प्रधानमन्त्री दाहाल चीन जाँदै

२०७३ चैत १ गते १०:१५ मा प्रकाशित
सौर्य समाचार

Prachanda
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी १० चैतमा चीन भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । माओवादी अध्यक्षसमेत रहेका दाहाल बोआओ फोरममा भाग लिन चीन जान लागेका हुन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले सोमबार बिहानै प्रधानमन्त्री दाहाललाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा पनि चल्दै आएको छ । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन । गोवामा भएको भेटमा दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए ।
स्रोतहरूका अनुसार बोआओ फोरमसँगै प्रधानमन्त्री दाहालले बेइजिङ भ्रमण गर्ने गृहकार्य पनि भइरहेको छ । बेइजिङमा राष्ट्रपतिलाई भेट्ने र द्विपक्षीय सम्झौताहरू गर्ने अवस्था भएमात्र दाहाल चीन जानेछन् ।केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गको डिपिआर, इन्धन भण्डारण, व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षरलगायतमा नेपाली पक्षले गृहकार्य गरेको छ । यो सम्झौता हुने भए दाहालको चीन भ्रमण हुनेछ । अन्यथा देशको अवस्थालाई हेरेर दाहाल बोआओ फोरममा नजाने सम्भावना छ ।

तपाइको प्रतिक्रिया