राजनीतिक वातावरण बनाऊ ः आयोग

मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले केन्द्रमा स्थानीय निर्वाचनको तयारी पूरा भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले केन्द्रमा निर्वाचनको तयारी पूरा भएसँगै जिल्ला र स्थानीयमा राजनीतिक वातावरण बनाइदिन सरकार र सम्बन्धित दललाई आग्रह गरेको छन् ।
‘केन्द्रमा निर्वाचनको तयारी पूरा भएको छ, आयोगले अब जिल्ला हुँदै स्थानीय तहसम्मको तयारीमा जाने तयारी सुरु गरेको छ,’ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘केन्द्रमा मतपत्र छपाइको काम आइतबारबाट सुरु भयो, मतदाता नामावलीलाई २० चैतसम्म अन्तिमरूप दिनेगरी काम भइरहेको छ ।’
६७ प्रकारका निर्वाचन सामग्रीको तयारी भइरहेको र २१ हजार मतदान केन्द्रका लागि करिब ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको समेत आयोगले जानकारी गराएको छ । आयोगका अनुसार सबैभन्दा बढी काठमाडौंमा ४७ दल दर्ता भएका छन् भने मनाङमाा सबैभन्दा कम ६ दल मात्र दर्ता भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले तराई–मधेस क्षेत्रमा देखिएको समस्या समाधान गरेर निर्वाचनको वातावरण बनाइदिन प्रधानमन्त्री र राजनीतिक दललाई आग्रह गरे । ‘दुई नम्बर प्रदेशमा देखिएको समस्याका विषयमा अयोग जानकार छ’, प्रमुख आयुक्त यादवले भने, ‘उक्त प्रदेशमा निर्वाचनको वातावरण बनाइदिन प्रधानमन्त्री र राजनीतिक दललाई आग्रह गर्दछु ।’
२६ दलले चुनाव चिन्ह पाउने
दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गरिरहेका दलहरूले मात्रै आफ्नो अर्थात् यसअघि प्राप्त चुनाव चिन्ह पाउने भएका छन् । आगामी ३१ वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने एक सय १२ दलमध्ये संसद्मा प्रतिनिधित्व गरी निर्वाचन आयोगमा दर्ता भएका दललाई मात्र उनीहरूले तोकेको चुनाव चिन्ह पाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये निर्वाचन आयोगको मिति २१ फागुन ०७२ को निर्णयबाट दल दर्ता खारेज भएको समाजवादी जनता पार्टी र संसद्मा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नभएकाले स्थानीय चुनावमा भाग लिन नपाउने बताइएको छ । यद्यपि, तीन वर्षसम्म आफ्नो आय–व्यय विवरण पेस नगरेर दर्ता खारेज गरेको समाजवादी जनता पार्टीलाई भने निर्वाचनमा सामेल गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसबारे आयोगले निर्णय लिन बाँकीरहेको आयोग स्रोतले जानकारी दियो । आयोगकाअनुसार संसदमा प्रतिनिधित्व गर्ने बाहेक आयोगमा दर्ता भएका अन्य दललाई आयोगले नै स्वतन्त्र रूपमा निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
आयोगका अनुसार स्थानीय निर्वाचनमा साना–ठूला गरेर ६ किसिमका मतपत्र छापिने भएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा एक जना मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्नेछ । जसमा गाउँपालिका तथा नगरपालिका प्रमुख–१, उपप्रमुख–१, वडा अध्यक्ष–१, वडा महिला सदस्य–१, दलित महिला सदस्य–१, खुल्ला सदस्य–२ गरी सात ठाउँमा मतदान गर्नुपर्ने छ । सोही अनुसार मतपत्रको डिजाइन तयार गरेर छपाइका लागि पठाइएको आयुक्त दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया