मत-विमत

दस मिनेट तीन घन्टा हुँदा …

सौर्य अनलाइन २०६८ फागुन १२ गते २:५९ मा प्रकाशित

माघ महिनाको अन्तिम साता स्वास्थ्य क्षेत्रमा केमिकल तथा मेडिकल उपकरण आपूर्ति गर्ने सङ्घसंस्थाको सङ्गठन केमिकल तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान)को सातौँ वार्षिक साधारणसभाको कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो । मन्त्री महतोले ‘कार्यक्रममा बस्न समय छैन १० मिनेटभन्दा बढी बस्दिन’ भनेकाले आयोजकले कार्यक्रमलाई छिटो र छोटो बनाउने प्रयास गरिरहेका थिए ।
कुपन्डोलको होटल हिमालयमा भएको कार्यक्रममा केही स्वास्थ्य पत्रकार, अस्पतालका चिकित्सक र केमसानका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । कार्यक्रमको हलमा प्रवेश नगर्दै मन्त्री महतो ‘मलाई अर्को स्थानमा जानुपर्नेछ, कार्यक्रम छोटो बनाउनुहोला है’ भन्दै हलभित्र प्रवेश गरेका थिए । केमसानले पनि मन्त्रीको इच्छा अनुसार नै कार्यक्रमलाई हतारमा सञ्चालन गर्यो,  तर जब कार्यक्रममा नेपालमा मेडिकल सामग्री तथा केमिकलको वार्षिक कारोबार १० अर्ब  रुपियाँभन्दा बढी छ भन्ने कुरा आयो, मन्त्री महतोको  समय बढ्दै गयो । हतार भएका मन्त्री महतो कार्यक्रममा  तीन घन्टाभन्दा बढी बसे ।
केमसानका अध्यक्ष धीरज थपलियाले नेपालमा मेडिकल सामग्रीको कारोबार १० अर्ब रुपियाँभन्दा बढी रहेको र स्वास्थ्यका उपकरणमा लगाइएको मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको भन्दै यसलाई व्यावहारिक बनाउन मन्त्रीसमक्ष माग गरे । अध्यक्ष थपलियाका माग र कारोबारको विषयमा जवाफ दिँदै मन्त्री महतोले भने ‘ए, मेडिकल उपकरण तथा सामग्रीको कारोबार त ठूलै रहेछ, यति धेरै  होला भन्ने त मलाई लागेकै थिएन त ।’ मन्त्री महतोको कुरा सुनेर हलमा भएका सबै हाँसे । उनले पनि सबैको हाँसोमा हाँसो थप्दै यति धेरै कारोबार भएको यो व्यवसायमा किन चासो नदिएको त भन्दै छेवैमा रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवद्र्धन प्रधानलाई केमसानको विषयमा सबै बुझेर आफूलाई बताउन भनिहाले ।
मन्त्री महतोले पनि कारोबार  रकमलाई बारम्बार जोड दिँदै भाषण गरेपछि हलमा बसेर कुरा सुनिरहेका मानिस भने ‘ठूलो कारोबार भएकाले होला मन्त्रीको पनि राम्रैसँग ध्यान खिंचेछ’ भन्दै कुरा गरिरहेका थिए । पत्रकारको कुर्सीमा बसेका म लगायत केही साथी पनि मन्त्रीको भाषणमाथि गफ गर्न बाध्य भयौँ ।


छोटो समय भएका मन्त्रीले झन्डै सात मिनेट जति  भाषण नै गरे ।  उनको भाषणमा अधिकांश समय आर्थिक कुरा नै बढी आए । भाषण सकिएपछि ‘अब मन्त्री निस्कन्छन्’ भन्ने अड्कल काटेका मानिस मन्त्री पुनः कुर्सीमा गएर बसेपछि  फेरि हाँसे ।  पुनः कार्यक्रम सञ्चालन भयो । सञ्चालकले मन्त्रीको भाषण सकिएलगत्तै एकदुई मानिसलाई भाषण गराई कार्यक्रम सके र ककटेल पार्र्टीको सुरुआत गरे । कार्यक्रम सकिएपछि ‘मन्त्री अबचाहिँ निस्कने भए’ भनेर आयोजकहरु मन्त्रीको पछाडि लाग्दै भ¥याङ छेउसम्म पनि पुगे तर मन्त्री सरासर ककटेल पार्र्टी भएको अर्को कक्षमा प्रवेश गरेपछि आयोजक लगायत हामी सञ्चारकर्मी  छक्क पुराऔं । उनले ककटेल पार्र्टीमा  तातोपानी मगाएर खाएपछि कार्यक्रम हलका केही साथीले ‘सायद मन्त्रीलाई भोक लागेछ क्यार खाएर मात्र जान खोजेछन्’ भन्ने ठानेर उनलाई खाना खान भने तर खाएनन् ।
पानी मात्र खाएर झन्डै तीन घन्टा बिताएका मन्त्रीले लामो समयसम्म मेडिकल सामग्री नेपालमा कसरी आउँछ, कस्ता सामग्री आउँछन्, खास कारोबार कस्तो हो भनेर केमिकल तथा मेडिकल सामग्री आयात गर्ने भनेर व्यापारीसित जिज्ञासा लिए । मानिसहरु ‘मन्त्रीको समय त लामै रहेछ नि’ भनेर अनेकथरी कुरा  गरिरहेका थिए । हामीले मन्त्रीको घडी बन्द भएको त होइन भनेर ठट्टा गर्न भ्यायौँ । त्यो दस अर्ब,  दस मिनेट र तीन  घन्टाको अर्थ बुझ्न  भने हामीलाई साह्रै गाह्रो भयो ।

प्रतिक्रिया