रंग‍-विविध

कुरा छिनेपछि लभ पर्‍यो

सौर्य अनलाइन २०६९ साउन २६ गते ३:२४ मा प्रकाशित

बूढापाकाहरूले भनेको उखानमा मलाई विश्वास लाग्छ– एकोहोरो रोटी पाक्दैन । साँच्चै नै पाक्दो रहेनछ । कुनै समय थियो, म कसैलाई निक्कै मन पराउँथेँ । तर, उनीचाहिँ मलाई फुटेको आँखाले पनि देख्न चाहँदी रहिनछिन् । अनि कहाँबाट पाकोस् मायाको रोटी † जब थाहा पाएँ, तिनले मलाई मन पराउँदिनन्, मलाई पनि ती बिस्तारै नराम्री लाग्न थालिन् । त्यसै कारण मलाई कम्तीमा पीडाचाहिँ हुन पाएन, त्यो एकोहोरो माया त्यत्तिकै बिलाएर गयो ।
उमेरले २८ टेकेपछि घरबाट बिहे गर भनेर प्रेसर आउन थाल्यो । मलाई पनि बिहे गर्ने उमेर भएझैँ लाग्यो । १० वर्षअगाडिको कुरा । विवाह नै गर्ने भएपछि मैले घरमा मागी विवाहको प्रस्ताव गरेँ । नातेदारमार्फत एउटी केटीको कुरा आयो । केटा र केटी देखादेख हुने भयो । केही आफन्तसहित उनलाई हेर्न गइयो । महाराजगन्जको नारायणगोपाल चोकनजिकै उनका आफन्तको डेरा रहेछ । उनी त्यहीँ आएकी रहिछन् । हामीबीच हेराहेर भयो । त्यतिबेला म टेलिभिजनमा गीताञ्जली कार्यक्रम चलाउँथेँ । त्यहाँ पनि धुस्रे र फुस्रे भएरै गएको थिएँ । भेट्नेबित्तिकै उनलाई नमस्कार गरेँ । लमी दाइले इसारा गरे– यिनै हुन् केटी † उनको नाम मुना रहेछ । उनको लुक्स नै मलाई साह्रै राम्रो लाग्यो । त्यसभन्दा अघि पनि केही केटी नहेरेको होइन तर उनीजस्ती राम्री कोही लागेनन् । फेरि नमस्कार भन्दै बाहिरिएँ ।
लमी दाइ सोध्न थाले– ‘के त कुरा अगाडि बढाऊँ कि नबढाउँm ?’ उनले सोध्नुभन्दा पहिल्यै डिसिजन गरिसकेको थिएँ मैले– ‘कुरा अगाडि बढाउने होइन, सिधै ओके गर्नुस् ।’ मनमा खुल्दुली थियो– फेरि उनले पो ओके गर्ने हुन् कि होइनन् † पहिले पनि एकतर्फी मन पराएर धोका खाएको मान्छे परियो आफू † फाइनल गरेर चाँडै बिहे गरिहाल्न पाए हुन्थ्यो †
फर्पिङको घुमाउने पोखरीनजिकै छ उनको घर । परिवारले घरमै आउन आग्रह गरे । मलाई पनि उनलाई कतिखेर देखूँजस्तो भइरहेको थियो । छिटोछिटो बाइक चलाउँदै थिएँ, चिप्लो बाटो परेछ, डङग्रङ्ग्रै लडिहाल्यो । हिलाम्मे भएँ, ड्रेस खत्तमै भयो । नजिकैको कुवामा यसो पुछपाछ गरेर उनको घर पुगियो । सामान्य कुराकानी भयो । उनका बाबाममीले ओके गर्नुभएछ । फिल्मतिरजस्तै एउटा कोठामा थुनेर कुराकानी गराउने हुन् कि भनेर अलिअलि अप्ठ्यारो पनि लाग्दै थियो । धन्न त्यस्तो भएन ।
फर्किनुभन्दा पहिला उनलाई आºनो फोन नम्बर दिन चाहन्थेँ, तर अप्ठ्यारो लाग्यो । परिवारकै एक सदस्यलाई नम्बर दिएर फर्किएँ । उनले आफैँले बुझेर फोन गरिदिए हुन्थ्यो जस्तो लागिरह्यो घर आएपछि । अपरिचित नम्बरबाट फोन आउनासाथ हत्तपत्त उठाइहाल्थेँ । उनै हुन् कि जस्तो लाग्थ्यो । एक दिन भयो पनि त्यस्तै । अपरिचित नम्बर आयो । झटपट उठाएर सोधिहालेँ– ‘को बोल्नु भएको ?’ उताबाट उत्तर आयो– ‘म मुना बोलेको ।’ मन खुसीले उफ्रिन थाल्यो । अत्तालिँदा–अत्तालिँदै ठाडै सोधेँछु– ‘ए तिमी… के छ खबर, तिमीलाई म मन परेँँ ?, बिहे गर्ने होइन त ?’ उनले लजाउँदै भनिन्– ‘छ्या तपाईं त †’ त्यसपछि त के थियो, भर्खरै लभ परेका केटाकेटीजसरी फोनमा झुम्मिन थाल्यौँ । परिवारमा भएका कुराकानी मलाई सुनाउन थालिन् । उनी परिवारबारे जति बताउँथिन्, मलाई उत्ति नै आºनोपनको अनुभूति हुन्थ्यो ।
एक दिन उनले केहीअगाडि खिचिएका फोटो हेर्ने बहानामा भेटौँ भनिन् । मलाई पनि देख्न मन लागिरहेको थियो । उनलाई कलंकीमा भेटेँ अनि कालिमाटीको बेकरी क्याफेमा ल्याएँ । मम अर्डर गर्‍र्यौं । बेकरीमा सँगै बस्दा अलि अप्ठ्यारो लाग्यो । भेटे पनि उति धेरै बोलिरहेका थिएनौँ, उनी त मलाई केही पनि सोध्दैनथिन् । तैपनि फोटोहरू हेर्ने बहानामा केही बोलचाल गर्‍यौँ । उनले मेरो प्रशंसा गरिन्, मैले उनको । निकै समयदेखि सोध्न मन लागिरहेजसरी अनकनाउँदै सोधिन्– ‘तपाई ड्रिङ्स गर्नुहुन्छ कि हुन्न ।’ मैले नढाँटी भनेँ– ‘अलि–अलि गर्छु ।’ आधा घन्टा त्यहाँ बसेपछि उनलाई घर पुर्‍याएर फर्किएँ । त्यसपछि चाहिँ बिहेअगाडि अब नभेट्ने भनेका थियौँ तर मन किन मान्थ्यो र ? फेरि बहाना बनाएर रेस्टुरेन्टमा भेट्यौँ ।
२०५९ फागुन १३ गतेका लागि हाम्रो बिहे तय गरियो । तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरीलगायत कलाकर्मी जन्ती हुनुहुन्थ्यो । साथीहरू मलाई छेड हान्दै हँसाइरहेका थिए । हास्य कलाकारहरूका बीच बिहेको माहोल नै हास्य थियो । बिदाइका बेला बेहुलालाई बोकेर बाहिर निकाल्ने चलन थियो । मलाई एकदमै अड लाग्थ्यो । त्यसैले आºनै बिहेमा चाहिँ त्यो चलनलाई प्राथमिकता दिइनँ । भन्न त भन्दै थिए, बोक्नुपर्छ भनेर । मैले पनि जोक्स गरिदिएँ– ‘बोक्ने नै हो भने कि त बोकेरै घरसम्म पुर्‍याउनुपर्छ, नत्र एकैछिनलाई बोकी माग्नेवाला म छैन ।’ अन्माउने बेलाँ मुना रुन थालिन् । मलाई नरमाइलो लाग्यो । अब बेहुलो न परियो, सबैका अगाडि नरोऊ भन्दै फकाउन पनि नमिल्ने । मनमा नमज्जा लागिरहेको थियो, अरू मानिससँग बोलेको निहुँ पारेर आºनै मनलाई सान्त्वना दिँदै बसियो । चोभारसम्म आइपुग्दा पनि सुँक्क–सुँक्क गरिरहेकै थिइन् । उनी हाँसुन् भनेर जोक्स गर्थें– ‘ए…दुलहीहरू रुने त घरआँगनसम्म मात्रै पो रहेछ, आधा बाटो आएपछि त किन रुन्थे र ? मिलाएर रुन खप्पिस हुँदा रहेछन् ।’ यस्तो सुनेपछि उनी रिसाएजस्तो गर्थिन् । तर, मनमनैचाहिँ हाँसिरहेकी छिन् जस्तो लाग्थ्यो, म चाहन्थेँ पनि त्यही ।
नयाँ मान्छे परिन् उनी, नयाँ ठाउँ, नयाँ परिवारमा एडजस्ट हुन केही समय त लागिहाल्छ । विवाह हुनुभन्दा पहिला एक्लै खाने/सुत्ने गरेको, विवाहपछि सँगै हुँदा केही गाह्रो हामीलाई पनि भएको थियो । म उनलाई मुना भनेर सम्बोधन गर्थें, उनी बाबा भनेर बोलाउँथिन् । अहिले पनि त्यसै गर्छौं । मेरो वास्तविक लभचाहिँ विवाहपछि पर्‍यो । बिहेको दुई महिनामै बुबा बित्नुभएपछि हामी हनिमुन मनाउन गएनौँ । दुलहन फर्काउन जाने–आउने हुँदै समय पनि बित्दै गयो । गीतान्जली कार्यक्रम सकेर राति १०–११ बजे आउँदा उनी रिसाउँथिन् । दुई वर्षपछि पहिलो सन्तान छोरी समृद्धि जन्मिइन्, त्यसको दुई वर्षपछि छोरो सक्षम जन्मियो । अहिले त छोरी आठ वर्ष पुगिसकिन्, छोरो ६ वर्षको भयो । छोरालाई कसैले तिम्रो नाम के भनेर सोधे ‘बाबुराम भट्टराई’ भन्छ ।
कार्यक्रमका सिलसिलामा मुनालाई पूर्वाञ्चलतिर लिएर गएको थिएँ । त्यहाँ पनि राम्ररी खुलेर बस्न पाइरहेका थिएनौँ । फ्री टाइममा ºयानहरूसँग फोटो खिचाउँदै, कुराकानी गर्दै सकिन्थ्यो । जतिखेरै अन्त व्यस्त भएको देख्दा उनी रिसाएजस्तो गर्थिन् । तर, अहिले त उनले यी सबै कुरा बुझिसकेकी छन् ।
पहिलोचोटि ज्वाइँ बनेर ससुराली जाँदाको अनुभूति पनि रमाइलै हुँदो रहेछ । सबैले सम्मान गर्ने । खानामा पनि अनेक प्रकारका तरकारी बनाएका हुन्थे । मलाई अड लाग्थ्यो । ज्वाइँ मान्छे केही बोलिहाल्न पनि भएन † यसै त हास्य कलाकारलाई जोकर भन्छन्, त्यसमाथि कस्तो ज्वाइँ रै’छ भन्लान् कि भन्ने डर † एक दिन श्रीमतीलाई आºनो अप्ठ्यारो सुनाएँ, त्यसपछि चाहिँ ससुराली अहिले मेरो घरजस्तो भएको छ, एकदमै सजिलो ।
अब त पुराना भइसक्यौँ एकअर्काका लागि । ठाकठुक पनि निकै पर्छ । नामअनुसार मेष र वृश्चिक राशि हो हाम्रो । यी दुई राशि एकअर्कासँग कहिल्यै नमिल्ने खालका हुन्छन् रे † एकदमै रिसाहा । फेरि यिनीहरू एकअर्कालाई नभई नहुने पनि हुन्छन् रे † हाम्रो सम्बन्ध पनि त्यस्तै छ, छिनमै झगडा पर्ने अनि छिनमै पानी भइहाल्ने । प्राय: किचेन सम्हाल्ने र कोरीबाटीमा समय लगाउने कुरामा उनीसँग ठाकठुक चल्छ । म किचेन तिमीले नै सम्हाल्नुपर्छ सधैँ भन्छु । उनीचाहिँ तपाईंले परिवारसँग बढी समय बिताउनुपर्छ भनेर करकर गर्छिन् । कतै पार्टीमा जनुपर्दा म एकैछिनमा तयार भइहाल्छु, उनको चाहिँ मेकअपै लामो । अनि केही त भन्नु परिहाल्यो । हामीबीचको ठाकठुकलाई नर्मल बनाउमा चाहिँ म नै अगाडि हुन्छु । म भन्छु– ‘जीवनमा म तिमीसँग जहिल्यै हारेको छु ।’ यस्तो सुन्दा उनी खुब हाँस्छिन् । मलाई पनि रमाइलो लाग्न थाल्छ ।
हामीबीच उमेरमा आठ वर्षको फरक छ । अलिअलि ठाकठुक चले पनि खुसी र सुखसाथ जीवन गुजारिरहेछौँ । आपसी सम्बन्धप्रति एकदमै सन्तुष्ट छौँ । उनले मेरो जीवन सार्थक बनाएकी छन् । उनीविनाको जीवन निरर्थक होलाजस्तो लाग्छ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय