लघुकथा : जमाना

मा प्रकाशित

मोटरसाइकल पार्क गरेर उनी बरन्डामा के पुगेका थिए अर्धांगिनीले राताराता आँखाले हेरिन् ।

सदा दिन उनको आगमनमा मुस्कुराउँदै स्वागत गर्ने अर्धांगिनीको आज यो रुप देखेर उनले सोधे, ‘हैन कमला, आज निकै रिस उठेजस्तो देख्छु ! कोसँग के भयो ?’
‘हजुर यस्तो हुनुहोला भन्ने सपनामा पनि चिताएकी थिइनँ, आखिर सरकारी कर्मचारी न पर्नु भो ।’ बरन्डाबाटै कराइन् उनी ।
‘होइन त्यस्तो के भयो र अलि
खुलस्त भनन’
‘न सरकारले तलब बढाएको छ न कुनै भत्ता, ल भन्नूस् यत्रो रकम एकै चोटि कहाँबाट आयो ?’ हातबाट हात्तीका चित्र भएका एक बन्डल देखाउँदै उनले सोधिन् ।
दराजमा श्रीमतीको नजर पर्ने गरी राखेको पैसा देखेपछि श्रीमती खुसी होलिन् भन्ने जुन उनको सोच थियो त्यो गलत सावित हुँदै थियो । तसर्थ, उनी मुकदर्शक बन्दै थिए उनी फेरि बोल्न थालिन् ।
‘हजुरले बीस÷पच्चिस हजार कमाइरहनु भएकै छ । म पनि नानी बाबुहरूलाई ट्युसन पढाएर आठ÷दश हजार जोरिरहेकै छु । अहिले परिवार पनि ठूलो छैन । के नपुग्दो छ र हामीलाइ र यत्रो रकम घुस खान प¥यो ?
उनी केही बोल्न सकेनन् ।
‘हजुरको इमानदारी देखेरै मैले हजुरलाई रोजेकी हूँ बुझ्नु भो ? अब मलाई घुस खाने हाकिम कि श्रीमती भन्नेछन् । राम्रो लुगा लगाएर हिँड्दा ‘उ पोइले जति पनि घुस खाएको छ लगाउने भइ नि’ भन्नेछन् । सादा पहिरन गरेर हिँड्यो भने ‘बेकारमा किन स्वाङ पार्दी हो’ भनेर कुरा काट्नेछन् । बिहे भएको पाँच वर्ष भयो मैले कहिल्यै कुनै माग राखेँ, ल भन्नूस् त ?’
लामोसमय अर्धांगिनीको कुरा सुनेपछि उनले स्पष्टीकरण दिँदै भने, ‘घुस खान्न भनेर कसम खाएकै हो नि कमला, आखिर म के गरुँ ? कुख्यात गुन्डाहरूले बाटो नै छेके । इमानदार भएर बाँच्न पनि नेपालमा सारै गाह्रो रहेछ ।

तपाइको प्रतिक्रिया