प्रवास

प्रहरीको सक्रियतामा फेरि रोकियो बालविवाह

सौर्य अनलाइन २०७१ फागुन २८ गते ७:४५ मा प्रकाशित

चौतारा, २८ फागुन । सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसमा बिहीबार हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।

फुल्पिङडाँडा–२ लप्से निवासी १५ वर्षीय तामाङ समुदायको किशोर र माङ्खा–६ अँधेरी निवासी १७ वर्षीया किशोरीका बीच हुन लागेको बालविवाह रोकिएको हो । उक्त गाविसमा कार्यरत महिला आत्मनिर्भरता केन्द्रकी सामाजिक परिचालिका पार्वती अधिकारीले बाल विवाह हुँदै छ भन्ने जानकारी जिल्ला बालकल्याण समितिमा गराएकी थिइन् । समितिको आग्रहमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको टोलीले छरछिमेकी, स्थानीय भद्र भलाद्मी सबैलाई भेला गराई सम्झाइबुझाई गरेपछि विवाह रोकिएको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए ।

केही दिनअघि यस जिल्लाको मेलम्ची नगरपालिका–८ सिन्धुकोटमा भएको बाल विवाहलाई प्रहरीले हस्तक्षेप गरेर रोकेको थियो ।

प्रतिक्रिया