जिल्लाका सबै केन्द्राध्यक्षले दिए सामूहिक राजीनामा

२०७३ चैत ७ गते १२:४५ मा प्रकाशित
सौर्य समाचार

महोत्तरी । महोत्तरीका सबै केन्द्राध्यक्षहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार त्रिभुवन मावि गौशालाका केन्द्राध्यक्ष आमोदकुमार साहलाई प्रजिअले विनाकारण कारबाही गरेको भन्दै केन्द्राध्यक्षहरूले सामूहिक राजीनामा दिएका हुन् । यता जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले राजीनामा स्वीकृत एवं कारबाही फिर्ता नभएको र आइतबार पुनः छलफल गरिने जनाए । आइतबार गौशाला केन्द्रमा सहायक केन्द्राध्यक्ष र अन्य सेन्टरहरूमा साविककै केन्द्राध्यक्षहरूले परीक्षा सञ्चालन गरिने जिशिअले बताए ।
त्रिभुवन मावि गौशालाका केन्द्राध्यक्ष आमोदकुमार साहले स्थानीय मदर टेरेसा किडडी कनभेन्ट बोर्डिङ स्कुलका परीक्षार्थीहरूलाई एकै कोठामा राखेर जाँच लिइरहेको र प्रहरी निरीक्षक शम्भु पोखरेलको अनुगमन टोलीले उनीहरूलाई छुट्याएर अर्को कोठामा राख्दासमेत पछिबाट पुनः सोही कोठामा राखेकोले उनी निष्कासनमा परेका थिए ।
यस सन्दर्भमा नेपाल शिक्षक संघका अध्यक्ष सुशील यादवले त्यहाँको वास्तविकता बुझाइमा समस्या हँुदा यस्तो घटना भएको तर केन्द्राध्यक्ष नै दोषी नभएको बताए । उनले जिल्ला शिक्षा अधिकारीलाई हामीले कारबाही फिर्ता गरे राजीनामा फिर्ता हुने बताएपछि भोलि केन्द्राध्यक्ष साह बिरामी बिदा लिएर बस्ने सहमति भएको र पर्सिदेखि उहाँ नै केन्द्राध्यक्ष रहने सहमति भएको आपूmसँग लिखित प्रमाण भएको बताए ।
जिल्लाभरिका एसइई केन्द्रहरूमा सबैभन्दा वरिष्ठ केन्द्राध्यक्ष मुन्सिफ मावि साँढाका केन्द्राध्यक्ष ललनप्रसाद सिंहको अध्यक्षतामा बसेको केन्द्राध्यक्षहरूको बैठकले प्रजिअले गरेको कारबाहीको खेद प्रकट, केन्द्राध्यक्षको निष्कासन फिर्ता, गौशाला चौकीका इन्चार्ज प्रहरी निरीक्षक शम्भु पोखरेलमाथि कारबाही र सामूहिक राजीनामा गर्ने निर्णय शनिबार गरेपछि जिशिअलाई राजीनामा बुझाएका थिए ।
अनियमितता गरेको आरोपमा महोत्तरीमा एक केन्द्राध्यक्ष, एक निरीक्षकसहित एक सय २१ परीक्षार्थी निष्कासनमा परेका छन् । हालसम्म प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको नेतृत्वमा आठ परीक्षा केन्द्रमा अनुगमन टोली पुगेकोमा प्रायः सबै केन्द्रहरूमा अनियमितता पाइएको टोलीले जनाएको छ ।

तपाइको प्रतिक्रिया