मत-विमत

फ्यान क्लब अफ रमेश क्षितिज

सौर्य अनलाइन २०७० जेठ ४ गते २:०६ मा प्रकाशित

Rameshकुनै समय सांसारिकताबाट मुक्ति खोज्दै जोगी भएर हिँडेको कल्पना गरिबस्ने रमेश क्षितिज पछि सुन्दर कविता र गीत लेख्न थाले । जोगी–जिन्दगीको मोह मनको कुनै कुनामा अझै जिउँदै छ रे † भन्छन्, ‘जोगीप्रतिको आकर्षण मसँगै जिउँदै छ । यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नै दुनियाँ छ मेरो ।’ नोस्टाल्जियामा रमाउनु उनको सुन्दर आदत हो । पछिल्लो कवितासंग्रह ‘घर फर्किरहेको मानिस’ले सहरमा उनका फ्यान बढेका छन् ।

तपाईं त ठूलो सेलिब्रेटी हुनुभा’छ नि । आफ्नो नाममा ’फ्यान क्लब’ नै गठन हुँदा कस्तो अनुभूति हुँदोरहे छ ?
म साधारण सपना बोकी हिँडेको मानिस हुँ । स–साना र सामान्य छन् मेरा खुसीहरू । महत्त्वाकांक्षाको बोझिलो भारीले नथिचोस् भन्छु । कुनै यस्तो समय थियो जब म आफू जोगी भएर हिँडेको कल्पना गरेर बसिरहेन्थँे, अझै त्यो आकर्षण मसँगै छ । अहिले यहाँ छु र जहाँ जहाँ लगेर जिन्दगीले उभ्याइदियो त्यहीँबाट हिँड्ने बाटो खोजेँ मैले । यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नै दुनियाँ छ मेरो । यसैले हो लेखन यात्राको करिब पच्चीस वर्षपछि मात्र जीवनमा पहिलोपल्ट एकल कविता वाचन भयो मेरो । ‘घर फर्किरहेको मानिस’ले मलाई धेरै आत्मीय र प्रिय मानिसहरू भेटाइदियो । सबैभन्दा सुन्दर र पवित्र ह्दयका मानिसहरू मेरा लागि तिनीहरू थिए जसले मेरो नामको फ्यान क्लब नै खोलेर कार्यक्रमनै आयोजना गरे, प्रेम, सम्मान र आत्मीयता दिए । कुन लेखक होला जो आफ्ना रचनाले अरूको ह्दयलाई छँदा खुसी नहोस् †
जीवनलाई कसरी बुझ्नुभएको छ, भोग्नुभएको छ ?
अनन्त: यात्रामा हिँडेको बटुवा जस्तो लाग्छ आफू मलाई । घामछायाँ, उकालीओराली, बिसौनी र चौतारी, मोड मोडमा भेटिने र छुट्टिने मानिसहरू । तर, जीवन एकदम सुन्दर छ । सपनामय छ । जीवन कलापूर्ण होस् । अर्थपूर्ण होस् । यस्तो लागिरहन्छ । दु:ख र पीडाहरू होलान् अभाव र संघर्ष होलान् तर तिनीहरू नै हुन जसले जीवनलाई थप रहस्य र सौन्दर्य थपिदिन्छन् । तर, जीवन हो अझ आफैँभित्रको यात्रा ।
ओशोको सम्झना हुन्छ– लाइफ इज इटरनल पिल्ग्रिमेज, देयर इज नो गोल इट इज अ प्योर जर्नी । अनेक जीवन पाए पनि बुझिनसक्नु छ एक बारको जीवन ।
नेपाली साहित्यको पछिल्लो प्रवृत्ति कस्तो छ ?
पछिल्लो प्रवृत्ति अझ बढी आकर्षक र बहुल छ । हाम्रो लेखनमा हाम्रो संस्कृति स्वभाव र जीवनपद्धति प्रतिबिम्बित हुनुपर्छ र नै त्यो हाम्रो हुन्छ, मौलिक हुन्छ । आख्यान एकदमै लोकप्रिय भइरहेको छ भने शक्तिशाली र कलात्मक धार भएका बिम्ब कविताहरू पाठकका प्रिय कविता बनेका छन् । साहित्यले पाठकहरू निर्माण गरिरहेको यो अवस्थामा लेखनमा मौलिकता, विविधता, नवीनता आइरहनुपर्छ ।
तपाईंका कवितामा के ग्ल्यामर छ, जसले पाठकलाई निकै मोहित गरिरहेका छन् र तपाईंका नाममा ‘फ्यान क्लब अफ रमेश क्षितिज’ नै गठन भइरहेका छन् ?
यो ग्ल्यामर शब्द मेरो कविताका लागि कति मेल खान्छ मलाई थाहा छैन । म केही लेख्न चाहन्छु । कवितामार्फत विशेष आशा उत्साह, प्रेम र सपनाहरू । निरास र दु:खमा पनि मेरा कविताहरू असल मित्र जस्तो बनून्, रुँदा आँसु पुछिदिऊन् र भनून्– ‘जीवनको उज्यालो बाटो नबिर्स ।’ कविता होस् रमण महर्षिको मौनता जस्तो केही नभनेर सबै भनिने । वा लाओत्से जस्तो रहस्यमय, जतिनै पढे पनि प्रत्येकपल्ट नयाँ होस् अनुभूति । मेरा मित्र कवि मनु मन्जिलले ‘घर फर्किरहेको मानिस’को बारेमा कतै लेखेका छन्– प्रेम अध्यात्म र नोस्टाल्जिया छ मेरा कविताहरूमा । कवि हरि अधिकारीले मौनता र भाषाको कुरा गर्नुभएको छ । सायद यस्तै– यस्तै ।
तर, किन मन पर्छ कुनै मानिस वा कविता तर्कहरूले पुष्टी गर्नु गाह्रो यसर्थ छ कि भावना हिसाब होइन ।
पछिल्लोपटक पढेका किताब ?
सम्यक प्रकाशनका बुद्ध धर्म र दर्शनसम्बन्धी केही किताबहरू ल्याएको छु । तिनीहरू पढिरहेको छु अचेल । ओशोको ‘अपने मालिक आप’ को बीचमा पीपलको पातको बुकमार्क च्यापिएर बस्दा बस्दै भूपिनको ‘चौबिस रिल,’ दीपक सापकोटाको ‘लोकेसन’ र दलाई लामाको ‘द आर्ट अफ ह्यापिनेस’ पढेर सकाएँ । सिरानेछउ पढ्न बाँकी किताबहरूको लामो चाङ देखेर सकसक लाग्छ तर जीवनले असारको १५ भोगिरहेछ यतिखेर ।
पछिल्लोपटक सुनेको कुनै संगीतको सम्झना छ ?
म संगीत एकदमै मन पराउने मानिस हुँ । मधुरो स्वरमा गीत बजाएर लेख्नु, पढ्नु वा यसै पल्टिदिनु साह्रै आनन्ददायक लाग्छ मलाई । कतै परीक्षाको बेला पनि म गीत सुनेर पढ्थँे राति अबेरसम्म । मेरो यस्तो बानी थाहा पाउने केही असल प्रियजनहरूले ईमेल गरेर, पेन ड्राईभ वा सिडीमा दिएका गीतहरू सुन्दै साँझ बिताउँछु म प्राय: ।
हिजो राति मात्रै कैयौँपटक दोहोर्‍याउँदै सुनेका मेरा प्रिय गीतहरू थिए–यसैगरी बिताइदिन्छु दुई दिनको जीन्दगी/ इश्क सुफियाना/तुम को देखा तो ए ख्याल आया र कभि ख्वाबोमे मे या खयालोमे …
बाल्यकालको कुनै प्रसंग ?
रिठ्ठा काटेर बनाएका कौडा खेल्थ्यौँ हामी । गुच्चा, खोपी प्रिय खेल थिए बाल्यकालका । मेरो घरबाट स्कुल पुग्ने बाटो करिब ४५ मिनेटको थियो, हातको धूलोबाट गुच्चा खेलाडी प्रमाणित भएमा सजायभागी भइन्थ्यो । तर, स्कुल जाँदा पनि हामी बाटोभरि गुच्चा खेल्दै स्कुल जान्थ्याँै, इजार घुसार्ने ठाउँमा वा झोला उधारेर गोप्य सुरुङ जस्तो ठाउँमा गुच्चा लुकाएर हिँड्थ्याँै हामी । गुच्चामा म राम्रै कहलिएको खेलाडी थिएँ । ढ्याक, पैसा सधैँ त हुँदैनथ्यो बाजी राख्नलाई । ‘गुच्चा छुँदैनछो है आजदेखि’ बुबाले बिहान स्कुल जाँदा भन्नुभयो । ‘मैले त उहिले छोडिसकेँ, अहिले पढाइ, लेखाइतिर मात्र ध्यान छ मेरो । बरु लेख्न कापी सकिएको थियो’ मैले भनेर नयाँ कापी बोकेर स्कुलतिर हिँडँे । बाटोमा कापीको पाना बाजी राखेर खेल्दै हिँड्दा स्कुल पुग्दासम्म आधा बाँकी रह्यो हारेर । स्कुलमा पढाएको भन्दा मेरो ध्यान कतिखेर स्कुल छुट्छ र जितेर पाना फर्काउँला भन्ने चिन्तामा बित्यो । खेल्दै फर्कँदा त्यो दिन दाउले यसरी धोका दियो कि हार्दाहार्दा म रुन्चे त्रसित अनुहार र ‘सोले’ लेखिएको बाहिरी पाना मात्र लिएर घर फर्केँ । नसोध्नो’स् कसरी मर्मत भयो मेरो ।
आफ्ना फ्यानहरूलाई के भन्नुहुन्छ ?
धेरै असल मानिसहरू छन् दुनियाँमा र बाँच्नलायक छ यो पृथ्वी । मेरा कविता मन पराउने प्रिय मानिस मेरो लेखनका ऊर्जा हुन् । जीवनको मोडमा अनेक अद्भुत मानिस भेटेको छु मैले । कविताले बनाएको सम्बन्ध अटूट र अमीट भएका  पनि छन् । भन्नलाई अरू के भनुँ, धन्यवाद र मेरो प्रेम †
अब के गर्दै हुनुहुन्छ ?
पहिले म कथाहरू पनि लेख्थेँ । लगभग पूर्व प्रकाशित मेरा ती कथाहरू र केही नयाँ कथाहरूको पाण्डुलिपि तयार छन् । केही थप नयाँ कथाहरू समेटुुँ भनेर अलिक ढिलो गरेको छु । सम्भवत: छिट्टै प्रेसमा जान्छ होला । नयाँ कविताहरू पनि लेख्दै छु । त्यसो भनेकोचाँहि मेरो तेस्रो कविता संग्रहको तयारी पनि हो । तर, केही वर्षचाहिँ लाग्छ ।
तपाईंले पछिल्लो समयमा सिकेको कुनै पाठ ?
‘भाग्न धेरै कठिन रहेछ ।’

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय