कविता : जोगिनुपर्छ ज्योति मगर !

मा प्रकाशित

m c sumit

 

 

 

 

 

 

 

ज्योती मगर !
बनाएर तिमीलाई आइसक्रिम
कसले चाटिरहेछ ल्यापल्याप
छुँदै डोब लाग्ने
तिम्रो भर्जिन छाला
र निर्दोष मुस्कान ।

यो हिमाली पाखामा
खोरिया फाँडेर आवाद गर्ने
तिम्रै हात हो
हिँउखोलाको चिसो पानीमा जाँगर तरेर
किनारकिनार बस्ती बसाउने
तिम्रै पाइला हो
कैले फकाएर
कैले छकाएर
यो माटोमा लागेको
तिम्रो पञ्जाछाप चिथोर्ने
खुनी नंग्राहरू कहाँबाट आए ?
बिस्र्याै ज्योती मगर !

घाँटु वा कौराको गाथा
साकेला वा पालमको गीत
सेलो स्याब्रुको नाच
धिमे वा उर्नीको धुन
तिमीले नै रचेको हो पहिले
कुन कपटी सम्बन्ध
वा कुन जाली संझौताले खोस्यो
शिरको सिलदुम्री
गलाको वाच्छैमाला
हातको चौँरीको चमर
वा, गुजुरगानाको चोप
सिरुका पातके यारी हान्दै टिपेको
समलासँग संवाद गर्ने भाषा !
तिमीले बुझ्नुपर्छ ज्योती मगर !
पुतली तर्सिने गरी
झिँगा भन्किने गरी
निचोरेर तिम्रो रस
बजार सर्वत पिइरहेछ
– तिम्रो आँशु ।

यो भुइँमाथि उठने
पहिलो झुल्के घामको वाफले
तिम्रै आङमा न्यानो छरेको हो
भाग्रा केस्राएर
कपास छोडाएर
हाकु र पटासी
आंगी र पाङ्देन
म्याख्ली र पेटानी
गादो र घलेक
पाँगा र फेँगा
तिमीले नै बुनेको हो पहिले
धोती–पाटा लाएर
कमन्डलु भिरेर आउनेहरू
छक्क परेका हुन्
देखेर तिम्रो सभ्यता ।

तिमीले बुझ्नुपर्छ ज्योति मगर !
धोती उचाल्न लगाएर
वा चोली फुकाल्न लगाएर
कसले पोख्यो तिमीमा
उम्लिरहेको तिर्खा !
र घुम्टोभित्र लुकेर
हेरिरहेछ्न तिमीलाई
– पाखण्डी ऐना ।
तिम्रो त्यो बाटुलो अनुहार
त्यही सोझोपना फाइदा उठाएर
झुम्राको पुतली बनाई
चटकेले झैँ
आफ्नै शोकगीतमा छमछमी नचाउने
सनातनी छन्द कसको हो ?
ज्योति मगर !
तिम्रो भविष्यको गुलावी रङमा आउने
गहुँगोरो गन्ध कसको हो ?

तपाइको प्रतिक्रिया