अन्तर्वार्ता

“सरकारले अनुमति देओस्, हामीसिंगै गाउ बनाइदिन्छौ”

सौर्य अनलाइन २०७२ जेठ १४ गते ६:३० मा प्रकाशित

Photo-Chamina-Storyहामीसँग धेरै सामान छ । गाउमा पीडितसम्म पुरााउनु जरुरी छ । तर, सरकारले पछिल्लो समय एकद्ववार प्रणाली भन्यो । अहिले भारतबाट आएको सामान नेस्नल टेडिङ वा खाद्य संस्थानमा राख्नुपर्छ । त्यहाबाट सबै प्रक्रिया पुरााएर निस्कनै चार पाच दिन लाग्छ । गाडीको भाडा हरेक दिनको जोडिदै जान्छ । साथै गाडीचालकलगायत स्टाफको खर्च पनि जोडिन्छ । यता पुग्नुपर्ने पीडित भए ठाउमा समयमा सामान पुग्दैन । यदि, हामीबाट गल्ती भएको छ भने प्रस्ट भनिदिनुपर्छ । नत्र राहतमा आएको सामान सहज रूपमा जनतालाई दिन किन ढिलाइ गर्ने भन्ने लागेको छ । 

देशमा महाभूकम्प गएको महिना दिन भयो । योग पीठले भूकम्प–पीडितका पक्षमा धेरै काम गरेको छ । मानवीय सेवाबाहेक अरू कुनै कारणले सेवा गर्नुभएको हो ?

पञ्तजली योग पीठले स्थापना देखिनै निःवास्र्थ भावले कुनै न कुनै रूपमा मानवीय सेवा गर्दै आएको छ । यो विशुद्ध समाजिक संस्था हो । हामी मान्छेलाई आपतविपत् गर्दा सहयोग गर्नुपर्छ भन्ने मान्यतामा विश्वास गछौँ । पञ्तजली योग पीठको जन्म नै मानवीय सेवाका लागि भएको हो । हामीले जे गर्‍यौँ र गर्दै छाँ त्यो सबै मानवीय भावनाले गरको हो । यसबाट हामीला केही पाउँला भन्ने छैन ।

स्वामी रामदेव जुन उद्देश्यले नेपाल आउनुभएको थियो त्यो पूरा हुन सकेन भन्ने लाग्दैन ?

टुँडिखेलको खुला मैदानमा योग शिविर चल्दै थियो । दोस्रो दिनको मध्यानमा महाभूकम्प गयो । त्यो दुखद अवस्थामा दायाँबायाँ नहेरी जहाँबाट सकिन्छ मानवीय सेवा गर्नुपर्ने अवस्था थियो । गुरु र आचार्यको भावना आदेशले हामीले काम गर्‍यौँ । जसजसले ज्यान गुमाउनुभयो त्यसमा सिँगो पीठ दुःखी छ । त्यो दुखद अवस्थाबाट जतिलाई भगवान्ले बचाउनुभयो, उनीहरूलाई दुखमा परेको जनता र देशको सेवा गर भनेर बचाउनुभएको हो भन्ने लागेको छ । त्यही आधारमा हामी पीठको माध्यमबाट आफ्नो देश र जनताको सेवा गर्दै छौँ । यति बेला यो हाम्रो लागि माथिबाटै आएको आदेश हो भन्ने लागेको छ ।

पीठको उद्देश्य योग हो कि समाजसेवा ?

नेपालमा योग पीठ स्थापना भएको दश वर्ष भयो । यो कुनै न कुनै माध्यमबाट समाजसेवा गर्न स्थापना भएको हो । हरेक नागरीकले आफू बसेको समाजलाई कर्तव्यनिष्ठ भएर सेवा गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । समाजमा अधिकार खोज्ने धेरै छौँ तर आपू बसेको समाजप्रति कर्तव्यबोधले सेवा गर्न चाहने मान्छे कम छौँ । मुलुकको शान्ति सम्वृद्धि र सबै जनतालाई निरोगी बनाउने उद्देश्यसहित सञ्चालित संस्था हो यो । यसमा कसैको कुनै स्वार्थ छैन ।

भूकम्प गएयता पीठले गरेका कामलाई कसरी हेर्नुपर्ला ?

नेपाल भूमिमा जन्मेको नागरिक र ती नागरिकले सञ्चालन गरेको संस्थाले जे गर्नुपर्ने थियो गरेका छौँ । कसैले नसक्ने वा ठूलो चमत्कारी काम गरेका छैनौँ । यो हरेक नागरिकको दायित्व हो । हामीले पनि आफ्नो दायित्व पूरा गर्ने कोसिस गरेका छौँ । आफँ भित्रबाट आएको कर्तव्यबोधलाई पूर्णता दिएको मात्र हो । आफू जन्मेको देश, समाज र आफू वरपर बस्ने नागरिकका लागि केही गर्ने प्रयास गर्दै छौँ ।

भूकम्पपछि सेवाको क्षेत्र फरक भएको हो ?

सेवाको कुनै रूप वा क्षेत्र हँदैन । सेवा भनेकै अप्ठ्यारो पर्दा गर्ने हो । जहाँ जे पर्छ त्यही गर्नुपर्छ । पहिला हामी मान्छे निरोगी हुनुपर्छ भनेर योगविज्ञानको शिविर चलाउथ्यौँ । त्यो पनि मान्छेलाई निरोगी बनाउने एकप्रकारको सेवा हो । योगविज्ञानको शिविरकै सिलसिलामा योग गुरु रामदेव र आचार्य बालकृष्ण नेपालमा भएको बखत नेपाली माथि ठूलो प्राकृतिक विपत्त आयो । गुरुको कृपा र उहाँको आदेश चाहनाले हामीले योग शिविरलाई राहत शिविर बनायौँ । त्यसै बेलादेखि हाम्रो सेवा कुनै न कुनै रूपमा निरन्तर जारी छ । स्वामी रामदेव र आचार्य बालकृष्णजी पनि मानवसेवालाई प्रमुख ठान्नु हुन्छ । उहाँहरूको कृपाले सबै काम गरेका छौँ । उहाँहरू नेपालमा आएको विपत्ति र मानवीय एवं भौतिक क्षतिप्रति दुःखी हुनुहुन्छ ।

अहिलेसम्म तपाईंहरूको पीठबाट कति राहत वितरण भयो ?

हामीले वैशाख १२ देखि नै राहत वितरण सुरु गरेको हौँ । यो बीचमा साढे चार करोड ढुवानी भाडामा मात्र तिरेका छौँ । त्यसमा आएको सामान ३० देखि ४० करोडको छ । आएका राहत सामान प्रभावित जिल्लाको स्थानीय पीठको संयोजनमा वितरण भएको छ । सुरुको दिनमा आफैँले खाना पकाएर खुवायौँ । जिल्लामा रहेको पीठले त्यसको सबै व्यवस्था मिलायो । यहाँबाट दाल, चामल र पैसा पठायौँ । स्थानीय रूपमा पाइने तरकारीलगायत आवश्यक सामान खरिद गरेर उनीहरूले खाना खुवाए । चार पाँच दिनमा राहतको सामान आयो र वितरण सुरु गर्‍यौँ । हामी सामूहिक भावना जाग्रित होस भनेर पनि सबैलाई एकै ठाउँमा एकै प्रकारको खाना खुवाउन चाहन्थ्यौँ ।

प्रभावित ठाउँको गाविस कार्यलयको सिफारिसमा राहत वितरण गर्‍यौ । हामीले दिने सामानमा त्रिपाल, म्याट्रेस, कम्बल, दाल, चामल, तेल, मसला, भुजिया, तरकारी, नुन, साबुन, बेसारलगायत दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बाँड्यौँ । जतिसक्दो यसलाई प्रभावकारी र सहज रूपमा वितरण गर्न स्थानीय पीठलाई निर्दैशन गरेका थियौँ । त्यसैअनुसार सबै काम भयो ।

राहत वितरणमा कतिको समस्या झेल्नुभयो ?

अहिले पनि हामीसँग धेरै सामान छन् । गाउँमा पीडितलाई पुर्‍याउनु जरुरी छ । तर, सरकारले पछिल्लो समय एकद्वार प्रणाली भन्यो । अहिले भारतबाट आएको सामान नेस्नल टेडिङ वा खाद्य संस्थानमा राख्नुपर्छ । त्यहाँबाट सबै प्रक्रिया पुर्‍याएर निस्कनै चार–पाँच दिन लाग्छ । गाडीको भाडा हरेक दिनको जोडिँदै जान्छ । साथै गाडीचालकलगायत स्टाफको खर्च पनि जोडिन्छ । यता पुग्नुपर्ने पीडित भए ठाउँमा समयमा सामान पुग्दैन । बाँड्नुपर्ने ठाउँमा यताबाट स्लिप पठाउनुपर्ने, प्रमुख जिल्ला अधिकारीले बाँड्ने अनुमति दिएका छन् । हामीले बाँड्न ल्याएको सामान हो, कतै लादैनौँ । पीडितलाई बाड्छौँ । सहज रूपमा बाँड्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । यदि, हामीबाट गलत भएको भए प्रस्ट भनिदिनुपर्छ । नत्र राहतमा आएको सामान सहज रूपमा जनतालाई दिन किन ढिलाइ गर्ने भन्ने लागेको छ । अरू खासै समस्या भएन । पछिल्लो समय चाहेर पनि हामीले सहज रूपमा राहत पीडितसम्म पुर्‍याउन पाएका छैनौँ ।

पछिल्लो समय राहत वितरणको प्रक्रिया फरक भएको छ । त्यसमा तपाईंहरूको योजना के छ ?

यो सवालमा हामी प्रस्ट छौँ । सुरुमा हामी पनि पहिला खाना दिनुपर्छ भन्नेमा थियौँ । अब वर्षा लाग्न लाग्यो । मान्छेको दीर्धकालीन समस्या छ । घरबास छैन । यसका लागि हामीलाई सरकारले कुनै गाउँ जिम्मा देओस । हामी त्यो गाउँमा आवश्यक पर्ने सबै भौतिक संरचना बनाउँछौँ । स्कुल, पानि, बिजुली बाटो बनाउछौँ । त्यो एउटा नमुना गाउँ हुनेछ । जनताले कुनै गुनासो गर्ने वा अभाव महसुस गर्ने अवस्था आउने छैन । यसमा हाम्रो पनि माग छ । त्यो नमुनाको गाउँको नाम पञ्तजली गाउँ हुनुपर्छ । हामी सरकारसँग गाउँको नाम मात्र माग्न चाहन्छौँ । बाँकी सबै हाम्रो जिम्मा । राज्यले सहयोग गर्ने बाटो सहज बनायो भने हामी जे पनि गर्न तयार छौँ । जे आदेश आओस पूरा गरेर देखाउछौँ । यो ट्रस्ट हो, हामीले चलाउन नसक्दा यहाँको सबै सम्पत्ति सरकारको हुन्छ ।

तपाईंहरूले भूकम्पका कारण अनाथ भएका बालबालिकालाई पढाउने र बेरोजगारलाई रोजगार दिने कुरा गर्नुभएको छ । त्यो सम्भव छ ?

असम्भव केही छैन । हामी समाजमा सबै राम्रा चरित्र भएको मान्छे हुन भन्ने चाहन्छौँ । भूकम्पका कारण हजारौँ बालकालिकाले आफ्ना अभिभावक गुमाएका छन् । उनीहरूको भविष्यप्रति हामी गम्भीर छौँ । शिक्षा, दीक्षा, स्वास्थ्यलगायतको सवालमा पीठ गम्भीर छ । अनाथ बालबालिकालाई त्यसै छोड्ने हो भने भविष्यमा उनीहरू चोर, डाका, दुव्र्यसनी, जे पनि बन्न सक्छन् । यदि, उनीहरूलाई राम्रो शिक्षा दिन सकियो भने उनीहरू समाजको जिम्मेवार नागरिक बन्नेछन् । भूकम्पमा अभिभावक गुमाएका कुनै बालाबालिकाले अनाथ भएको अनुभूति नहोस भन्ने हाम्रो चाहना हो । त्यो चाहना पूरा गरेर देखाउन चाहन्छौँ ।

चुनौतीपूर्ण लाग्दैन काम ?

मैले यसलाई चुनौतीभन्दा अवसरको रूपमा लिएको छु । कालन्तरमा मेरा हजारभन्दा बढी छोराछोरी हुने छन् । डक्टर, इन्जिनिर, पाइलट, पत्रकार, समाजसेवी जस्ता अनेक ठाउँमा उनीहरूको उपस्थिती हुनेछ । उनीहरूले भविष्यमा असल शिक्षा र मार्गदर्शक गुरु पाएकोमा गर्व गर्ने छन् । म कुनै पनि दिन उनीहरूलाई आफन्त गुमाएको अनुभूति हुन दिने छैन । बुढेसकालमा बिरामी हुँदा मेरो वरपर हजारौँ छोराछोरी हुनेछन् । उनीहरूलाई हेरेर म सन्तुष्ट हुनेछु ।

विभिन्न समुदाय र संस्कारबाट आएका बच्चालाई एकै ठाउमा राख्न गाह्रो हुदैन ?

हुन्न, हामी जात, वर्ग, लिंगजस्ता कुरामा मान्छेलाई भेदभाव गर्नुहुँदैन भन्ने चाहन्छौँ । अहिलेको समाजमा यो वा त्यो भनेर भेदभाव गर्नु ठीक होइन । अहिले पनि समाजमा आफैँले जन्माएको सन्तानलाई फरफरक रूपमा हेर्ने सोच जीवितै छ । छोरा बोर्डिङमा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने धेरै छन् । तर, हामी सबैलाई एउटै शिक्षा । एकै प्रकारको खाना समान वास दिएर समानताको अनुभूति दिन चाहन्छौँ । उनीहरूले बुझुन् मान्छे सबै एउटै वर्गको हुन्छ भनेर । बालबालिका भनेको हरियो बाँस जस्तै हुन् । यसलाई जता पनि मोडन सकिन्छ र चाहेको आकारमा ल्याउन सकिन्छ । तर, सुकेको बाँसलाई मोडियो भने त्यो भाँचिन्छ । त्यसको कुनै आकार आउँदैन । सानैदेखि उनीहरूलाई आकारमा ल्याउन चाहन्छौँ ।

कस्तो शिक्षा दिनुहुन्छ ?

आधुनिक वैज्ञानिक शिक्षासँगै धर्म संस्कृति कला सबै कुराले निपुण बनाउन चाहन्छौँ । अहिले चलन चल्तीभन्दा फरक विद्यालय हुनेछ । हामी आफ्नो संस्कृति विश्वमा चिनाउन चाहन्छौँ । त्यो अहिले आवश्यक पनि छ । नेपालमा हुने छ योग पाठशाला जहाँ हजारौँ केटाकेटीले आधुनिक वैज्ञानिक शिक्षा र आफ्नो भाषा संस्कृतिको बारेमा जानकारी हासिल गर्ने छन् । उनीहरूलाई कुनै दिन अस्पताला जान नपर्ने गरी योगले निपुण बनाइनेछ । यो सबै स्वामीजीको कृपाले हुन लागेको हो ।
अहिले पनि कैयौँ बालबालिका हाम्रो शिविरमा छन् । उनीहरूको पठनपाठन भइरहेको छ । कैयौँ अशक्त बिरामी हाम्रो क्याम्पमा उपचाररत छन् । उनीहरूको सबै व्यवस्था पीठले गरेको छ ।
पढाउनु होस वा रोजगारीका लागि, स्थानीय प्रशासनको सिफरिसमा गर्छौं । योग्यता र क्षमता भएका हाम्रो नियममा बस्ने बेरोजगार युवा जसको भूकम्पका कारण रोजीरोटी खोसिएको छ उनीहरूलाई हामी काम दिन तयार छौँ ।

– चमिना भट्टराई

प्रतिक्रिया