फरार ढुंगेललाई नागरिक अभिनन्दन !

मा प्रकाशित

balkrshina dhungel
ओखलढुंगा । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई गृहजिल्ला ओखलढुंगाका विभिन्न पार्टी र संघसंस्थाले भव्य नागरिक अभिनन्दन गरेका छन् । आइतबार डाँडेफेदी (सैपु) लिखु गाउँपालिका रामेछाप र ओखलढुंगाको सीमा नजिकै ढुंगेललाई अभिनन्दन गरिएको हो । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र नयाँ शक्ति नेपाल (ओखलढुंगा) ले संयुक्त रूपमा ढुंगेललाई अभिनन्दन गरेका थिए । माओवादीले सञ्चालन गरेको १० बर्से जनयुद्धमा उल्लेखनीय भूमिका र योगदान गरेको भन्दै ढुंगेललाई ओखलढुंगाका विभिन्न संघसंस्थाले समेत अभिनन्दन गरेका छन् ।
अभिनन्दन कार्यक्रमका एक सहभागीकाअनुसार माओवादी ओखलढुंगाले तरबार र कम्युनिस्ट पार्टीको झन्डासहित सम्मानपत्र दियो । करिब दुई हजार जनताको उपस्थितिमा ढुंगेललाई अभिनन्दन गरिएको उनले बताए । त्यसैगरी, ढुंगेललाई अभिनन्दन गर्ने संघसंस्थामा ज्ञानप्रकाश मावि (घोराखरी), ग्रामोदय सिद्धिचरण उच्च मावि, ग्रामज्योति निमावि, ज्योति ग्रामीण समाज, लेती(पोकली) समाज, उमादेवी स्वास्थ्य आमा समूह, पोकली झर्ना सेवा समाज, लेती मावी, फयाफुल्ला युवा कल्ब, लिखु एग्रिकल्चर नेपाल, जाल्पा मावि (टारकेराबारी), कालीका निमावि (टारकेराबारी) र उज्जेली समाज (टारकेराबारी) लगायत छन् ।
सञ्चारकर्मी ढुंगेलले गणतन्त्र ल्याउन आफूले १० बर्से जनयुद्धमा भूमिका खेलेको स्मरण गरे । ‘म नौ वर्ष जेल बसेँ । हिरासतमा हुँदा पाएको चरम यातनाको कारण मेरो मिर्गौला ड्यामेजसमेत भयो तर सोमबार गणतन्त्र आइसकेपछि भने मलाई अपराधी घोषणा गरेर त्यसको फल अरूले लिएका छन्’, उनले भने, गणतन्त्र ल्याउन मैले खेलेको भूमिको कदर गर्दै मलाई जिल्लावासीले सम्मान र अभिनन्दन गरेका हुन् ।’
जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ०६१ सालमा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । तर, पछि सर्वोच्च अदालतले ०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

तपाइको प्रतिक्रिया