लघुकथा “कमाएको शत्रु”

मा प्रकाशित

bhagawati

‘मान्छेले आफ्नो आङमा भैँसी हिँडेको नि देख्दैन, अर्काको टाउकोमा जुम्रा नि देख्छन् ।’ भन्ने उखान सम्झँदै उरु एकछिनसम्म घोरिएर बसिन् । उसको साथीहरूको एउटा यस्तो जमात छ । जहाँ राम्रो काम गरेको कैले चर्चा परिचर्चा हुँदैन तर सानो गल्ती कहीँ कतै देख्नासाथ त्यसको खेदो खन्नेको ओइरो लाग्छ ।

आफ्नै हितैषीहरूको त्यस्तो चरित्र देख्दा उसलाई सहि नसक्नु भयो । उसले खेदो खन्ने सबैको फोन नम्बर डिलिट गरी । उनीहरूसँग कहिल्यै नभेट्ने वाचा गरी आफैँसँग । उसलाई लाग्यो । यस्ता मान्छेहरूको संगत नगरुँ । यिनीहरूलाई मेरो छेउछाउ पनि पर्न नदिउँ । यस्तो व्यस्त जिन्दगीमा पनि मान्छेहरू यति धेरै फुर्सदिला हुन्छ्न् । उनीहरू आफ्नो जिन्दगीको आधा समय अरूले के गर्छन् भन्ने चियो चर्चमा नै बिताउँछन् । यस्तै सोचेर एकछिन त उसलाई उनीहरूप्रति निक्कै घृणा लाग्यो ।

जुन व्यक्ति जिन्दगीको गोरेटोमा संघर्ष गर्छु भनेर जो अघि सर्छ । गन्तव्य पछ्याउँदै जाँदा जीवनको उकालीओरालीहरूमा भोग्नुपरेका, आरोहअवरोहका अनेक दुःख दर्दहरू अनुभूत गर्न सक्छ । काँडाबीच फुल्ने गुलाबको महत्व अर्कै छ । बगरमा फालिएको ढुंगा पनि शालिग्राम बन्छ । उसको आफ्नै अस्तित्व छ । काम गर्नेहरू कै त काम बिग्रने गर्छ । नराम्रोलाई पनि राम्रो भन्दै आँखा अगाडि प्रशंसा गर्ने पछाडि कुरा काट्दै हिँड्नेभन्दा त यिनीहरू निकै काम लाग्ने मान्छे हुन् ।

‘जीवनमा थोर बहुत दुःख, पीर, अलिअलि ऋण अनि दुई÷चारजना दुश्मनहरू अघिपछि हुने मान्छे नै त भाग्यमानी हुन्छ । पिरले तिमीलाई बाँच्न सिकाउँछ, ऋणले तिमीलाई कमाउन सिकाउँछ, अनि दुश्मनले तिमीलाई जित्न सिकाउँछ’ भनेर आमाले भनेको सम्झी । अझ हजुरआमाले ‘तिमीले आफ्ना शत्रुलाई आँगनमा घर बनाई राख्नु’ भनेको पनि सम्झी । निकै बेरपछि सकारात्मक भएर सोचिन् यो संसारमा मित्र त सबैले कमाउँछन् तर आफ्नो पछि लाग्ने गरी शत्रु कमाउन निक्कै कठिन छ । त्यसपछि उसले आफूले डिलिट गरेको नम्बर खोज्न थाली ।

तपाइको प्रतिक्रिया