संकटमा डुंगा चलाउने पेसा

२०७३ चैत ७ गते १२:४८ मा प्रकाशित
सौर्य समाचार

palpaपाल्पा । कालीगण्डकी नदीमा काठको डुंगा चलाउने पेसा गर्दै आएका बोटे समुदाय पेसाबाट विस्थापित बन्दै गएका छन् । कालीगण्डकी नदीमा पुल बनेसँगै उनीको पुख्र्यौली पेसा लोप हुँदै गएको हो । कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायत घाटमा डुंगा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुंगे तथा पक्की पुल निर्माणसँगै उनीहरूको पेसा संकटमा परेको हो ।
पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठूलो बस्ती रहे पनि माछा मार्ने र डुंगा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल बनेसँगै डुंगा चलाउन छाड्नुपर्ने बाध्यता आएको राम बोटे बताउँछन् । ६० घरपरिवार बोटेबस्ती भए पनि अहिले अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्न बाध्य छन् ।
स्थानीय बासिन्दा सूर्यप्रकाश पोखरेलले नदीमाथि पुल बन्नुभन्दा अघि डुंगा चढ्न एक हप्तासम्म कुर्नुपर्ने र पाँच पैसादेखि पाँच रूपैयाँसम्म तिरेको सुनाए । खासगरी पहिला पैसाभन्दा पनि अन्नबालीमा सेवा लिन पाइने चलन रहे पनि पछि डुंगा चढेपछि पैसा तिर्नुपर्ने व्यवस्था आएपछि दुवै पक्षलाई सहजता आएको पोखरेल बताए ।
डुंगा चलाउँदा अन्नबाली मुरीका मुरी संकलन हुँदा उनीहरूले खेतीपाती गर्न पर्दैनथ्यो, तर अहिले खेतपाती तथा मजदुरीमा महिला अग्रसर भएर लागेका छन् । बोटे समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रूपमा विपन्नको संख्या बढी छ । रामपुर नगरपालिका, रम्भागाउँपालिका, बगनासकाली र तानसेन नगरपालिकासँग कालीगण्डकी नदीको सिमाना हुँदै बग्छ ।

तपाइको प्रतिक्रिया