आफ्नै देशको दर्शन
-नारायण श्रेष्ठविदेशका कुरा छाडिदिउँ, आफ्नै देश घुम्न पाउनु पनि सौभाग्य रहेछ । भूगोलका अनगिन्ती रूपहरू,
त्यही भूगोलसँग सिँगौरी खेलेर आदिकालदेखि उभिएका मानिस, तीनका बस्ती र मान्छेले सिर्जना गरेका सदियौँका चलढालहरू– सबैलाई नजिकबाट देख्न पाउनु आफैँमा अनुपम मौका हो ।
यी हरफ लेखिरहँदा मैले घुमेका ६०/६५ जिल्लाका बाटोहरू, त्यहाँ भेटिएका मानिस र त्यसक्रममा उनीहरूसँग भएका कुराकानीहरू एकपछि अर्को गर्दै तरेली परेका पहाडका हारजस्तै मेरो दिमागमा आइरहेछन् । ती मानिसहरूसँग कुराकानी गर्दा राजधानीमा नीति बनाउनेहरूसँगको अपेक्षा, जीवनकालमै केही भैहाल्छ कि भन्ने अभिलाषा उनीहरूका आँखामा पढ्न पाउथेँ । पछिल्लो समयको राजनीतिक घटनाक्रमपछि जब संविधानसभा विघटन भयो र अपेक्षाहरू जब निराशामा परिणत भए, त्यसपछिचैँ ती अनुहारहरूमा आक्रोश मात्रै भरिएको देखेँ ।
जेठको तेस्रो सातातिर उखरमाउलो गर्मीको धूपमा सेकिँदै थापाथली पुल तरेर काठमाडांै जाँदै थिएँ । पुलको बीचमै जाममा परेँ ।
‘साझा सवाल । नारायण,’ मोटरबाइक पछाडिबाट कसैले करायो ।
ह्यान्डल छाडेर भाइजर खोल्दै मुकुन्द पछाडि फकिर्यो । ‘सेलेब्रिटी पत्रकारको
सवारी चलाउनुमा’नि मजा छ दाइ,’
मुकुले जिस्क्यायो ।
पछाडिको त्यो मान्छे अझै के–के भन्दैथ्यो– मेरो र कार्यक्रमको बारेमा ।
सोचेँ मानिसहरूले चिन्नुमा मजा पनि छ र पीडा पनि ।
मजा यस्तै कुनै ऐनमौकामा हुन्छ तर पीडा सधैँजसो भैरहन्छ । दूर गाउँहरूमा मानिसहरूको जीविका र जीवन पद्धति देख्दा राजधानीमा भूपू प्रधानमन्त्री, गृहमन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरूका लागि कस्तो गाडी सुविधा दिने भनेर बहस गर्नेहरूले किन त्यो सौकत र शासन पद्धतिको अलिकति पनि छाप गाउँमा नपारेको होला भनेर पीडाले थिचिन्छु । भित्र मन चिमोटिन्छ । विविध समस्याको फिराद लिएर निमुखा मानिसहरू कुनै सुनुवाइ पो भैहाल्छ कि भनेर मलाई सुनाउन आउँदा म सधैँ घोत्लिन्छु– यी मानिसहरूका लागि आफ्नो समस्या बिसाउने ठाउँ छैन ? उनीहरूको पीडा कसैले सुन्दैनन् ?
मलाई थाहा छ, उनीहरूको पीडामा मल्हम लगाउने बुटी मसँग छैन । यो मुद्दा सिंगो प्रणालीसँग जोडिएको छ । र, म मात्र एउटा पत्रकार हुँ, मानिसहरूका समस्या, विचार राजधानी ल्याइदिने, अनि केन्द्र र सहरका कुरा गाउँ पुर्याइदिने । खासमा एउटा सेतु । सहरका नेता, व्यापारी, उद्योगपति र मान्छे दलाली गर्ने ब्रोकरहरूका कुरा, अनि गाउँका मानिसहरूका समस्या, अपेक्षा ओसारपसार गर्ने ।
म उनीहरू सबैका कुरा सधैँ सुन्छु । अझ गाउँका मानिसहरूका कुरा विशेष सुन्छु । मेरा प्रश्नका अजस्र स्रोत हुन् ती मानिसहरू । देशको पूर्वदेखि पश्चिमसम्म, जता गए पनि आममानिसभित्र लुकेको त्यो आशा आफ्ना केटाकेटीहरूका लागि सहज शिक्षा, सुलभ स्वस्थ्य, रोजगारीका अवसर र मलबीउको उपलब्धतामा रूपान्तरित हुनेछ भन्ने अपेक्षा थियो ।
माओवादी द्वन्द्वको बाक्लो चपेटामा परेको रोल्पा सदरमुकाम लिवाङमा भेटिएका कांग्रेस जिल्ला नेता कृष्ण घर्तीमगर भन्थे, ‘पाखातिर बाख्रा चराउन गएका गोठालालाई, चिउरीको बुट्टामा ओत लागेका गरिबहरूलाई, सुख्खा खेताको आलीमा झोक्राएर बसेका किसानहरूलाई नयाँ संविधान बने पनि नबने पनि केही मतलब हुँदैन, जबसम्म उनीहरूले सजिलोसँग बिहान बेलुका हातमुख जोर्न पाउँदैनन् ।’
दुईतिहाइ जनता कृषक रहेको देशमा कृषि पेसा टीठलाग्दो छ । किसानहरू गरिब छन् । खेती गर्ने तरिका पुरातन छ ।
यो देशको दर्शन विचित्रको छ । विविधता त छँदै छ, बेथिति पनि त्यत्तिकै छ । बर्दियाको भुरी गाउँमा होस् या झापाको बिर्तामोड, यात्रा गर्दै जाँदा बाटैमा एक्कासि बन्द भन्ने थाहा हुन्छ र रोकिनुपर्छ । बन्दका कारण आ–आफ्ना हुन्छन् । इलामको चियाबगान हुँदै कन्यामबाट अघि बढ्ने बाटो तस्बिरहरूमा जति सुन्दर देखिन्छन्, त्यतिकै कुरूप तस्बिरमाथि इलाम बजारमा देखेको छु । जातीय आन्दोलनका सुरुआती दिनमा, करिब चार वर्षअघि, ‘बाहुनको नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्दै गरेको इलाम बजारको भाषण सुन्नुपरेको थियो । बन्दको आन्दोलन सफल पार्न जिपभरि गाउँबाट स्कुले ड्रेसका केटाकेटीहरू ओसारेको पनि त्यहीँ देखेको हुँ ।
यो देशको सबभन्दा महँगो डिजाइन भनिएको, हेर्दा फिल्मी तस्बिरजस्तो लाग्ने, खुर्कोट–सिन्धुली रोडको त के कुरा भो र, डडेलधुराबाट झन्डै डेढसय किलोमिटर लामो धुलौटे, ग्य्राबेल पनि नगरिएको दार्चुलासम्मको कच्ची बाटोको १३/१४ घन्टाको अविच्छिन्न यात्रा अहिले सम्झँदा सपनाजस्तो लाग्छ । सुनेको छु, अहिले त्यो बाटोको अधिकांश भाग कालोपत्रे भइसकेको छ ।
सुर्खेतमाथि गुराँसेको लेकमा पाखै ढाक्नेगरी फुलेका गुराँसका लहर, भालुवाङबाट उकालो चढेर बड्डाँडा पार गरेपछिको भीरमा झुन्डिएको चिउरीको रूख, तामाकोसी तरेर मैनापोखरी कटेपछिको चिसो लेक र त्यस पारिपट्टि छेर्दुङको चिज कारखाना, मुगु सदरमुकाम गमगढीको जिल्ला अस्पतालमा चौरमा बच्चा जन्माउँदै गरेकी मुगाली, तुम्लिङटारको उखरमाउलो गर्मी र खाँदबारी बजारमा हार लागेका बियरका खाली बोतल, नेपाली जीवनको विविधता हुन् । रुद्राक्षको व्यापारबाट आउने पैसाले हुनुपर्छ खाँदबारीमा चामलको भन्दा रक्सीको गोदाम भरिभराउ छ । आँगन छेक्ने बार ढुंगाले होइन बियरका खाली बोतलले लागेका छन् । अचम्मै छ, मानिसहरूको रक्सी मोह † पैसा हुने खाँदबारीहरूमा आधुनिक उत्पादन खपत भएको छ, पैसा नहुने
मुगु र डोल्पाहरूमा कामका लागि आएको चामलै पनि कैलेकाहीँ घरेलु उत्पादका लागि प्रयोग हुने गरेको छ ।
प्रकृतिको विविधता त रमाइलै देखिन्छ– हेर्नलाई । त्यसभित्रको जीवन बिचित्रको हुने रहेछ । रसुवाका पहाडहरू छिचोलेर जाँदा मानिहरू ढुंगाको कापमा पनि के उब्जाएर खान्छन् होला जस्तो लाग्छ । माथि तिब्बतसितको सिमाना रसुवागढीमा चिनियाँहरूले दुई देश जोड्न खोलमा खम्बा ठड्याएका छन् । तर, नेपाल सरकारको उदासीनता र अरू घुमाउरो कूटनीतिका कारण स्ल्याब ओच्छिन सकेको छैन र पुल बनेको छैन । चिनियाँहरूले नेपाल र दक्षिण एसिया व्यापारका लागि यो राम्रो नाका ठानेका छन् क्यार, तिब्बतपट्टि विशाल अग्लो भवन बनाएका छन्, वारी नेपालपट्टि बाख्राको खोर भन्न पनि नसुहाउने टहरो छ भन्सार र चेकिङका लागि । योभन्दा पनि खराब तुलना दार्चुला र धार्चुलामा हुन सक्छ । पारिपट्टि धार्चुला कालोपत्रे सडकले ढाकिएको छ, वारी नेपालको दार्चुला धुलोले पुरिएको । रात पारिपट्टि बिजुलीको प्रकाशमा बजार प्रज्वलित हुन्छ, वारी अन्धकारको रासमा डुबुल्की मारेको ।
देशभित्रै पनि वल्लो डाँडा र पल्लो डाँडा, वल्लो नगर र पल्लो नगरबीच आकाश–जमिनको भिन्नता छ । रोल्पाको पहाड चिरेर झर्ने माडी खोला कहिलेकाहीँ माछा मार्न त काम लागेको होला तर किनाराका खेतहरू सुख्खा छन् । यसैको पूर्वपट्टि प्युठानका डाँडाहरूबाट नागबेली गर्दै झरेको झिम्रुक खोका किनारका फाँटहरू भने चैते धानले हरिया छन् । किनारको जमिनलाई खोलाले जीवन दिएको छ । प्रकृतिको बनोटजस्तै मानव समाजको बुनोटमा पनि भिन्नता छन् । गौर हत्याकाण्डको एक सातापछि चन्द्रनिगाहपुरबाट दक्षिणतिर झर्दा भूमिगत दल हौँ भन्नेहरू बाटोमै ‘पड्काइदिऊँ ?’ भन्दै धम्की दिन आइपुग्थे । ती दिनहरूमा साम्प्रदायिक सद्भाव कति बिथोलिएको थियो भने एउटा समुदाय अर्को समुदायकाहरूको घरमा आगो झोस्न कत्ति हिच्किचाउँदैनथे । चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर दक्षिणकी पहाडे मूलकी दूर्गा वाग्लेको रुवाइ अहिले पनि मलाई आँखामै घुमिरहेछ ।
‘एउटा छिमेकीले जोगाएजस्तो गर्यो, अर्काले आगो लगाइदियो,’ दुर्गाको आँखाबाट बगेको आँसु नाकको टुप्पो हुँदै झर्यो, ‘आफ्नै आँखाअगाडि घर जलाइयो, कसलाई के भन्ने ?’ आँसु थामिएन ।
उनले जलेको घरको कालो ठुटो देखाइन् । त्यो ठुटो धुरी खाँबो हुनुपर्छ । दुई–चार तस्बिर खिचेँ र भारी मन लिएर म फर्किएँ ।
तराई आन्दोलनको लगत्तै जनकपुर जाँदा अर्को भयावह अवस्था थियो । भानु वा देवकोटा नाम गरेका चोकका सालिकहरू बग्दादमा अमेरिकी सेनाले ढालेको सद्दाम हुसेनको सालिकजस्तो सडकमा लडिरहेका थिए, मानौँ ती नेपाली सालिकहरूले पनि सद्दामले जस्तै आणविक हतियार लुकाएका थिए । अझ अनौठो त यो भयो कि त्रस्त बजार र सुनसानजस्तो सडकमा रिक्साको हुड ढालेर जब म चक्कर लगाउँदै थेँ, कुनै अज्ञात प्रान्तबाट झरेको एलियनलाई हेरेजस्तो मानिसहरू मलाई हेर्थे– परसम्म नजर बंग्याएर । त्यो सहरका लागि मानौँ म आउटसाइडर नै थिएँ ।
संविधान नबन्दा र शान्तिप्रक्रियाले पूरा आकार नपाउने हो कि भन्ने शंका उब्जिरहँदा ती त्रासले भरिएका दिनहरूको पुनरावृत्ति होला कि भन्ने
चिन्ता आजभोलि फेरि म मानिसहरूको
अनुहारमा पढिरहेछु ।
लिवाङमा एउटा कार्यक्रममा केही युवाहरू भन्दैथे, ‘चुनाव भयो भने पनि अब भोट हालिन्न ।’ तिनीहरूको अनुहारमा पीडा थियो । नेताहरूसित आक्रोश पोख्दैथे, ‘अब नेताज्यूलाई फूलमालाले स्वागत गरूँ कि चप्पलले ?’




नारायण जी देशको लागि यदी कलम चलाऊने नै हो भने तपाईं जस्ता महान बिचार र बिबेक भएका ब्यक्तिले नै चलाऊन उपऊक्त ठान्दछु ! जहाँ गरीब गुरुवा देखी, हिमाल,पहाड र तराइ बासिले चिन्न सकोस र बुझ्न सकोस,! धन्यछ हजुरलाई नेपालका कुना र कचेउराबाट समेटी तयार गर्नु भयको यो लेखलाई मेरो अन्तर आत्मदेखी नै धन्यवाद एवम् शुभकामना टक्राउदछु !
जवाफ फर्काउनुस्
narayan dai… maile hajur ko harek karyakaram hereko chhu… hajur ko program bata ma dherai prerit bhayeko chhu.. aafule pratekshya nepali janata ko samasyaa haru dekhna na paye ni hajur ko program ma herna pauda khusi laagchha nai tara kehi garna na sakda dukha ajha badhi laagchha ….. mero ghar dang, tulsipur ho ra ma ahile tdelhi ma ca padhdai chhu, kunai din kehi maile garna sakne kaam aaye chha bhane ra hami haru jasta yuba ko khancho paryo bhane sadaiba tayar rahane bacha garchhu…. DANG hajur ko program bhayo bhane hajur sanga abasye bhetne chhu…..
जवाफ फर्काउनुस्