मत-विमत

खस क्षत्री–बाहुनको बकपत्र

सौर्य अनलाइन २०६९ जेठ ३१ गते १:४८ मा प्रकाशित

कुरा नयाँ होइन तर सान्दर्भिक भयो । त्यसैले केही लेख्नु जरुरी ठानेँ । म लिंग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन मानव चेतनाको पक्षधर होइन । वर्तमानका मेरा सर्वजाति अभिभावक, संगी र भावी सन्ततिहरूबीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । तसर्थ, मेरै विगत र सन्निकट इतिहासको अतिव्याख्या, अल्पव्याख्या र अपव्याख्या भइरहेकाले तथ्य र यथार्थको उजागर गर्नु यो लेखको पहिलो अभिलाषा हो । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थहरूलाई भरमार व्याख्या गर्ने वर्तमानको नांगो ‘राजनीतिक’ प्रवृत्तिलाई खबरदारी गर्नु दोस्रो अभिलाषा हो ।
कुरा वर्तमानबाटै थालौँ । म नेपालको मेची महाकाली फैलिएर जुगौँदेखि बसोबास गरिरहेको खस बाहुन, क्षेत्री । एनेकपा (माओवादी) र केही कम्युनिस्ट कलेबरका जनजाति नेताहरूले हिजोआज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषणको पर्याय । नेपालको अन्तरिम संविधान–२०६३ को शब्दमा भन्दा म अन्य जाति । मेरो परिचय सत्ता राजनीतिको उन्मादले पटकपटक परिवर्तन गरिरहन्छ, जसले गर्दा मेरो विगत, वर्तमान र भविष्यको परिचय सत्ता स्वार्थका उन्मादी व्याख्याताहरूले आफ्नो अनुकूल व्याख्या गरे, गरिरहेका छन् र गरिरहने पनि छन् । भविष्यमा म कसरी परिचित हुन्छु, ठ्याम्मै थाहा छैन । तर, मेरो इतिहास, विगत र वर्तमानका बारेमा तपाईंलाई भन्नै पर्ने अब मसँग केही तथ्य, यथार्थ र सन्दर्भहरू छन् । अढाई सय वर्षअघिको नेपालको कुरा गर्ने हो भने यहाँ बाइसी चौबिसी राज्य थिए । ती राज्यमा वंशजका आधारमा राजा हुन्थे, शाह वंश, सेन वंश, मल्लवंश आदि । वंशजका आधारमा राजा हुनु भनेको जात वा सम्प्रदायको प्रतिनिधित्व गर्नु होइन । त्यसैले यस्ता राज्य व्यवस्थालाई इतिहासकारहरूले जहानियाँ शासन भने । त्यसबेला मेरो परिचय वंशीय राज्यको रङ्क थियो ।
मलाई पढाइएको इतिहासकै शब्दमा भन्दा विसं १८३० को सुरुआतसम्ममा गोरखाका शाहावंशीय राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यहरू एकीकरण गरी नेपाल देश बनाए । राजा पृथ्वीनारायणले १८३१ साउन २२ गतेको मुलुकी लाममोहरमा ‘किरात–लिम्बुवान क्षेत्र लिम्बू कुलभाइलाई दियौँ’ भनी लेखिदिए । यसैगरी रणबहादुर शाहले १८४३ सालमा लाममोहोर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालमा ठेक्काथितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई सुब्बाको दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई राई दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । किपटीयाले आफ्नो किपटमा चलानीद्वारा अरू जातका मानिसलाई बसाउन पाउँथे । यसरी बसाइएका मानिसलाई रैती भनिन्थ्यो । उनीहरू रैतीबाट तिरो असुल्थ्ये । तिरोका अतिरिक्त सुव्बा जिम्मावालहरूले रैतीबाट असुल्ने ठेकीबेठी, नगद नजराना, झारा, दशैँभाग पर्थे । त्यसबेलाका अरू नानाभाँती थितिको अहिले धरै बयान नगरौँ । कमरेड सूर्य कन्दङवाले किसान मुक्तिका लागि सुब्बा जिम्मावालको यही शोषणका विरुद्ध आठराईभेगमा संघर्ष गरेर आफ्नो कम्युनिस्ट राजनीतिक यात्रा सुरु गरेका थिए । यसरी नेपालमा जग्गा नापी सुरु नभएसम्म म रैती भएँ । र, मैले चिठी पाउने ठेगाना थिए–वल्लो किरात, माझ किरात, पल्लो किरात नेपाल आदि इत्यादि । मलाई कतै सुब्बा, कतै राई, कतै घलेले शासन गरे, कतै मुखियाले अनि कतै चौधरीले । ०३५/३६ सालसम्ममा नेपालका धेरै भागमा नापी भइसकेको थियो । नापीपछि ती भेकमा मेरो परिचय शाह वंशीय राजाको प्रजामा बदलियो र म प्रजा भएँ ।
यी थरीथरीका वंशीय शासन र तिनसँग साठगाँठ गरेर राज्य चलाइरहेका सुब्बा, राई, मुखिया, घले र चौधरीका विरुद्ध म इतिहासभरि मुक्तिको संघर्ष गरिरहेँ । मकै पर्व मैमाथि आइलाग्यो, राजद्रोहको भागीदार पनि ठूलो संख्यामा मै बन्नुपर्‍यो । सर्वस्वहरण, देश निकाला, जेल सजायँ आदि इत्यादि सजायँ मैमाथि आइपरे । यसरी म मुक्तिको आन्दोलनमा वंशीय शासनका विरुद्ध अग्रिम मोर्चामा डटिरहेँ । १९९७ साल होस् कि ००७ साल, ०३६ साल होस् कि ०४६ अनि ०६३ साल । ०४६ सालको जनआन्दोलनपछि म जनता भएँ भनी गर्व गर्न थालेँ । ०५८ सालमा फेरि मलगायत सबै नेपाली जनतामाथि अनिष्ट आइलाग्यो । ०६१ सालमा त वज्रपातै भयो । फेरि ०६३ सालमा शाहवंशको विरुद्धमा अन्तिम लडाइँमा सामेल भएँ । ०६४ पछि अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु । तिनै मलाई रंङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो विडम्बना † यसैबेला मौकाको फाइदा उठाउन तराईका बाहुन क्षेत्री मैमाथि खनिए– खस बाहुन क्षेत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात् वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले नै सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । युएनडिपी, नेपालले निकालेको हालसालैको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अति सम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षेत्री एक नम्बरमा छौ । कस्तो गज्जब † धान खाने मुसो चोट पाउने भ्यागुतो ।
म सुब्बाहरूको थिचाइमा परेँ तर लिम्बूहरूको होइन । म राईको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरुङ र थारूहरूको होइन । त्यसबेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरुङ, थारूहरू मजस्तै निरीह जीवन बाँच्न बाध्य थिए । जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो । सत्रौँ शताब्दीसम्म विश्वमा जातीय शासन थियो । त्यहाँ रंगले, नश्लले र लिंगले शासन गथ्र्यो । त्यसबाट मुक्तिका लागि पुँजीवादी, समाजवादी आन्दोलनहरू सुरु भए । प्रजातान्त्रिक र साम्यवादी व्यवस्थाको सुरुआत र वकालत हुन थाल्यो । शोषण, अन्याय, असमानता र विभेदबाट मुक्तिका लागि अनेकन सिद्धान्त प्रतिपादन भए । माक्र्सवादी विचारधाराले समाज वर्गीय हुन्छ र शोषण पनि वर्गीय हुन्छ भन्ने कुरालाई अघि सार्‍यो । अर्को संरचनावादी विचारधारा आयो । यस विचारधाराअनुसार राजनीतिक तथा राज्य संरचनाले गर्ने स्रोत र शक्तिको असमान वितरणका कारण समुदाय गरिब हुन्छ भन्ने मत सुरु गर्‍यो । अर्को स्थान विचारधारा भनी सुरु भयो । जसअनुसार मानिस गरिब हुन्छन् किनभने उनीहरू कमजोर स्रोतको आधार भएको अनकन्टार स्थानमा बसोबास गर्छन् । यस विचारधाराले स्रोतलाई सीमित गरी मान्छेका आवश्यकताहरू खुम्च्याउने प्रकृतिले नै गरिब बनाउँछ भन्ने मत अघि सार्‍यो । अर्को सामुदायिक विचारधाराले परम्परागत समुदायमा आफ्नैखाले मूल्य, मान्यता र वर्ग संरचना हुन्छन् । ती मूल्य, मन्यता र वर्ग संरचनाअनुसार नै त्यहाँको भौतिक, प्राकृतिक, बित्तीय र मानव पुँजी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । सामुदायिक विचारधाराले सीमित र अपर्याप्त यिनै पुँजीहरूका कारण समुदायका बासिन्दा गरिब र विपन्न हुँदै जान्छन् भन्ने मन्यता स्थापित गर्‍यो ।
यी सबै मत र विचारधाराहरू असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिका लागि उपायका रूपमा समस्यालाई बुझ्न सुरु गरिएका थिए । अहिले यहाँ केही माओवादी र जनजाति नेताहरूले भनेजस्तो जातीय राज्य असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिको उपाय हो भन्ने सिद्धान्त वा विचारधारा कतै फेला पर्दैन । यदि मुक्ति हुने भए डा. कृष्ण भट्टचनहरूले अन्याय र शोषणमा परेको गिडगिडाहट गर्नुपर्ने थिएन, किनभने ०६४ सालमा नेपालबाट राजतन्त्रको समाप्ति नभएसम्म मुस्ताङमा जिग्मेपरवर विष्ट राजा थिए । र, यो पूर्ण स्वायत्त पनि थियो, जसको प्रमाण हो उपल्लो लोमानथाङ जान विदेशीहरूले जिग्मेपरवरबाट छुट्टै प्रवेशाज्ञा लिनुपथ्र्यो । नीति सिद्धान्त र जनताको सामूहिक तागतभन्दा अन्तैबाट आनन्द खोज्ने नेताहरूका बानीले अहिले जातीय राज्य नै मुक्तिको बोटोका रूपमा चित्रित हुँदै छ । नेता हुँ भन्ने हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक छन् । मैले सुनेको थिएँ बुद्धि खारिएको हुन्छ, भाँडिएको होइन । तर, शक्ति र सुख भोग गर्ने हडबडे इच्छा नै हाम्रा नेताको चेतना रहेछ । हाम्रा नेतासँग बुद्धिभन्दा बढ्ता आवश्यकताहरू रहेछन्, जसले उनीहरूलाई मूर्ख बनाइरहेछ । त्यसैले अहिले मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले हाम्रा नेताहरू चिच्याइरहेछन् । तिमी नेताहरूले हामी जनतालाई त्यस्तो बालकझैँ ठानेका छौँ, जो क्षितिजलाई आकाश र धर्ती जोडिएको ठान्छ । तर, नेताहरूले नेपाली जनताको चेतनालाई कमजोर ठानेर विरोल्न सक्छु भन्ने दु:स्वप्ना नदेखे हुन्छ । ००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखेट्ने अभियान थाल्दा त्यसका विरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिहं राई, बयान सिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङहरू सशक्त रूपमा उभिएका थिए । अहिले त नेपाली जनताको ००७ सालको मात्र होइन, झन्डै ०७० सालको चेतना हो । नेपाली जनताको यो आधुनिक चेतनाले बरु उल्टै भनिरहेछ– तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय