आइजी मुद्दा ‘हेर्दाहेर्दै’ मा

२०७३ चैत ७ गते १२:४३ मा प्रकाशित
सौर्य समाचार

supreme-court

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आइतबार ‘हेर्दाहेर्दै’ मा रहेको छ । सोमबार सुनुवाई जारी रहनेछ ।
मुद्दाको आइतबारदेखि सुरु अन्तिम सुनुवाइका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय बृहत् पूर्ण इजलास गठन गरेकी थिइन् । कार्कीको इजालसमा न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हालाई सदस्य तोकेकी छन् ।
गत बिहीबार मुद्दा संयुक्त इजलासमा पेस भए पनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम जारी गर्ने न्यायाधीशसमेतको इजलासमा पेसी तोकिएको भन्दै सुनुवाइ रोक्न माग गरेका थिए । महान्यायाधिवक्ता श्रेष्ठको माग अनुसार पेसी आइतबारका लागि सारिएको थियो । तर, आइतबार पनि अन्तरिम आदेश जारी गर्नेमध्येका एक न्यायाधीश हरिकृष्ण कार्की इजलास सदस्य तोकिएका थिए । अघिल्लो सुनुवाइमा तेजबहादुर केसीसमेतको इजलास तोकिएको थियो ।
पेसी सारेसँगै संयुक्त इजलासले मुद्दाको गम्भीरतालाई ध्यानमा राखी पूर्ण इजलासमा पेस गर्न पनि आदेश गरेको थियो । आइजी बढुवाको फाइल पनि इजलासले मगाएको थियो । १ फागुनमा मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेको थियो । सिफारिसको दुई घन्टा बित्न नपाउँदै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अधिवक्ता कपिलदेव ढकालको रिटमा सुनुवाइ गर्दै निर्णय कार्यान्वयन रोकेको थियो ।
सरकारको सिफारिस यथास्थितिमा राख्न आदेश भएकै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।
अन्तिम सुनुवाइले यसअघि १८ फागुनमा जारी अन्तरिम आदेश खारेज गरे चन्दको सिफारिस कार्यान्वनको बाटो खुल्नेछ । रिट जारी भएको अवस्थामा भने सरकारले नयाँ प्रक्रियाबाट फेरि प्रहरी प्रमुख सिफारिस गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया