मत-विमत

बर्डफ्लु महामारीः सरकारी लाचारी

सौर्य अनलाइन २०६८ फागुन १२ गते ३:१२ मा प्रकाशित

बर्डफ्लु रोग एक किसिमको भाइरसबाट पशुपक्षी तथा मानिसमा सर्ने घातक रोग हो । यो रोग महामारीका रूपमा फैलिए ठूलो जनधनको क्षति हुन्छ । विश्वमा पटक–पटक देखिए पनि यो रोगले नेपालमा हालसम्म महामारीको रूप लिएको छैन । यदि त्यस्तो रूप लिए कुल जनसङ्ख्याको २० देखि ३० प्रतिशतसम्म मानिस बिरामी हुनसक्ने र हालको मृत्युदरमा ६० प्रतिशतले वृद्धि हुनसक्ने अनुमान गरिन्छ । अन्य देशको तुलनामा नेपालमा यस रोगबारे पर्याप्त जनचेतना र स्रोतसाधनको अभावका कारण महामारीको रूप लिनसक्ने अझ बढी सम्भावना छ ।
बर्डफ्लु रोगका कारण पहिलोपटक इटलीमा सन् १८७८ मा मानवको मृत्यु भएको थियो । तत्पश्चात् सन् १९१८ देखि १९१९ सम्म स्पेनमा स्पेनिस फ्लु, १९५७ देखि १९५८ सम्म एसियामा एसियन फ्लु, सन् १९६८ देखि १९६९ सम्म हङ्कङ फ्लुका नामले यसको सङ्क्रमण फैलिएको पाइयो । सन् १९९७ यता उत्पत्ति भएको बर्डफ्लुको नयाँ जीवाणु ‘एचफाइभ एनवान’ नामको भाइरसबाट हालसम्म पाँच सय ८४ जनामा यो रोग देखिएको तथ्याङ्क छ । त्यस्तै तीन सय ४५ जनाको मृत्यु भएको अनुमानित तथ्याङ्क छ । विश्वमा बर्डफ्लु महामारीका कारण करिब २२ अर्बभन्दा बढी पक्षी मरेको अनुमान गरिन्छ, जसबाट दुई सय अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
नेपालमा पहिलोपटक बर्डफ्लु रोग १६ माघ २०६५ मा झापाको मेचीनगरमा देखापरेको थियो । बर्डफ्लु रोग प्रमाणित भएपछि कुखुरा नष्ट गरे राज्यले प्रति गोटा एक सय ३० रुपियाँका दरले क्षतिपूर्ति तिर्ने गर्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार फेब्रुअरी २०१२ सम्म आइपुग्दा राज्यले एक करोड २० लाख ८० हजार रुपियाँ क्षतिपूर्ति तिरेको छ । यो रकम त राज्यले रोग फैलिएपछि मारिएका कुखुराबापत तिरेको रकम हो । किसानका खोरमा रोग सङ्क्रमित भई आफैमा मरेका कुखुराको हिसाब गर्ने हो भने पचासौँ करोडको मूल्य पुग्न सक्ला । कतिपय ठाउँमा किसानले मासु बिक्री घट्ने डरले एकाध कुखुरा मरेको सार्वजनिक नै गर्दैनन् । धेरै कुखुरा मरेपछि मात्र जानकारी गराउने गर्छन् ।
बर्डफ्लुबाट नेपालको २६ वटा तराईका जिल्ला उच्च जोखिममा पर्छन् । अठार जिल्लामध्ये जोखिम र ३१ वटा जिल्ला न्यून जोखिममा पर्छन् । यी जिल्लामा सरकारले आगामी दिनमा सतर्कता अपनाउन नसक्ने हो भने सङ्क्रमण अझ बढ्न सक्ने खतरा छ ।
नेपाल–भारतबीचको खुला सिमानाका कारण भारतीय बजारबाट ठूलो मात्रामा कुखुरा तथा अन्डा नेपाली बजारमा भित्रिने गरेका छन् । अवैधरूपमा भित्रिने यी कुखुरा तथा अन्डाको क्वारेन्टाइन कार्यालयले जाँच गर्न पाउँदैन । त्यसरी पनि नेपालमा बर्डफ्लु रोग सङ्क्रमित हुने ठूलो खतरा छ । नाकाबाट भित्रिने कुखुरा तथा अन्डा जाँच गर्ने सीमित मात्रामा क्वारेन्टाइन कार्यालय र दक्ष जनशक्तिको अभावले पनि सो काम प्रभावकारी हुन सकेको छैन । जाँचमा कमिसनको खेलले त झन लापरवाही बढाएको छ । सीमानाकामा व्यापारीहरू खुलेआम पैसा दिएर कुखुरा तथा अन्डा भित्राउने गरेको देखिन्छ । यसबाट पनि बर्डफ्लुको जोखिम न्यूनीकरणभन्दा झन बढावा भएको छ ।
बर्डफ्लु रोग निदान तथा न्यूनीकरणमा सरकारी तर्फबाट लापरवाही त छ नै, व्यापारीले बढी आम्दानी गर्ने नाउँमा पनि सङ्क्रमणलाई मलजल गरेको देखिन्छ । पर्याप्त तालिम र बर्डफ्लु रोगबारे जनचेतनाको अभावले पनि यस रोगको न्यूनीकरणमा जटिलता थपेको छ । पशुपक्षीसँग मानिसको निकटता, सुत्ने घरकोठामै पशुपालन गर्ने तथा कुखुरा र मानिस एउटै कोठा र घरमा बस्ने परिपाटीले कुखुराबाट मानिसमा रोग सङ्क्रमण हुने खतरा अझ बढाइदिएको छ । जनचेतनाको अभावमा सरसफाइमा कमी, मरेका पशुपक्षीको उचित व्यवस्थापनभन्दा मासुका रूपमा खाने प्रवृत्ति र मरेका पक्षी पुर्ने व्यवस्थापनभन्दा जताततै फाल्ने कार्यशैलीले पनि भाइरस सङ्क्रमणमा बढावा गर्छ । जनतामा रोगबारे चेतनाको विकास गर्न नसक्नु, प्रशिक्षण, तालिम तथा जागरणको कार्यक्रम ल्याउन नसक्नु सरकारको कमजोरी देखिन्छ ।


बर्डफ्लु भाइरस फेला परेको ठाउँमा पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट पोसाक लगाएर कुखुरा नष्ट गर्नुभन्दा सामान्य पोसाकमा मास्क नै नलगाई कुखुरा मारिएकोे घटनाले पनि रोगबाट मानिस नै सङ्क्रमित हुने खतरा बढाएको छ । जनचेतनाको कमी र दक्ष जनशक्तिको अभावमा यस्तो खतरा मोल्नुपर्ने बाध्यता देखिन्छ । बर्डफ्लु रोग नियन्त्रणका लागि सरकारसँग उचित स्रोतसाधन तथा जनशक्तिको अभाव छ । नियन्त्रणका लागि स्पष्ट योजना छैन । आवश्यक ऐन कानुनको अभाव छ ।
रोग प्रमाणित गर्नलाई बेलायती ल्याबमा पठाउनुपर्ने बाध्यता छ । बेलायतबाट रोग प्रमाणित भएर नेपालमा रिपोर्ट आउँदासम्म हजारौँ  कुखुरा मर्ने गर्छन् । त्यसले पनि सङ्क्रमणलाई नियन्त्रण गर्नमा कठिनाइ भएको मान्न सकिन्छ । बर्डफ्लु रोग कुखुराबाट मात्र सर्ने नभई पाहुना चराको माध्यमबाट पनि सर्ने गर्छ । विदेशी भूमिबाट अधिकांश चरा नेपालमा आउने गर्छन् । चराबाट पनि यस रोगको भाइरस सर्ने हुनाले यसको नियन्त्रणमा चुनौती देखिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय