मत-विमत

कथा

सौर्य अनलाइन २०६९ चैत ९ गते २३:१४ मा प्रकाशित

Ramesh-Kshitijआज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा लेख्नै पर्ने महसुस भएको थियो । त्यसैले ऊ एकाबिहानै कथाको खोजीमा निस्केको थियो, कसैलाई थाहा नदिएरै ।
क्याम्पस पढ्ने बेला पनि कथा–मुक्तकहरू लेखेर ऊ अत्यन्तै लोकप्रिय थियो । साथीहरू पनि उसलाई औधी माया गर्थे । यसरी कथा–मुक्तक लेख्दा उसलाई हरेक बिहान चिया खाने समस्या पनि हल हुन्थ्यो । प्रेमिकालाई प्रेमपत्र लेख्नेहरू उसका मुक्तक पनि सारेर पठाउँदा बढी सम्प्रेषणीय हुने ठान्दथे भने कति साथीहरू त उसले लेखेको प्रेमपत्रले प्रेमिका मक्ख पर्ने भएकाले चिया–नास्ता गराएर पनि उसलाई खुसी राख्दथे अनि आफ्नो काम सहज पार्थे । यसरी लेख्दालेख्दै उसले थुप्रै साथी कमायो र विद्यार्थी जीवनका दिनहरू रमाइलोसँग बिते । सायद क्याम्पसमा बित्ने दिनहरू त्यस्ता सुन्दर क्षण हुन् जसलाई ईश्वरले थुप्रै दु:खपूर्ण क्षणमध्ये केही क्षण रमाउनका लागि दिएका हुन्छन् । क्याम्पसको गेटभित्र पसेपछि अरू सबै कुरा बिर्सेर साथी संगातीबीच रमाउँदै पढ्नु साँच्चै आनन्ददायक हुन्छ ।
क्रमश: उसलाई साहित्यप्रतिको अनुराग बढ्दै गयो । ऊ टाढा गाउँको मान्छे, अभावहरूसँग लड्दै साहित्यकार बन्नु सगरमाथा उक्लनुजत्तिकै गाह्रो थियो । उसका कति लेख्ने साथीहरूले त्यसैले होला सुरुकै शिविरबाट लेखनको आरोहण परित्याग गरे । उनले भने निरन्तर लेखिरह्यो तर क्याम्पसबाट बाहिरिएपछि घरपरिवारको आर्थिक समस्या, एउटा राम्रो जागिरको दौडधुप र अनेक व्यावहारिक कठिनाइसँग लड्दालड्दै पूर्णत: साहित्यमै समर्पित हुन सकेन । तैपनि आफ्नो प्रतिभाले र समयले भ्याएसम्म लेखिनैरह्यो ।
बिहान घरबाट निस्किएपछि सबभन्दा पहिले ऊ खुलामञ्च पुग्यो किनभने एक जना वरिष्ठ साहित्यकारले भनेको उसलाई अझ याद छ ‘बाटोबाटोमा कथा छन्, मान्छेमान्छेभित्र कथा छ ।’ बिहानभरि खुलामञ्चको ‘हङकङ’ बजार घुमेर उसले एउटा कथा बोकेर फर्कने निधो गरेको, त्यहाँ उसले विभिन्न मान्छेहरूको गहन अध्ययन गर्‍यो दुई/चार जनासँग कुराकानी पनि भयो तर बिहान बितिसक्दा पनि कथाको भने अत्तोपत्तो थिएन । त्यहाँको एक जना पसलेसँग उसले धेरै बेर कुराकानी गर्‍यो । उसका विविध प्रश्नहरू सुनेपछि पसलेले जवाफ दियो ‘के गर्नु हजुर पापिनीले त मेरो घरै उजाडेर गई ।’
हो न हो कथा भेट्टाइहाल्ने सम्भावनाले उसले नजिकैको चियापसलमा दुई कप चियाको अर्डर गर्‍यो । ‘विचरा तपाईंलाई त असाध्यै मर्का पर्‍या रै’छ ।’ कथा फुत्काउने उत्सुकताले उसले भन्यो । चियाको सुर्को लिँदै पसलेले कथा ओकल्यो ‘उसले कुन्नि के मोहनी लगाई म त ऊसँगै भुलेँ । बाबुआमा, दाइभाइ छाडेर छुट्टिएँ, जग्गा–जमिन उसको नाममा पास गरिदिएँ तर सबै सम्पत्ति कुम्ल्याएर ऊ त अर्कैसँग पोइल हिँडी । बाँकी जायजेथाले यही पसल थापेर गुजारा गर्दै छु ।’
‘कत्तिको फाइदा हुन्छ त ? छोराछोरी पनि छन् कि ?’ उसले सोध्यो । ‘ऊ त्यही एउटा छोरो छ’ उसले नजिकै बसेको सिँगाने केटोतिर देखाएर भन्यो ‘के ढाँट्नु हजुर जति ठग्न सक्यो उत्ति फाइदा हुन्छ तर आफ्नो नठग्ने बानी पर्‍यो ।’ उसको कथा सुनेपछि उसलाई कथामा कुनै दम भएजस्तो लागेन र ऊ उठ्यो ।
सहिद मञ्चअगाडि ठूलो भिड देखेर ऊ त्यतै लाग्यो । आयुर्वेदिक औषधिको विज्ञापन दिँदै औषधि बेच्ने कराइरहेको थियो । केटाकेटीदेखि बूढाबूढीसम्म धेरैथरीका मान्छेहरू उसको कुरा ध्यानपूर्वक सुन्दै थिए र कसैकसैले औषधि किन्दै थिए । भिडलाई उसले धेरैबेर निरीक्षण गर्‍यो । पाकेटमारहरू सिधासाधाको जेब तहलाउन मग्न थिए । औषधि बेच्ने मान्छे भने फलाकिरहेको थियो ‘खाएर हेर्नुस् हजुर स्वप्नदोष, अमिलो डकार, शीघ्रस्खलन, खानामा अरुचि, सबका लागि, साठी वर्षको बूढो तन्नेरी । नभए पैसा फिर्ता ।’
यो समय कुनै सार्थक काममा लाए देशलाई समेत फाइदा हुन्थ्यो । वाहियात मान्छेहरू † मनमनै उठेको रिस दबाउँदै ऊ भिडबाट अलग्गियो ।
रत्नपार्कबाट आउँदा–आउँदै उसको एक जना नेतासँग भेट भयो । नेता भर्खरै मात्र नयाँ पार्टीमा प्रवेश गरेका थिए । राजनीतिको सुपरबम्परमा उसलाई थुप्रै चलअचल सम्पत्ति चिठ्ठा परेको थियो । औपचारिकतावश कथा खोज्दै हिँडेको उसले नमस्ते टक्र्याएपछि नेताजीले त्यो ग्रहण गरेको मुद्रामा टाउको हल्लायो र तुरुन्तै भाषण सुरु गर्‍यो ‘बुझ्नुभयो ? सबले आफ्नो काम इमानदारीपूर्वक निर्वाह गर्ने हो भने यो देश साह्रै सम्पन्न बन्नसक्छ । भ्रष्टाचार, घुसखोरी गर्नेहरूलाई त माफ गर्नुहुन्न ।’
यतिखेर उसले प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको आख्यान छाँट्यो यद्यपि कुनै समयमा ऊ यथास्थितिवादी भएर एक्लो बृहस्पति बनेको पनि थियो । छोराछोरीहरू विदेश पढ्थे, स्वास्नीको उच्च ओहोदाको जागिर, सहरहरूमा घरघडेरी, यी सम्पन्नतामा उसको जीवन अत्यन्त सुखपूर्ण थियो । यी सब प्राप्ति मौसमअनुसार आफूलाई बदल्न सक्ने विशेषताले प्राप्त भएको थियो उसलाई ।
‘ल चुरोट पिऊँ न’ नेताले उसलाई ५५५ चुरोट दियो किनभने उसले ध्यानपूर्वक नेताका कुरा सुनेजस्तो गरेको थियो । सुनेजस्तो यस अर्थमा कि टाउको हल्लाइरहे पनि उसले मनमनै भने कथाकै बारेमा सोचिरहेको थियो । नेताको कुरा सुन्दा–सुन्दा उसलाई पट्यार लागिसकेको थियो भागिहाल्न भने सकेको थिएन किनभने यतिखेर ऊ नेताजीबाट प्रदत्त चुरोटको धुवाँ उडाउँदै थियो । भाषण अविरल बगिरहेको र नरोकिने छाँट देखेपछि भाग्ने जुक्ति सोच्न थाल्यो उसले ।
‘कति बज्यो हजुर ?’ भनेर उसले नेताजीलाई सोध्यो र यो क्रम पाँच–पाँच मिनेटमा दोहोर्‍याइरह्यो । धेरैपछि नेताजीले उसको आसय बुझे । छुट्ने बेलामा उसले फेरि अभिवादन टक्र्यायो । यसपटक भने नेताले एउटा हात थोरै उठाए र भने ‘यसपटक पुनर्गठन हुने छाँट छ, आउनुस् न यसो’ इसारैइसारामा उसले कुरो बुझ्यो र अलिकति मुस्कुरायो । नेताजीको कथा लेख्दा एउटा रमाइलो कथा बन्ने सोचेर उसको चेहरा खुसीले बिहानीको शीतझैँ चम्कियो र एकै क्षणमा दिउँसोको शीतझैँ बिलाएर गयो । कथा उसकै हो भन्ने थाहा पाएपछि नेताले उपद्रो मच्चाउन सक्थ्यो र यो खतरा ऊ मोल्न सक्दैनथ्यो ।
रत्नपार्क आएर ऊ धेरैबेर टोल्हाइरह्यो भोकको आगो पेटभरि दन्किरहेको थियो र त्यसलाई निभाउने ऊसँग कुनै उपाय पनि थिएन । आउने जाने बसको धुवाँले उसलाई झन् पिरल्यो । ‘यत्रो प्रदूषण हुँदा पनि सरकार आँखा चिम्लिरहन्छ’ ऊ मनमनै दिक्क भयो । यसैबेला पछाडिबाट कसैले उसलाई धाप दियो । ऊ झसंग भएर फर्केर हेर्‍यो, एउटी नखरमाउली अधबैँसे पछाडि उभिएकी थिई ।
उसले हाँस्तै भनी ‘दाइ बस गन्दै हुनुहुन्छ कि क्या हो ?’ उसले कुनै जवाफ दिन सकेन । ‘यति वर्ष बितिसक्दा पनि तिमी त उस्तै तरुनी छ्यौ उर्मिला ।’ उसले फुक्र्यायो किनभने भोकले पेटमा आगो दन्किरहेको थियो । नभन्दै उसको निसाना ठीक ठाउँमा लाग्यो । उर्मिलाले भनी ‘उफ् † कस्तो गर्मी हिँड्नुस् चिसो पिऊँ ।’
ऊ मनमनै खुसी भयो र यो भाव लुकाएर लुरुलुरु पछि लाग्यो । ‘अँ, यो गर्मीमा कहाँ हिँड्नुभएको दाइ ?’ उसले सोधी । क्याम्पसमा सँगै पढ्दा परिचय भएकी बहिनी थिई उर्मिला । ‘कविता–सविता पनि लेख्दै हुनुहुन्छ कि ?’ उसले पुन: सोधेपछि उसले ढाँट्नु मनासिब ठानेन र भन्यो ‘त्यै त उर्मिला एउटा कथा खोज्दै हिँडेको बिहानदेखि ।’
उर्मिलाले तलदेखि माथिसम्म हेरी उसलाई र खितितिती हाँसी, यसैबेला बेयराले चिसो लिएर आएकाले राहतको अनुभव गर्‍यो उसले । ‘कहाँ–कहाँ खोज्नु भयो त कथा ? यतै खुलामञ्च, रत्नपार्कतिर ?’ ऊ फेरि जोडले हाँसी र सम्हालिँदै भनी ‘यसको मतलब ऋतुले अरू दु:ख पाउँदै छे । त्यो पनि साह्रै सोझी मान्छे त्यही कथाकविताको पछि लागेर तपाईँसँग बिहे गरी, अहिले रुन्छे होली ।’ उसले चिसो पिउँदै थपी – अचेल त कारमा घुमेर, एअर कन्डिसन भव्य महलमा बसेर, टिभी हेरेर कल्पनाको भरमा लेखेका कथाहरू मात्रै राम्रा हुन्छन्, तपाईं यो के दु:ख भोग्दै हुनुहुन्छ दाइ ?’ ऊ अवाक् टोल्हाइरह्यो ।
उसले आफ्नो प्रगति सुनाई घर, मोटर सबै साधन आफूसँग भएको बताई र भनी— ‘पुरुषहरूलाई हातका खेलौना बनाएर म त आनन्दको जीवन बिताइरहेकी छु । पार्टीको केन्द्रीय नेता छु जति ठूलो काम पनि मेरो एक फोनले हुनसक्छ नत्र सिधासाधा हिसाबले त यहाँ बाँच्नै पो गाह्रो हुन्छ ।’
उर्मिलासँग छुट्टिएपछि साँझ झमक्क पर्न थालिसकेकाले ऊ बसमा चढ्यो । सारा दिन कथाको लागि भौँतारिएर हिँड्दा पनि रित्तै हात घर फर्कनुपर्दा उसलाई दु:ख लागिरहेको थियो । उर्मिलाकै कथा लेख्ने हो भने पनि यो कथा समाजका लागि अनैतिक शिक्षा पनि हुनसक्थ्यो । थोरै नमिलेमा, र उसले समालोचनाको तीव्र प्रहार खप्नुपर्ने डर थियो । केही उपाय नचलेपछि दिउँसोभरिका टुक्रा जोडेर भए पनि तयार गर्नुपर्ला भनेर सोच्दासोच्दै केही मान्छेहरू उसलाई धक्याउँदै स्वास्नीमान्छे उभिएतिर गए । बसमा स्वास्नीमान्छेहरूको वरिपरि लोग्नेमान्छे महमा भिँmगा झुम्मिएझैँ झुम्मिरहेका थिए । ‘लोग्नेमान्छेको कमजोरी स्वास्नीमान्छे हो, उर्मिला ठीकै भन्छे’ उसले मनमनै सोच्यो । बसमा लेखिएको ‘पाकेटमारदेखि होसियार’ देखेर उसलाई रमाइलो लाग्यो । होसियार रहनलाई पकेट गह्रुँगो नभएपछि ऊ निश्चिन्त रहेर भीडमा ठेलमठेल गर्दै कोठामा आइपुग्यो ।
झ्यालबाट बाहिर हेरिरहेकी स्वास्नीलाई उसले मायालु पाराले बोलायो, किनभने दिनभरिको निरर्थक घुमाइको प्वाल टाल्नुथियो उसलाई । ‘के हेरेकी ऋतु झ्यालबाहिर के देखिन्छ र झमक्क साँझ परेपछि ।’ स्वास्नीचाहिँ नफर्केरै बोली– ‘अँध्यारो ।’ कोठामा धेरैबेर सन्नाटा छाइरहेपछि दुवैलाई असजिलोको अनुभूति भयो ।
‘किन यो घरबार अस्तव्यस्त पार्नुहुन्छ हजुर ? किन सधैँ रुवाउनुहुन्छ मलाई ? त्यतिखेर क्याम्पसमा तपाईंले भनेका कुराहरू त किताबमा पढेको कथाजस्तै भए ।’
ऋतुले रुँदै भनेपछि कथाको नाम सुनेर ऊ झसंग भयो । दिउँसोभरि कथा खोज्न हिँडेर उसले गल्ती गरेझैँ लाग्यो । अतीतका ती दिनहरू कति सुखद् थिए । कति ठुल्ठूला सपनाहरू देखाएको थियो ऋतुलाई उसले । ऋतुकै लागि आफन्तहरू पराई भए, पुरानो घर बिरानो भयो । तर, ऋतुलाई नै खुसी र सन्तुष्टि दिन सकेन उसले । अभाव, पीडा र प्रेमको यति यथार्थ कथा छोडेर अन्तै भौँतारिएकोमा उसलाई पश्चात्ताप लाग्यो । आफ्नो कथा नै सबैभन्दा महत्त्वपूर्ण र मार्मिक कथा हुँदोरहेछ मान्छेको । कथा भेट्टाएकोमा ऊ मुसुक्क मुस्कायो । यो देखेर स्वास्नीचाहिँ झन् डाँको छाडेर रुन थाली । ‘तपाईँ त झन् हाँस्नुहुन्छ’ नजिकै आएर उसले निधार छामी र रुन थाली । रुवाइ सुनेर छिमेकीहरूका झ्याल खुले ।
‘हेर † हरहर्ती ज्वरो आइरहेको छ, लामो–लामो दारी, मैला कपडा, बहुलाजस्तै दिनभरि बरालिनुहुन्छ भोकै । अबेरसम्म भान्सा कुरेर बसेँ । यता खानलाई अन्न छैन, छोरी बिरामी छे । आफ्नो भन्नु कोही छैन सबै बलेको आगो ताप्छन् । मलाई त हजुर बौलाउनुहुन्छ कि भन्ने डर लाग्छ र सारा दिन रोएर बिताउँछु ।’
ऋतु आफ्नै सुरमा बोल्दै थिई । उसले भने पकेटमा राखेका औचित्यहीन बेरोजगारी दिने सर्टिफिकेट तान्यो र पछाडिपट्टि कथाको शीर्षक लेख्यो ‘कथा ।’
…र, हुनसक्छ यो त्यही कथा हो जुन तपाईंलै भर्खरै पढेर सकाउनुभयो ।
(प्रकाशोन्मुख कथासंग्रहबाट)

प्रतिक्रिया