एसइई परीक्षा शान्तिपूर्ण

२०७३ चैत ४ गते १२:२१ मा प्रकाशित
शुकदेव थपलिया

kavreकाभ्रे । जिल्लामा बिहीबारबाट सुरु भएको एसइई परीक्षमा यसवर्ष आठ हजार ६ सय २० जना विद्यार्थीहरू सहभागी रहेको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ । जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आठ हजार ६ सय २० परीक्षार्थीहरूले परीक्षामा सहभागी जनाएको बताए । परीक्षाका लागि जिल्लाका विभिन्न स्थानमा गरी ४० वटा केन्द्र तोकिएको परीक्षा समन्वय समितिका अध्यक्ष सिंखडाले जनाकरी दिए । ‘हामीले परीक्षार्थीहरूका लागि जिल्लाको विभिन्न स्थानमा गरी ४० वटा केन्द्र तोकी केन्द्राध्यक्षको समेत व्यवस्था गरिसकेका छौँ ।’ अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सिंखडाले भने । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि जिल्लामा तीन सयभन्दा बढी सुरक्षाकर्मीहरूलाई खटाइएको जानकारी दिए ।
परीक्षा सञ्चालनका क्रममा अमर्यादित भएमा तत्काल थप व्यवस्था गर्नका लागि भन्दै वैकल्पिक केन्द्राध्यक्षसमेत व्यवस्था गरेको अध्यक्ष सिंखडाले बताए । ‘चैत १४ गतेसम्म चल्ने परीक्षाका समयमा केन्द्राध्यक्षले अमर्यादित कार्य गरेमा तत्काल हटाई सो ठाउँमा वैकल्पिक केन्द्राध्यक्ष पठाइनेछ ।’ उनले भने । आजबाट सुरु भएको परीक्षा शान्तिपूर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पहिलो दिनको अंग्रेजी परीक्षा शान्तिपूर्ण तवरले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया