कम्युनिस्ट चरित्र र अभिव्यक्ति

२०७३ चैत ३ गते १०:४० मा प्रकाशित
प्रा. डा. सुरेन्द्र केसी

प्रसंग
१४ वर्ष १० महिना काराबास भएका प्रसिद्ध राजनीतिकर्मी राधाकृष्ण मैनाली (आरके)ले यही फागुन २८ गते ‘नलेखिएको इतिहास’ नामक तीन सय १३ पृष्ठ लामो पुस्तक प्रकाशनमा ल्याएपछि नेपाली वामहरूको लेखनशैली वा लेखन धर्मिता विषयमा फेरि एउटा बहस सुरु भएको छ । के लेखनको नाममा जे मन लाग्यो त्यो जसरी मन लाग्यो त्यसरी ढाट्न पाइन्छ ? के यसका लागि निश्चित मानकहरू पनि आवश्यक पर्दछन् ? के यसरी स्रोतहरूको तुलनात्मकता आवश्यकत पर्दैन ? मुख्य कुरा नेपाली नेताहरू जे पनि भन्छन्, लेख्छन् त्यो कृतिको भरपर्ने रहने गरेको छ त ? के यिनका अभिव्यक्ति र लेखनलाई आधिकारिक रूपमा लिन सकिन्छ, हुन्छ ? यस्तै अनेकन प्रश्नहरू मैनालीको पुस्तक बजारमा आउनुअघि नै छ्यापछ्याप्ती बन्न पुगे ।
परिवेश
पृष्ठभूमि के रहेको पाइन्छ भने स्वयंलाई ‘कम्युनिस्ट’ भन्ने विश्वका वामपन्थीहरू लेखन र पढ्नमा निश्चय नै माहिर हुन्छन् । यो प्रायः माक्र्स–लेनिनकै समयदेखि हुँदै आयो । क्लाश जेटकिन र रोजा लकजेम्वर्गहरू त साना–तिना प्रसंग नै भइरहोस् जुन कुरा चीनियाँ सन्दर्भमा लिओसाओनि र देङ स्पाओफिङ अनि रुसी सन्दर्भमा स्टालिन बन्न त्यसपूर्व ल्पेखानोभ्हरूले पनि त्यत्तिकै गरे भए ! भारत पनि यस प्रश्नमा अछुतो रहने भन्ने प्रश्न भएन तर नेपालले यस मानेमा त्यहाँको भन्दा पनि विशुद्ध वादप्रतिवाद गर्दै आएको देखा पर्दछन् । मैनालीको प्रस्तुत पुस्तक तीमध्ये नै एक हो, नयाँ भने होइन किनभने पछिल्लो समयमा उभिँदा ०४८ सालमै हाल एमाले तथा त्यसबेला माले नेता प्रदीप नेपालले ‘सञ्जय थापा’ नाममा ‘मुक्त आकाश’ लेखी यसै ढर्राको लेखन प्रकाशमा ल्याइसकेको परिवेश हाम्रो सन्दर्भमा पनि विद्यमान थियो । जसमा अरू थप दुई खण्ड निकालेर प्रदीपले आफ्नो त्यस परम्परालाई थप समृद्ध पारेको परिवेश पनि हामीसँग रहेकै थियो ।
प्रदीपको अर्को राम्रो पक्ष के थियो भने उनी निरन्तर लेखिरहने मात्र होइन, स्तरीय लेखन पनि उनको कलम आकर्षणको थप विशेषता थियो । मुक्त आकाशको खोजी भाग–१ कै कुरा गर्दा धरानका स्थानीय वाम नेता कृष्ण श्रेष्ठ ‘बिए’बाट मैले पहिलो सूचना पाएथेँ । त्यसबेला म आफ्नो विद्यावारिधि अनुसन्धानका क्रममा धरानमा थिएँ भने ‘बिए’ ले मलाई यसका लागि यथेष्ट सहयोग गर्दै गरेको स्थिति थियो । त्यसपछि म काठमाडौं फर्किनासाथ प्रदीपको पुस्तिका खोजीतर्फ लागेँ । वास्तवमा कृष्णजीले भनेजस्तो त्यो राम्रो पनि थियो तर त्यसयता पनि प्रदीपका सोही शृंखलाका थप दुई खण्ड निस्किए भने निकै नै वाह ! वाही ! कमाए । मुख्य कुरा उनको लेखन यात्रा रोकिएन, भर्खरै मात्र उनको ‘ओरिएन्टल पब्लिकेसन’बाट ‘आमाको मन’ नामक उपन्यासिका प्रकाशमा ल्याएका छन् भने प्रकाशकतर्फ मैले उक्त पुस्तक उपहारमै पाइसकेको छु । क्षमा चाहन्छु प्रदीपका त्यसयताका कृतिहरूमा साविकजस्तो मिठास, गहिराई र सार्थकता बिल्कुलै देखापर्दैन, प्रस्तुत उपन्यास ‘आमा’ मा पनि ।
त्यसपछि पनि भरतमोहन अधिकारी, डा.केशरजंग, राम भण्डारी, शम्भुराम श्रेष्ठ र ईश्वर पोखरेलले पनि स्वयंलाई लेखनको यस आँकडामा उतारेका छन् तर प्रदीपहरूको जस्तो वाह ! वाही ! भने तिनले प्राप्त गर्न सकेनन् । बरु वाम परिवारबाट आएका पुस्तकहरूको सूचीमा हालैको ‘नलेखिएको इतिहास’ धुम मच्याउने तहबाट आइपुग्यो । क्रियाप्रतिक्रिया मात्र होइन सुनिएअनुसार पुस्तकको पहिलो संस्करण सिद्धिएर अर्को संस्करणको उपक्रम सुरु भएको बारे लेखकसँगको फोन सम्पर्कबाट थाहा भएको छ । निश्चय नै यो सामान्य विषय होइन किनभने यस देशमा सामाजिक सञ्जाल, लेखनमा अन्तर्वार्ताहरूकै जस्तो कसको पुस्तक किन्ने, कसको नकिन्ने भन्ने सम्बन्ध पूर्णतः जातिवादी पार्टीवादी, लिंगवादी र अन्य प्रकारका पक्षपोषणहरू व्यप्त छन् । आफ्नोलाई बाहेक अरूलाई ढिम्किनै नदिने, मौकै नदिने उल्टो लखेट्ने पनि । प्रश्न उठ्छ– आरकेको पुस्तकचाहिँ टिप्यो कसले होला ?
आरके मात्र भरतमोहन, डा.भाउटी र शम्भुरामका पुस्तकहरू क्रमशः मेरो जीवनयात्रा (२०६२), केही संग्रुनाः केही चिन्तन (२०५९) र मेरो राजनीतिक जीवनको संस्मरणहरू (२०६३) पनि कम राम्रा त छैनन् तर यिनले बजारमा सामान्य हलचल पनि ल्याएनन् । आए, गए सिद्धियो फेरि आरकेबाट मात्र किन यत्रो धमाका ? निश्चय नै यो कम विचारणीय प्रश्न होइन । प्रस्तुत आलेखको मूल ध्येय यसै प्रश्नको उत्तर खोज्नु रहेको छ । प्रश्न छ, आखिर वामपन्थमा यसखालको धोती खोलाखोल र गाँड कोराकोर हुन्छ किन ?
समस्याको जड अधिनायकवाद कम्युनिस्ट प्रणाली घोषित रूपमा अधिनायकवादी व्यवस्था हो । राजनीतिक रूपमा यसले वर्गीय पक्षपोषण माग गर्दैन । त्यसभित्र पनि अनेकौँ गुट–उपगुट र अनेकौँ ध्वाजाहरू हुन्छन् । तदनुसार त्यसलाई बचाउ र विस्तारका लागि अनेकौँ घात उपघात र हानमारसम्म हुने गर्छन् । हालै मात्र मलेसियामा देखिएको एउटा घटना यस सन्दर्भमा उल्लेखनीय हुन सक्छन् । तर, कम्युनिस्ट जगतमा यस विचारका जन्मकालदेखि नै जर्मनी, सोभियत र चीनलगायत मुलुकहरूा छयास्छ्यास्ती भए गरेको फेला पर्दछ । हेक्का रहनु, नरहनु अर्कै कुरा हो । कति कुरा विस्मृतिमा पुगिसकेका हुन्छन् । अनौठो के छ भने आरकेले चाहिँ विस्मृतिका तिनै कुरालाई सरिक ढंगले प्रकाशमा ल्याएबाट त्यस आन्दोलनका सरोकारवालाहरू नराम्रोसँग गुज्रिएको पाइयो, उनीविरुद्ध कारवाही नै गर्नेसम्मका कुराहरू पोलिटब्यूरो बैठकमा उठे भन्ने बजार हल्ला पनि फैलियो राजधानीका चोक र सडकभरि । आखिर यस्ता प्रकरणहरू नेताहरूका अभिव्यक्ति र लिखतहरू किन आउने–जाने गर्छन ? आज यो विषय स्वयं एक टिकाटिप्पणी र क्रिया–प्रतिक्रियाको विषय बन्न पुगेको छ भने प्रस्तुत आलेख त्यस दिशाको प्रायः प्रथम पाइलो नै हो तर यसको महत्व केमा छ । भने हरेक कामको थालनी सानै तहबाट हुने गर्छ र सानो कुरा नै कालान्तरमा ठूलो हुन पुग्छ । किनभने प्रकृतिको नियम नै कुनै पनि ठूलोको यात्रा सानोबाट नै हुने गर्छ । भनाइ नै छ सगरमाथाको यात्रा पनि पहिलो पाइलोबाट नै सुरु हुन्छ ।
आरकेले आफ्नो ‘नलेखिएको इतिहास’मा जे विषय उठान गरेका छन् त्यो स्वयं पनि झापाको सानो झिल्को एमालेसम्म कसरी आइपुग्यो भन्नेमा केन्द्रित देखिन्छ तर विवाद यहाँ होइन त्यसको विपरीत विवाद कहाँ हो भने आखिर आरकेले यसप्रकार आफ्नै सहकर्मी नेता साथीहरूको धोती किन फुस्काए त ? प्रस्तुत आलेखको केन्द्रीय विषयपट्टि जाने हो भने यसको सटिक उत्तर पनि के हो भने कम्युनिस्ट विचारको मूल नै यस्तो हुनु, यसो हुनुको जड कारण हो । अर्थात तानाशाही, अपारदर्शिता, गुटबन्दी र योग्यता प्रणालीको अभाव यस्तो हुनुको मूलभूत कारण हो । दृष्टान्तबाट भन्दा झापा आन्दोलनको जग मैनालीहरूले बसाले । जेल–नेल र यातना पनि तिनैले खाए । १४ वर्षसम्म जेल बस्ने पनि तिनै अनि जेल तोड्ने पनि तिनै तर जब यो आन्दोलन माले हुँदै एमालेसम्म आइपुग्यो त्यसपछि यसको तर मार्ने, मह काढ्ने र हात चाट्नेहरू चाहिँ सबै अरू नै भए ।
आरकेलाई के लाग्यो भने एमालेभित्र यसो गर्ने प्रमुख केन्द्र झलनाथ र माधव नेपालहरू थिए । जसले उनलाई प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन (०४६÷४७) लगतै उनको मुखा आएको मन्त्री पद मात्र तकाई दिएनन् । सँगसँगै उनीविरुद्ध शृंखलाबद्ध प्रहारहरू पनि सुरु भए । लेखा समितिको अध्यक्षबाट हुत्याउन खोजियो, पोलिटब्युरोबाट खसालियो । अपमान गरियो अन्ततः पार्टीबाटै पन्छाएपछि उनका लागि स्वयंले जग हालेको घर नै बिरानो बन्न पुग्यो । यसरी उनी जुन दरबारविरुद्ध राजनीतिमा १४ वर्ष काराबास भएका थिए । त्यसै दरबारको ‘चौकीदार’ बन्न गए । राजनीतिक र बलिदानको इतिहासमा योभन्दा ठूलो विडम्बना अर्को होला र ! तर यही सत्य हो । यो नै मैनालीको नियति पनि । तर, प्रश्न उठ्छ– वामजगतमा यस्तो हुन्छ किन ?
अपारदर्शिता, अजवाफदेहिता, अयोग्यता र गुटबन्दी नै यस्तो हो जसले गर्दा वाम संगठनमा अनेकपटक यस्तो हुन्छ । अर्काेतर्फ, अधिनायकवादी चरित्रले गर्दा त्यसलाई प्रकाशमा ल्याउन पनि सकिँदैन । फलस्वरूप भोक्ताले यसलाई आफैँभित्र गुम्साएर राख्नुको विकल्प बाँकी रहँदैन । तर, मनमा उठेका कुरा र भोगेका पीर बाधाहरूलाई मानवले अधिक दिनसम्म पालिराख्न सम्भव छैन भन्ने दृष्टान्त बिपीको आत्मवृतान्त पनि बनेको छ । जहाँ एक प्रसंगमा उनी गणेशमान, सूर्यप्रसाद उपाध्याय मात्र होइन स्वयं राजाहरूका बारे पनि अनेकानेक टिप्पणी गर्न चाहन्छन् तर आफन्तहरूमा यसलाई मरणोपरान्त प्रकाशमा ल्याइदिने इच्छा जाहेर गर्दछन् । खासगरी गणेशमानकै सन्दर्भहरूमा यहाँ पनि मैनालीले माधव र झलनाथहरूले आफूविरुद्ध गरेका भएका अनेकौँ घात–प्रतिघात र षड्यन्त्रको पोलेर मनलाई औडाहा तुल्याएका अनेकन पहाडहरू मनभित्रै गुम्सिएर रहेका थिए । अब पनि यसलाई नओकल्ने हो भने त्यो ग्यास्टिक मात्र होइन क्यान्सरै हुुने संत्रास पनि थियो उनको मनमा । त्यसैले अन्तमा उनले निर्णय गरे स्वयं तहसनहस र पार्टीबाट दरबारको बाटो समात्न विवश यी दुई चतुरेहरूलाई पनि म छोड्ने छैन । तर, गल्ती कहाँ भयो भने उनले माधवविरुद्ध जुन ‘भारतीय तत्व’ (पृ.१२४) भएको र झलनाथ राजनीतिकबाट विरक्तिएर ‘प्रोफेसर हुन खोजेको’ (पृ.१०९) जस्ता जुन आरोपहरू लगाए वस्तुतः सत्यबाट धेरै टाढा रहेको स्वतः भिन्न छ किनभने माधवमा अरू दस कमजोरी होलान्, भारतलाई हेर्ने कमजोर दृष्टिकोण पनि होला तर उनलाई भारतको दलालचाहिँ किमार्थ मान्न सकिने छैन । त्यस्तै झलनाथ पनि प्रोफेसर हुने कुरा कपोलकल्पित नै लाग्छ किन भने उनी एमएल, बिए पनि पास होइनन् कि भन्ने मलाई लाग्छ तर प्रोफेसर हुन ति कसैसँग पनि स्नातकोत्तर डिग्री हुनु अपरिहार्य छ । दुर्भाग्य के भयो भने यी पंक्तिलाई अन्तिम रूप दिइसकेपछि एक कार्यक्रममा भेटिएका नेकपा (माले)को तत्कालीन केन्द्रीय कमिटीका सदस्यहरूसँग यसबारे सोध्दा आरकेद्वारा लिखित उक्त विवरण सत्य भएको स्वीकार्दा म स्तब्ध बनेँ ।

उपसंहार
निश्कर्षमा के भन्न सकिन्छ भने कम्युनिस्ट पाठशालाको तानाशाही पढाइ र वर्गविरोधी सोच, चिन्तन र आचरण नै यस्तो हो जसले गर्दा कुनै पनि कम्युनिस्ट प्रायः आफूसँग मन नमिल्ने विरुद्ध सदैव शत्रुवत व्यवहार र सोच राख्नुलाई सामान्य कुरा नै मान्दछ । कदाचित राजनीतिक र संगठनको जीवनमा उसले त्यस व्यक्तित्वलाई सोध्न वा सिध्याउन सकेन भने जुन बखत उसले त्यसो गर्ने सानो छिद्र फेला पार्छ त्यसैलाई पनि एउटा अवसरको रूपमा प्रयोग गर्न उद्यत बन्छ । कुनै पनि कम्युनिस्ट विधाको स्रष्टा वा नेताको लिखतहरू हेरियो भने कुट्कुट्मा यी दृश्चरित्रहरू छ्याप्छ्याप्ती फेला पर्छन् । चाहे त्यो जनयुद्धकालीन प्रचण्डले, बाबुराम र बादलविरुद्ध ओकलेका विषयहरू होउन् वा त्यसअघि मोहनविक्रमले पुष्पलालविरुद्ध ओकलेका फोहोरहरू । जुन पार्टीका नेताहरूले स्वयं आफ्नो पार्टीका महासचिवलाई ‘गद्दार’ भन्दै लखेट्न बाँकी राखेनन् तिनले आफ्ना समकक्षीहरूलाई के बाँकी राख्लान् ।

तपाइको प्रतिक्रिया