छ । सबैलाई समय अनुकूल, सुहाउँदो र बुझ्दो अधिकार र कर्तव्यको परिभाषाभित्र ल्याउँदा राष्ट्रियतामा कमजोरी आउँदैन । नेपाली नागरिक जातीय आधारमा झगडालु छैनन् । मूल रूपमा नेपाली जनता वर्गीय यथार्थ धरातलीय सुझबुझमा रहेका छन् । जातिगत कुरो त भाषा, संस्कृति र धर्म मात्र हो । यतिले मात्र एउटा सिङ्गो जीवन र समाज समृद्ध र शान्त भएर बाँच्न सक्दैन । त्यसकारण जातिगत रूपमा समस्यालाई सम्बोधन गर्दा वर्गीय धरातललाई राम्ररी स्पर्श गरिएको हुनुपर्छ । अनिमात्र संघीयताको वास्तविक मर्मको सम्बोधन भएको देख्न सकिन्छ ।
अन्तर्जातीय विभेद ः विभिन्न नश्लहरूको आन्तरिक र बाह्य विभेदहरू रहेका हुन्छन् । यसलाई मिहिन ढङ्गले चिरफार गर्न आवश्यक छ । ज्ञानको कमी र जातीय अहङ्कारले काम गरिरहेको हुन्छ । यस विषय माथि छिनोफानो गर्न ऐतिहासिक, सांस्कृतिक तथा नश्लीय ज्ञानको भरपुर आवश्यकता छ । सही भावनाले मात्र जातिको ज्ञानको आधारमा विभेदलाई समतुल्य बनाउन सकिन्छ । भाषा संस्कृतिलाई मानवीय ठूलो खाडलका रूपमा देख्न हुँदैन । भाषा, संस्कृति, धर्म र गरी खाने विषयवस्तु माथि राज्यले पूर्ण रूपमा आत्मनिर्णयको अधिकार क्षेत्रभित्र राखिदिनु पर्दछ । जातीय पहिचान र आत्मनिर्णयको अधिकार भन्नासाथ तर्सिनु पर्ने अवस्था देखिँदैन ।
जात विभेद ः एउटै नश्लभित्र पनि सानो ठूलो भएको भन्ने मानसिकताले विभेद सिर्जना गरेको देखिन्छ । दलित जात र उच्च जात भनिनु मानवजन्य पछौटे मानसिक रोग हो । अझ यस विषयमाथि चियोचर्चाे गर्ने हो भने दलित भित्रै पनि उचनिच जातको मनोरोग प्रस्ट देखिन्छ । यस्तो मनोरोगलाई स्वामि विवेकानन्द यसरी परिभाषित गर्दछन्– “जातपात भनेको अविकसित दिमागको तालिम दिने शिक्षालय हो ।” शिक्षालयलाई मानवीय उज्यालो पक्षले आलोकित गर्न अब हाम्रो शिक्षा नीतिमा आमूल परिवर्तनको जरुरी देखिन्छ । तब मात्र जातपात छुवाछूत के हो भन्ने कुरा आम नेपाली पुस्ताले बुझ्न सक्नेछन् । जब सामाजिक परिवर्तनको जग मजबुत हुनेछ तब मात्र यस्ता कुप्रथा सधैँको निमित्त अन्त्य हुनेछ । तल्लो जात भनिएकालाई सांस्कृतिक समान अधिकार दिँदा हाम्रो समाज बिथोलिने छैन, बरु मजबुद हुनेछ । यस्तो सामाजिक समस्यालाई सङ्घीयताको घेराभित्र राखेर सम्बोधन गर्न सकिन्न । किनभने यो समस्या सङ्घ विभाजनको आधारमा निको हुने रोग नै होइन ।
जातीय समस्या समाधानको उपायमा नेपाली कांग्रेस र एमाले नेतृत्व अलमलिएको देखिन्छ । खबरमा हरेक दिन कहीँ न कहीँ यस विषयको समाचारले स्थान ओगटेको देखिन्छ । यो दुखद पक्ष हो । यो पक्षलाई सही सलामत समाधान दिनको निमित्त दुई उपाय छन् । उच्च जातीय अहङ्कार र स्थानीय जातीय अहङ्कारलाई समूल नष्ट गरिनु पर्दछ । यो अहङ्कार आज राजनीतिक क्षेत्रमा देखापरेका नेतृत्वदायी सवल नेतृत्वको दिलदिमागबाट नष्ट भएको अवस्थामा मात्रै जातीय सवालको सम्बोधन हुन्छ र नेपाल सहज ढङ्गले अगाडि बढ्न सक्दछ । आज नेपालमा राजनीतिक रूपमा जुन तगरा तेर्सिएका छन्, यसको वास्तविकता हो जातीय अहङ्कार । यसै कारण संविधान निर्माण कार्यमा समेत अवरोध उत्पन्न भएको छ ।
नेपालमा दुई खाले जातीय अहङ्कारले जरो गाडेको देखिन्छ । उच्च जातीय अहङ्कार र स्थानीय जातीय अहङ्कार । यी दुई खाले जातीय अहङ्कारलाई समूल नष्ट नगरे नेपाली समाज रोगी भएर बाँच्ने छ । युगानुकूल उन्नति र समृद्धिका कुरा नेपाल र नेपालीले भोग गर्न पाउने छैनन् । यो समाजका सबै क्षेत्रका अगुवाहरूले यस विषयमाथि अब गम्भीर हुन आवश्यक भइसकेको छ । तब मात्र अघि बढ्ने उज्यालो ढोका स्वतः खुल्नेछ ।
(लेखक एमाओवादीका केन्द्रीय सल्लाहकार हुन् ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय