नेपाल लगानीका लागि उर्बर ः प्रधानमन्त्री

२०७३ चैत ४ गते ११:५७ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उर्बर क्षेत्र रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए ।
नेपालमा लगानी गर्न कुनै द्विविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे । सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी ७ चैतसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताए ।
काठमाडौंको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला÷महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न अब बस्ने मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णय गर्ने उनले बताए । राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । महोत्सवमा चीन, भारत, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड र भूटानको सहभागिता रहेको छ । महोत्सवमा तीन सय चार कक्ष समावेश छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले व्यापार मेला क्रेता, बिक्रेता र सिर्जनाकारको जमघट थलो बन्ने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष भवानी राणाले सुरक्षासहितको लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिन् । कार्यक्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश, र भूटानका लगानीकर्ता, उद्योगी एवं व्यापारी, विभिन्न देशका राजदूत, एवं सरकारका उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । महोत्सवमा खाद्यान्न तथा लत्ताकपडा, जडिबुटी, हस्तकला एवं हिमाली क्षेत्रका उत्पादनको कक्ष समावेश छन् ।

तपाइको प्रतिक्रिया