मत-विमत

मेरो मनमा होइन दिमागमा गोबर छ

सौर्य अनलाइन २०७० वैशाख १४ गते १:५५ मा प्रकाशित

swapnil-2युवा पुस्ताका सशक्त कविमध्ये पर्छन्, स्व. स्वप्निल स्मृति । पाँचथर स्याब्रुम्बामा जन्मिएका सनमान चेम्जोङ नै साहित्यिक जगत्मा स्व. स्वप्निल स्मृतिका नामबाट चिनिन्छन् । राजधानीलाई कर्मथलो बनाउँदै आएका उनी कवितामा प्रयुक्त रंगवादका अभियन्तामध्ये पर्छन् । ‘रंगैरंगको भीर’
(२०६१) र ‘बाडुली र सुदूर सम्झना’ (२०६८) गरी दुई कवितासंग्रह बजारमा ल्याइसकेका स्वप्निल ‘कलम’सँग यसरी पोखिए :

भनिन्छ, रंगवादीहरू सर्वसाधारणले नबुझ्ने कवि हुन् । कुरा साँचो हो ?
बेलाबेला गुनासोहरू आउँछन् । तर, तपाईंले भन्नुभएको ‘सर्वसाधारण’बाट होइन, बरू स्वघोषित बौद्धिक भनाउँदाहरूबाट । नेपाली कविताको ठेक्का लिएजस्तो गर्ने जो छन् नि उनीहरूबाट † कविता यस्तो हुनुपर्छ भनेर व्याकरण बनाएर बस्ने जो जमात छ, रंगवादले उनीहरूको व्याकरणलाई भताभुंग बनाइदियो नि त…।
तपाईंका कवितामा शब्द–अर्थको पारपाचुके हुने भएकाले ध्वनि र संकेतका भरमा तिनलाई बुझ्नुपर्ने बाध्यतामा पाठकहरू पुग्छन् नि ?
सबैभन्दा पहिले त ‘शब्द अर्थ’ भन्नु नै ध्वनि र संकेत हो । तपाईं ‘रूख’ भन्नुहुन्छ, ध्वनि हो, अक्षरमा लेख्नुहुन्छ संकेत हो । ‘रूख’ भन्दा नेपाली कांग्रेसको चुनाव चिह्नका रूपमा पनि बुझ्नुहुन्छ भने त्यो अलिअलि कविता हो । शब्द कवितामा पुगेपछि नयाँ र विस्तारित ‘अर्थ’ लिएर बस्छ । त्यतिखेर बुझिएन भन्नेलाई त मतपत्रको रूख चिह्न नै देखाउनुपर्ने हुन्छ । मलाई लाग्छ, सबै पाठकहरू त्यस्तो बाध्यात्मक अवस्थामा नहोलान् । अर्को कुरा कलाका दृष्टिले कवितामा ध्वनि या संकेतको प्रयोग गर्नु नराम्रो होइन ।
मिथकहरूको भरमार प्रयोग र बहुल अर्थ दिने शब्दको भिडमा तपाईंका कविता रुमल्लिएजस्तो लाग्दैन ?
मेरा कवितामा कसैले ‘मिथकको भरमार प्रयोग भयो’ भन्छ भने म उसको मस्तिष्क नै मिथक भइसकेको ठान्छु । किनभने म ठीक–ठीक ठाउँमा आवश्यकताअनुसार मात्र मिथलाई खेलाउँछु । मिथ खेलाउनु एकदम जोखिम छ । बहुलअर्थी शब्दको जवाफ त अघि नै आइसकेको छ ।
तपाईंको किताब ‘रंगैरंगको भीर’, धर्मेन्द्रविक्रम नेम्बाङको ‘भीरैभीरको रंग’ र चन्द्रवीर तुम्बापोको ‘भीरैभीर रंगैरंग’को नाम मिल्न खोज्नु संयोग हो वा यो पनि रंगवादीहरूको नौलो प्रयोग ?
संयोग त कसरी भनौँ ? जानीजानी नै गरेको हो । नौलो प्रयोगको दाबी पनि नगरिहालूँ, प्रयोग मात्रले पनि काम चलिहाल्छ । यो ‘बायोनरी अपोजिसन’को कुरा हो ।
नेपाली साहित्यको पछिल्लो प्रवृत्ति कस्तो छ ?
नेपालीका मस्तिष्कमा अहिले आ–आफ्नै मिथ खेल्न थालेका छन् । आ–आफ्ना आदिम पुर्खा, यहाँको प्रकृतिसितको आदिमसम्बन्ध र अपनत्वलाई खोतल्न थालेका छन् । त्यसको जगमा उनीहरू समृद्ध नेपालको सपना देखिरहेका छन् । त्यसको राजनीतिक प्रकटीकरण हो– संघीयता । यसमा आत्मसम्मान र परिचय जोडिएका छन् । अहिले नेपाली समाज अभूतपूर्व रूपले सल्बलाएको छ । मेरो कल्पना हो, पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारका क्रममा अरू राज्यमाथि लडाइँ थोपर्दा मात्र सायद यस्तरी नेपाली समाज हल्लिएको थियो । भन्नुको मतलब नेपाली समाज अहिलेचाहिँ भावानात्मक एकीकरणको बाटोमा छ । अबको नेपाली साहित्य मोडिनुपर्ने पनि त्यतै हो, स्टेयरिङ घुमिरहेको जस्तो छ ।
कविताको स्तर खस्किएजस्तो लाग्दैन ?
लाग्दैन । बरु बढिरहेको देख्छु । यहाँका विविधता, यहाँका इन्द्रेणी, संस्कृतिको सौन्दर्य बल्ल नेपाली साहित्यले प्राप्त गर्न थालेको छ । यसले नेपाली साहित्यको स्तर र चरित्रलाई उजिल्याउनेछ ।
भूपी शेरचनपछि नेपाली कविता मूच्र्छा परेको भनाइ सत्य हो कि होइन ?
वास्तवमै भूपि शेरचन महान् कवि हुन् । एउटा कुरा मान्नुपर्छ, बिदा भइसकेका महान् मानिसहरूलाई जित्ने अर्को महान् मानिस कहिल्यै जन्मिँदैन । र, यो पनि मान्नुपर्छ, उनीहरूको बिदाइपछि पनि सृष्टिले सास फेरिरहन्छ । मूच्र्छै परेको म मान्दिनँ ।
तपाईंको कवितासंग्रह ‘बाडुली र सुदूर सम्झना’ नश्लीय उग्रचेतनाको उपज हो भन्ने धेरै छन् नि ?
हा हा हा…, यो जहाँ पनि मलाई सोधिने अनिवार्य प्रश्नजस्तै भइसक्यो । यो प्रश्नको उत्तर तपार्इंले नै दिनुपर्‍यो भने तपाईंको उत्तर हुनेछ– आरोप मात्र हो, त्यस्तो छैन ।
तपाईंको मनमा सुगन्ध मात्र होइन, गोबर पनि होला । तर, कवितामा निकै इमानदार देखिनुहुन्छ । यो हिप्पोक्रेसी होइन ?
मनमा होइन, दिमागमा गोबर छ । आफैँ अन्दाज लगाउनुहोस्, कति गोबर हुँ, ‘हिप्पोक्रेसी’ भन्ने नै बुझिनँ । त्यही भएर कवितामा इमानदार भएको हुँला ।
तपाईं कुन दर्जाको लेखक ?
आफँैलाई कसरी दर्जा दिऊँ ? खगेन्द्र संग्रौला दाजु र राजेन्द्र थापालाई थाहा होला कि †
तपाईं कुन गुटको लेखक ?
जो राम्रो लेख्छ त्यही गुटको हो ।
कस्ता कविता मन पर्छन् ?
विचार र कला दुवै दृष्टिले अब्बल ।
कविता लेख्न अध्ययन बढी सहायक हुन्छ कि अनुभूति ?
विनाअध्ययन अनुभूतिको पृष्ठभूमि बन्दैन । ह्युगो चाभेजलाई गहिरोसँग नपढी उनको निधनलाई गहिरोसँग अनुभूत गर्न सकिँदैन ।
पाँच उत्कृष्ट कविता र कविका नाम ?
सबैभन्दा गाह्रो प्रश्न हो यो । गोपालप्रसाद रिमालको ‘आमाको सपना,’ भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे,’ बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण…’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ र पारिजातको ‘जुठी दमिनीको अभिव्यक्ति’ । तर, म पारिजातलाई कविभन्दा उपन्यासकारकै रूपमा बढी मान्छु ।
कविको मापन उसको कविताको स्तरले गर्छ कि नामपछाडि (तपाईंको सवालमा अगाडि) झुन्डिएको टाइटलले ?
यसको उत्तर पाठकहरूलाई नै छोडिदिऊँ ।
तपाईंलाई कहिलेकहीँ आफैँसँग लाज अथवा घिन लाग्दैन ?
लाग्छ । जस्तो कि यसरी अन्तर्वार्ता दिइरहँदा मलाई लाज लाग्छ । पछि अन्तर्वार्तासँगै कहीँ नभएको म अनुहार न दनुहारको तस्बिरसमेत छापिएर आउँदा घिन लाग्छ ।
‘ब्राह्मण स्त्री देख्नासाथ म उत्तेजित हुन्छु’ भन्नुभयो । के जनजाति स्त्री कामुक हुँदैनन् ?
‘ब्राह्मण स्त्री देख्नासाथ म उत्तेजित हुन्छु,’ यसरी भनेको छैन, प्रेम गर्छु भनेको छु । पुस महिनाको गरिमा मासिक हेर्न सक्नुहुन्छ । नयाँ/नौलो/नवीन स्तम्भमा ममाथि फिचर बनाउनुहुने राजकुमार बानियाँजी हो । सम्पादक अविनाश श्रेष्ठ दाइ † हुँदै नभएको कुरालाई केही वाहियात कविहरूले अविनाश दाइमाथि षड्यन्त्र रच्न हतियार बनाएका मात्र हुन् । मलाई अलिक दुब्लो पातलो देखेर त्यसो गरेका होलान् । तर, म कमजोर कवि होइन ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय