कविता : आँसुजस्तै युद्ध

मा प्रकाशित

Kangmang-Naresh-Rai

 

 

 

 

 

 

उनको आँखाबाट बगिरहेको
आँसुको नदी पुछिदिँदै
भावुक भएर म झोला टिप्छु
उनी भक्कानिँदै आफ्ना दुई हातले
बेस्सरी मेरो कम्मर कस्छिन्

निकै बाँकी छ उज्यालो हुन
मस्त निदाइरहेको छ छोरो
बत्तीमा झुम्मिइरहेका छन् कीराहरू
कोही घाइते भएर खुट्टा तन्काउँदै छन्
कतिपय त मरिसकेका छन्
युद्धभूमिजस्तै लाग्छ यतिबेला ।

उनको आँसुका केही थोपाहरू
तप्कन्छन् मेरा बुटमाथि
टल्कछन् बत्तीको प्रकाशमा
म आँखा चिम्म गर्छु
र केहीबेर पछि
आँखा उघारेर बुट हेर्छु
बुटबाट बगेर आँसु
कार्पेटमा बिलाइसकेको हुन्छ
म सोच्छु–
सिपाहीको जिन्दगी आँसुजस्तै छ

‘तपाईं नजानुस् लडाइँमा
फर्कौं हामी हामै्र देश’, भन्छिन् उनी
त्यसो नभन सीमा,
मैले युनियन ज्याक छोएर
दुई–दुई ठाउँ कसम खाएको छु
म कसरी भन्न सक्छु,
अफगानिस्तान जान्नँ

लडाइँमा जानु मेरो कर्तव्य हो
ममा अनायास फुत्कन्छ आडम्बर

सम्झन्छु, वृद्ध बाउआमा
पालैपालो हेर्छु, सुतिरहेको छोरो
र रोइरहेकी मायालुलाई
उफ् !
कसरी मान्छ मन
यस्तो बेला लडाइँमा जान ?
कार्पेटमाथि रास लागेको छ मरेका कीराहरूको
गुञ्जन थाल्छ कानमा आवाजविहीन संगीत

आँखाबाट अविरल नदी बगाउँदै
आफ्ना थर्थराएका हातले
फूलका माला लगाइदिँदै
उनी भन्छिन्,
‘जस्तो जाँदै हुनुहुन्छ त्यस्तै फर्किनू युद्घबाट !’

थुप्रै छन् भन्नुपर्ने तर निस्कँदैनन् शब्दहरू
फुट्दैन बोली
निस्कन्छु क्वाटरबाहिर
र ड्याम्म बन्द गर्छु बिदाइको ढोका ।

तपाइको प्रतिक्रिया