खोजखबर

इतिहासझैं लाग्ने उपन्यास

सौर्य अनलाइन २०६९ मंसिर २३ गते २:५३ मा प्रकाशित

साहित्य जीवन अभिव्यक्तिको माध्यम हो । यसले समाज बोलेको हुन्छ । समय बोलेको हुन्छ । ऐतिहासिक दस्तावेज पनि हो साहित्य । वर्तमानको प्रमाण हो, भविष्यको खाका पनि । यसको प्रस्तुत्कर्तामात्र लेखक हो, जसले भोग्छ, देख्छ, छाम्छ, चाख्छ, महसुस गर्दछ, कल्पना गर्दछ । लेखक जसले आपैँm भित्रको उकुसमुकुसलाई त सहेर बस्दैन–बस्दैन, अरू भित्रको उकुसमुकुसलाई पनि बोध गर्दछ, छाम्दछ, मसार्दछ, आँकलन गर्दछ अनि त्यसको सत्यतथ्य सकेसम्म बाहिर ल्याउँछ, सबैलाई बाँड्दछ अनि दंग पर्दछ । आपैँmमात्र होइन, दुनियाँलाई दंग पार्दछ ।
यसरी प्रस्तुतकर्ता भएर लेखिएको एउटा उपन्यास बजारमा आएको छ , ‘दरबार बाहिरकी महारानी’ । नगेन्द्र न्यौपानेद्वारा लिखित तथा विमल भौकाजीद्वारा सम्पादित यस उपन्यासले तात्कालीन राजदरबारभित्रको त्रुटि, कमी–कमजोरी, भोग–विलास, षड्यन्त्र, उनीहरुको वासनावृति, कामुकता र त्यसको डढेलोमा पिल्सिने नारीको कथा बोकेको छ ।
राजतन्त्रको अन्त्य भएपछि दरबारका
बारेमा निकै नै पुस्तकहरू बजारमा आयो, कुनै आख्यानको रूपमा त कुनै गैर आख्यानको रूपमा । आख्यानको रूपमा आएको यो पुस्तक पढ्दा भने कताकता इतिहासभैँm लाग्ने आख्यान अनि कताकता आख्यानभैँm लाग्ने इतिहासजस्तो लाग्छ । ‘म’ पात्रबाट सुरु भएको यो उपन्यासमा
‘लक्ष्मी’ पात्रलाई सूत्रधार बनाएर ‘गीता’ पात्रको जीवनलाई उतारिएको छ ।
‘गीता’ जो इतिहासमा चासो राख्नेहरू वा
यसबारेमा सुन्नेहरूका लागि सम्झन सक्ने पात्र हुन् । तात्कालीन राजा महेन्द्रकी जेठी श्रीमती (ल्याइते)लाई मुख्य पात्र बनाएर दरबारभित्र उनैले भोग्नुपरेको,
स्वीकार्नुपरेको जीवनका उकाली–ओरालीहरूलाई बाँन्की पुर्‍याएर लेखकले उनेका छन् यस उपन्यासभित्र ।
उपन्यास पढ्दा जहिले पनि साहित्यिक विद्वान हड्सनको भनाइलाई म सम्झने गर्दछु । उनी भन्छन् ‘उपन्यास भनेको इतिहास नै हो । यति मात्र हो, उपन्यासमा नाम र तिथिबाहेक अरू सबै कुरा सत्य हुन्छन् र इतिहासमा नाम र तिथिबाहेक अरू सबै कुरा असत्य हुन्छन् ।’ हो, यस उपन्यासमा पनि कतैकतै नाम फरक होलान्, नत्र त नाम पनि सत्य नै छन् अनि मितिचाहीँ उल्लेख गरिएको छैन । तसर्थ इतिहास बुझ्न पनि पढ्न लायकको उपन्यास बनेको छ यो ।
प्रसिद्ध भारतीय साहित्यकार प्रेम चन्द भन्दछन् ‘म उपन्यासलाई मानव चरित्रको चित्रमात्र सम्झन्छु । मानव चरित्रमाथि प्रकाश पार्नु र यसको रहस्य खोल्नु नै उपन्यासको मूल तत्व हो ।’ दरबार बाहिरकी महारानी चिटिक्क परेको बुलबुल चरीभैँm सिँगारिएको, पात्रहरूको चरित्र र रहस्यलाई खोलिदिएको उपन्यास हो । राजा महेन्द्रको युवाकाल, उनको कुरकुरे बैंशको जालझेलमा फसेकी गीता, महेन्द्रका पत्नीद्वय इन्द्र र रत्न, महेन्द्रको स्वर्गारोहण, वीरेन्द्रको राज्याभिषेक, गीता शाहबाट जन्मिएका पुत्र रवीन्द्र, बूढाबाबु त्रिभुवन, केही प्रसङ्गमा वीपी, गणेशमान, पुष्पलाल, गिरिजाजस्ता नेताहरू पनि समेटेर तयार गरिएको यो उपन्यास वास्तवमा लेखक एउटा डेरामा बस्दा सङ्गत हुन पुगेकी लक्ष्मी दिदीले सुनाएको दरबारभित्रको एउटा कथा हो । उपन्यास श्रुतिको पनि अनुश्रुतिबाट आएको छ ।
पुस्तक पढिँदा आनन्द नै आउने भए पनि केही जानकारीका लागि मात्र पुस्तक पढ्नुपर्ने बाध्यता पाठकलाई  छ । ओहो दरबारमा यस्तो पो हुँदो रहेछ । दरवारभित्रका राजा, रानी, राजकुमार जस्ता मान्छे पनि यस्ता हुँदा रहेछन् भन्ने बुझाउन र दरवारको भेद खोल्न पुस्तक लेखिएको हो भन्ने भान पर्दछ । यो पुस्तक दरवारको इतिहासमध्ये एउटा चोइटो कहानी हो । पुस्तकले पचास वर्षभन्दा बढीको समयलाई उतार्न खोजेको छ तर लेखकले त्यो भयानक विषय र समयलाई पूरा गर्न सकेका छैनन् । धेरै सूचना, धेरै अभाव खट्किएको देखिन्छ । न गीताबारे, न लक्ष्मीबारे, न महेन्द्र, न त्रिभुवन, न रवीन्द्रका बारे, कसैका बारेमा पनि पूरा बोल्न सकेको छैन पुस्तकले । उठानको विषयलाई हेर्दा पुस्तक दश भाग जतिमा आउनुपर्दथ्यो ।
खाली एउटी सुसारे लक्ष्मीको भनाइमा मात्र आधारित रहेकोले पुस्तक केही अपुष्ट तथ्य बोकेर आएको लाग्छ । आख्यानको रूपमा लेखकले यसलाई ढाल्ने कोसिस गरे तापनि जिज्ञासा नै जिज्ञासा छोड्दै लेखक कुदेको पाइन्छ । उपघटना, उतारचढाव कतै पनि पाइँदैन । यसले गर्दा पनि यस पुस्तकलाई आख्यानको रूपमा स्वीकार्न मुस्किल नै पर्छ ।
भाषा शैलीका दृष्टिले पुस्तक गतिलो बनेको छ तर पुस्तकभित्र एउटी सुसारे गीताले बोलेको भाषा, गरेको व्यवहार, चतुर्‍याइँ आदि अस्वाभाविक लाग्दछन् । पछिल्लो समय रवीन्द्र शाह नै समस्याको बीउ पनि बनेका छन् तर रवीन्द्रका बारेमा पुस्तक बोल्नै चाहदैन ।
पुस्तक आपैँmमा केही अधुरो लागेतापनि लेखकको शब्द बुनाई, प्रस्तुति, राजदरबारका भित्री पक्षकाबारे उजागर गरिएका तथ्यहरूले पाठकलाई तानी नै रहन्छ । पढौँ पढौँ नै लाग्छ । एउटी दासी महिला जो कहिले पनि महारानी बन्न सकिनन् वा खोजिनन्, उनका बारेमा पुस्तक आउनु सकारात्मक मान्नुपर्दछ । जेठो सन्तान भएर पनि रवीन्द्र राजा बन्न सकेनन् । उनले यस्तो चाहना नराख्दा पनि अनेक कष्ट झेल्नुपर्‍यो । रानी भएर पनि, युवराज भएर पनि अधिकारविहीन अवस्थामा बस्नुपर्‍यो, कति शोषण बेहोर्नुपर्‍यो । यसका बारेमा पुस्तक पढ्न पाउँदा हरेक पाठकले तृप्ति पाउन सक्छन् नै ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय