भँेडाको ऊन र मासुबाट करोडौँ आम्दानी

२०७३ चैत ४ गते १२:४४ मा प्रकाशित
सौर्य समाचार

लमजुङ । भेँडाको ऊन तथा मासुबाट १० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार लमजुङको उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेँडाबाख्रा रहेका छन् । यीनै क्षेत्रबाट करोडौंको आम्दानी भएको हो ।
घुम्ती गोठमा पालिएका भँेडाबाट वार्षिक २ सय मेट्रिक टन मासु उत्पादन हुन्छ । भेँडाको मासु प्रतिकिलो ५ सयका दरले बिक्री हुने गर्छ । यस्तै ऊनमात्र वार्षिक पाँच हजार किलो उत्पादन हुने गरेको घिमिरेले जानकारी दिए ।
भेँडाको ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्दै आएका छन् । गोठमा पालिएका बाख्राबाट समेत किसानले मनग्य आम्दानी गर्दैआएको उनले बताए ।
घुम्ती गोठमा आठ हजार बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खसी बोकाको मासुबाट मात्रै बर्सेनि ६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । जिल्लामा ८ सय ५८ घरधुरीले घुम्ती गोठमा भेडापालन गर्दैआएका छन् । घुम्ती गोठमा पालिएका भेँडा अधिकांश पोखरा, काठमाडौंलगायत सहरमा बिक्री गर्न लैजाने गरेका पाइएको छ ।

तपाइको प्रतिक्रिया