जातिको सत्ता र सत्ताको जाति

२०७३ चैत ४ गते १२:२५ मा प्रकाशित
लोकनारायण सुवेदी

हुन त जाति स्वयंले यस्तो कुनै कुरा गरेको देखिँदैन र आँखा चिम्लेर जातिबद्ध भएको र जातिकै आधारमा मात्र आफ्नो व्यवहार चलाएको आधार पनि मूर्तरूपमा कतै देखिँदैन । तर, आज हाम्रो राजनीतिमा पहिलेभन्दा बढी जातिवादी क्षेत्रवादी विचारविमर्श निकै ठूलो र घनीभूत विषय बनिसकेको र बनिरहेको छ । अनि, यसले जबर्जस्त किसिमले आजको सामाजिक–राजनीतिक व्यवहारलाई प्रभावित तुल्याउने काम पनि गरिरहेको छ । एकथरि अहिलेसम्मको राजनीतिक सत्ता जातिवादमा आधारित रहेको भन्ने तर्क गर्दछन् र एकल जाति वर्चस्व समाप्त हुनु पर्दछ भन्छन् भने अर्कोथरि अब राजनीतिमा जातिजाद हावी हुन थालेकाले साम्प्रदायिक सद्भाव खल्बलिएको र साम्प्रदायिकता व्यापक रूपमा बढ्न थालेको भनेर चिन्ता व्यक्त गर्दछन् । अतिवादको गन्ध दुबैतिरबाट आउँछ ।
यद्यपि, इतिहासलाई हेर्ने हो भने ‘जाति’ शब्दको व्यवहार मूलरूपमा वस्तुहरूको श्रेणी तथा विशेषता अर्थात् गुण, धर्मलाई व्यक्त गर्न वा बताउनका लागि गरिन्थ्यो । तर, जुन रूढीगत अर्थमा यो शब्द आज हाम्रो राजनीतिमा प्रचलित हुन थालेको वा गरिँदै छ । त्यसले गर्दा सतहमा हेर्दा यो एउटा प्रभावशाली सामाजिक सामूहिकीकरणको आधार बनेको प्रतीत हुन्छ । जुन शब्द कुनै व्यक्तिको जन्म र आनुवांशिकतासँग जोडिएको छ । जन्मबाट नै कुनै व्यक्तिलाई जातीयता प्राप्त हुन्छ । त्यो त्यस मानिससँग अनिवार्य रूपमा जीवन र जीवनोत्तर समयमा पनि गाँसिएर रहेको हुन्छ । यतिसम्म कि धर्म परिवर्तन त सम्भव हुन्छ तर जाति परिवर्तन असम्भव छ । तर, आज कसैले पनि आफ्नो जातिलाई विशुद्ध भनेर ठोस दाबी गर्न सक्तैन । किनकि, हरेक जातिहरूमा यत्तिका धेरै मिलावट भइसकेको वा हुँदै आएको छ कि कसैले आफ्नो जातिलाई एकदमै विशुद्ध या वास्तविक जाति हो भने सिद्ध गर्ने कुनै मूर्त र ठोस आधार प्रस्तुत गर्न र हुन सक्तैन ।
यति हुँदाहुँदै पनि सबैका जातिहरू छन् र हरेक जातिले आफ्नो एउटा विशिष्ट परिधि बनाइराखेको छ । त्यो के भने कसैसँग दैनिकजसो बात–व्यवहार गर्ने, उठ्ने बस्ने, खाने, पिउने वर–विवाह गर्ने आदि संस्कारका कुराहरू हेर्दा पनि यो थाहा हुन्छ । कुनै बेला यस्ता कुरामा एकदमै कडा र कट्टर दृष्टि पनि दिइन्थ्यो त्यसबाट तलमाथि भएमा समुदाय या जाति विशेषबाट बहिष्कृत, दानापानी नचल्ने र बाहिरिएको पनि मानिन्थ्यो अनि त्यसको कतै सुनवाइ हुने र पुनः बहिष्करणबाट मुक्त हुने स्थिति पनि थिएन । त्यसलाई सबैले स्वीकर गर्नै पर्दथ्यो । तर, आज परिस्थिति निक्कै नै बदलिएको छ र हिजोको जस्तो त्यस्तो धेरै कडाइ कतै पनि छैन । हुन त आज पनि कयौँ ठाउँ र सामाजिक संरचनामा यस्ता कट्टरताहरू कायमै छन् । अझै पनि जातीय सामाजिक व्यवहार हेर्ने, त्यसको आधारमा अनुशासित तुल्याउने र निर्णयहरू गर्ने या लिइने कुरा चलिरहेका छन् । यसप्रकार हिजो जसरी जन्मजात नियतिले बढी काम गर्ने गरेको थियो र आज पनि त्यसमा त्यत्तिका धेरै उल्लेखनीय कमी भने आएको छैन । तर, हिजो जुन स्तर र सघनरूपमा यस्तो स्थिति रहेको थियो आज त्यस्तो अवस्था कम र कमजोर हुँदै गएको छ र त्यसले अब बिस्तारै अवशेषका रूपमा मात्र पाइने दिशा लिन थालेको छ । यसरी बदलिँदो समयसँगै जातीय, असमानता, विभाजन र विभेदमा कमी पनि आइरहेको छ । तर, पूर्णरूपमा समाप्त भएको भने छैन ।
वास्तवमा कुनै बेला जातिहरूको विभिन्न पेसा र कौशलतासँग ठूलो र गहिरो सम्बन्ध हुने गर्दथ्यो । जातिहरूका सामाजिक तथा सांस्कृतिक इतिहास र परम्परामा यो पनि एउटा मान्य कुरा थियो कि विभिन्न जातिहरू समाजका लागि बेग्लाबेग्लै भूमिका र दायित्व निर्वाह गर्ने गर्दछन् । अनि उनीहरूका बीचमा एक हदसम्म आपसमा अन्तरनिर्भरता र भरोसाको सम्बन्ध पनि रहेको थियो । त्यसका साथै जातिहरूका बीच वर्चस्वको अन्तर र भेदभाव पनि कायम रहेको थियो । अनि उच्च जाति शोषक र तल्लो जाति शोषकबाट शोषित उत्पीडितको भूमिकाको रूपमा पनि रहने गरेका थिए । सीमित संसारमा रहनका कारणले र भाग्यवादिताको विश्वासका कारणले समेत यस स्थितिलाई कायम राख्ने ठूलो आधार प्रदान गर्दथ्यो अहिले पनि गरिरहेको छ । जातिको समाजिक यथार्थको एउटा अर्को महत्वपूर्ण पक्ष आर्थिक सामाजिक हैसियत या औकात अर्थात् ‘स्ट्याटस’ पनि रहेको हो र रहेको छ । सत्ताको दृष्टिले हेर्दा सत्ता–सिँढीको माथिल्लो खुट्किलोदेखि लिएर तल्लो खुट्किलोसम्म मौजुदा विभिन्न जातिहरू भिन्नाभिन्नै स्थानमा रहन पुगेको प्रष्टै देखिन्छ । उनीहरूको वर्चस्वको यो दायरा त्यसै हिसाबले घट्ने बढ्ने गरेको पनि पाइन्छ । अनि त्यसै आधारमा सामाजिक अवसर, सुविधा र असुविधाहरू पनि प्राप्त गर्ने भोग्ने कुरा निर्धारित हुने गर्दछन् ।
वस्तुतः यस्तै स्थितिले विषमता उत्पन्न हुने हो र हुँदै आएको छ । त्यसको मूल आधार जन्मगत भेद हुने गर्दछ जसका कारणले गर्दा नै यथार्थमा हरेक जातिहरू आ–आफ्नो दायरामा सीमित रहन पुगेका र रहेका हुन्छन् र यसै आधारमा अरू जातिमाथि आफ्नो शक्तिअनुसार राज गर्ने या तिनलाई प्रभावित तुल्याउने गर्दछन् । या कोही आधिपत्य जमाउने शासन गर्ने र कोही शासित भएर अधीनमा रहने स्थिति विकसित हुन्छ ।
यसप्रकार सरसर्ती हेर्दा र विश्लेषण गर्दा विभिन्न जातिहरूको समीकरण मूलरूपमा क्षेत्र विशेषमा जातिहरूको उपस्थिति, तिनको सघनता वा घनत्व अनि उनीहरूसँग रहेका उपलब्ध आर्थिक संसाधनमाथि निर्भर गर्दछ । यसप्रकार भिन्नाभिन्नै क्षेत्रहरूमा बेग्लाबेग्लै जातिहरू उदाहरणका लागि कतै क्षेत्री, कतै व्राह्मण, कतै राई लिम्बू त कतै गुरुङ, कतै मगर, कतै तामाङ, कतै थारू, कतै यादव त कतै महतो, कतै राजपूत र कतै शेर्पा कुनै चरणमा प्रभुत्वशाली पनि हुन सक्तछन् । बदलिँदो समयका साथसाथै जातिको यस्तो स्वरूप पनि बदलिएको छ । हामीले सुरुसुरुको अवस्थालाई हेर्दा जातीय सम्बन्धहरू धार्मिक आचरण र रीतिरिवाजसँग पनि जोडिएका पाइन्छन् । तिनले समूहको कार्य प्रणालीमाथि सीमा बाँधिदिएका पनि थिए । तर, बजार र नागरिकीकरणका शक्तिहरूको बढ्दो प्रभावले एक स्तरमा यो जाति भेदलाई तोड्ने काम गरेको पाउँदछौँ । आज होटलहरू, सार्वजनिक संस्था आदिमा प्रत्येक जातिका मानिसहरू प्रायः भेटिन्छन् र तिनले अवसर पाउँदै गएको देखिन्छ ।
तर, आजको राजनीतिक व्यवस्थामा भोटको राजनीतिले जातिहरूलाई एउटा बेग्लै किसिमको र कुनै खास सन्दर्भमा घातक किसिमको अर्थ लगाउन थालेको पनि पाइन्छ । राजनीतिक दलहरूलाई पनि लाग्न थालेको देखिन्छ कि जातीय र यससँग बढी सम्बन्धित धार्मिक समीकरणअनुसार चल्दा नै सत्तामा पकड जमाउने सस्तो र सहज मार्ग हो । तर, यसको परिणाम के हुन्छ या भएको छ भने समानता र प्रतिनिधित्वको बहानामा जातिको पहिचानलाई पनि पुष्टि गरियो । जातिलाई तोड्नुको साटो जातजातिबीचमा भेदभावलाई बढाउने कोसिस प्रत्यक्ष परोक्ष सुरु भयो । आज त्यसैले जातिको सत्ता नै सत्ताको जाति बन्न गइरहेको देखिन्छ । कुनै जाति विशेषले भनेको छैन कि उनीहरू आँखा चिम्लेर जातिबद्ध हुन्छन् र जातिलाई नै आफ्ना सबै व्यवहारको आधार बनाउँदछन् । तर, आज जातिबद्धता हाम्रो व्यवहारमा पहिलाभन्दा बढी जोडिन पुगेको देखिँदै छ र समाजलाई अझ बढी जातीयकरण गर्न थालेको प्रतीत भइरहेको छ । अनि यसले सामाजिक तथा राजनीतिक व्यवहारलाई निक्कै दह्रो किसिमले प्रभाव पनि पार्न थालेको या पारिरहेको छ । आज सबैजसो राजनीतिक दल चुनावका बेलामा उम्मेदवार खडा गर्दा जातिका आधारमा नै नामांकनपत्र भर्ने गर्न थालेका छन् । कस्तो लाग्न थालेको छ भने यो कुनै संसदीय, प्रान्तीय या स्थानीय प्रतिनिधित्व नभएर कुनै जाति विशेषको महासभा हो । केही अपवादलाई छोडेर सबैजसो राजनीतिक दल मुखले वा भाषणमा जे भने पनि व्यवहारमा भने यही जातीयताको गोरखधन्धामा लागेका पाइन्छन् । तर, यही धारा अगाडि बढाउने चुनावी राजनीतिलाई निरन्तरता दिने हो भने त्यो गणतन्त्रात्मक लोकतन्त्रलाई विकृत तुल्याउने माध्यम बन्ने कुरा निश्चित प्रायः छ । जातीय विभेद, असमानता र उत्पीडन हटाउने यो तरिका बिल्कुलै होइन । अन्ततोगत्वा यस्तो प्रवृत्तिले जातीयताको भावना भड्काउने र गणतन्त्रात्मक लोकतन्त्रलाई कमजोर तुल्याउने नै काम गर्नेछ । गणतन्त्रात्मक लोकतन्त्रका हिमायतीहरूले यो ठाडोरूपमा सामन्ती अवशेषका रूपमा रहेको एक वा अर्को किसिमको जाति प्रथा र यसमा सन्निहित विभेदबाट अनुप्राणित गराउन खोजिएको राजनीतिबाट देशलाई मुक्त गर्नै पर्दछ । सबै किसिमका अर्थात् राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्ने बाटो नै त्यसबाट मुक्त हुने बाटो हो । यही नै वर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य गर्ने बाटो हो । अरू कुनै विकल्प छैन र हुन पनि सक्तैन ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया