हामी सधैँ दलित नै हुने ?

मा प्रकाशित

‘दलित के हो ?’ शीर्षकमा ०४४ जेठ ८ गते मैले यस्तो मुक्तक लेखेको रहेछु । त्यो बेला अलिअलि लेख्न जान्नेले केही न केही उपनाम राख्ने चलन थियो । सम्भवतः पञ्चायती शासकको नजरमा भूमिगत हुन लेखक–कविहरू उपनाम राख्थे । किशोर उमेरमा स्वभावगत विद्रोहको हावाले हामीलाई पनि छोएको थियो । कोही साथीले पीडित, कसैले कथित, कसैले अकेला, कसैले राख, कसैले एमटी भन्दै आफूलाई चिनाउन थाले । मलाई दलित लेख्न मन लाग्यो । विद्याधर गुरागाईं ‘दलित’ । यसरी ०४१ असोज २० देखि ०४५ कात्तिक १७ सम्म म दलित भएँ ।
गुरागार्इं ‘दलित’ नामबाट कविता, कथा, समाचार लेख्थेँ । कविता सुनाउँथेँ, पुरस्कार, प्रमाणपत्र थाप्थेँ । कसैले ‘ओ ! दलितजी !’ भन्दा दंग पर्थें किनकि म आफूलाई त्यही नामले चिनाउन चाहन्थेँ । त्यसरी चिनिएकोलाई उपलब्धि ठान्थेँ । इटहरीबाट प्रकाशित हुने सप्तकोसी साप्ताहिकको ०४४ कात्तिक १२ गते बिहीबारको अंकमा ‘गुरागाईं दलित’ का नामबाट छापिएको ‘कल्पना’ शीर्षकको कविता मेरो बृहत् क्षेत्रमा सार्वजनिक भएको पहिलो रचना थियो । कवि दलितको आरम्भिक कोसेढुंगा बनेको त्यो कविता छापिएको पत्रिका मित्र गीतनारायण एमटीले सुनसरी क्याम्पसभरि घुमाउँदा कम्ती गौरवको अनुभूति भएको थिएन ।
ती दिनहरूमा म काठमाडौंबाट प्रकाशित हुने मातृभूमि र विमर्श साप्ताहिकमा गुरागार्इं दलितका नामबाट अनेक प्रश्न र सूचनाहरू पठाइरहन्थेँ । ‘एसियाली मापदण्ड’ र ‘आधारभूत आवश्यकता’ के एक–अर्काका पूरक हुन् ?, सिर्जनशील पुस्तकालय खोई ? जस्ता प्रश्नहरू हुन्थे । कतिपय प्रश्नले राजनीतिक अर्थ पनि बोक्ने हुँदा ‘को हो यो दलित ?’ भन्ने जिज्ञासा समाजमा हुन्थ्यो, जसलाई म आफ्नो सफलता ठान्थेँ ।
त्यही क्रममा इनरुवाबाट प्रकाशित हुने ‘समाचार जगत’ साप्ताहिकमा गुरागाईं दलितका नामबाट ‘अभिवादन’ शीर्षकको अर्को कविता छापियो । सूचना थाहा पाएर पत्रिकाका केहीप्रति लिनुप¥यो भनेर समाचार जगतको कार्यालयमा गएँ । रविन्द्र चक्रवर्ती सम्पादकीय लेख्दै थिए ।
‘कता आएको भाइ ?’
‘मेरो कविता छापिएको पत्रिका लिन ।’
‘लियौ ?’ ‘लिएँ !’
‘खोई हेरौँ ! कुन कविता ?’
मैले पत्रिका दिएँ । कविताको सुरुमै छापिएको नाम देख्ने बित्तिकै उनले सोधे, ‘के हो यो दलित भनेको ?’ नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण चक्रवर्तीलाई प्रमाणपत्र तह पढ्दै गरेको मैले दलित शब्दको अर्थ लगाउँदै भनेँ, ‘दमन गरिएको, हेपिएको, पछि परिएको वा पारिएको ।’
‘अनि तिमी दलित कसरी भयौ त ?’
‘होइन, यो एउटा उपनाम राखेको !’
‘ठिकै छ, तर तिमीले आफूलाई चिनाउन यही शब्द किन छानेको ? शब्दकोशमा अरू पनि शब्दहरू थिए होलान् !’
‘हेर भाइ, तिमी आफूलाई जस्तो बनाउन चाहन्छौ, त्यस्तै बन्छौ । आफूलाई दलित, हेपिएको पिछडिएको ठानिरहन्छौ भने त्यस्तै हुन्छौ । यदि अगाडि बढ्न, सफल हुन चाहन्छौ भने पहिले आफ्नो सोच परिवर्तन गर ।’
संवाद भएको यति हो । तर, यो संवादले मलाई निकै दिनसम्म सोच्न बाध्य बनायो । अन्ततः मैले आफ्नो नाम बदल्ने निर्णय गरेँ । र, ०४५ असार १ गते परिवर्तनको यो परिस्थितिबारे पाठकहरूप्रति जवाफदेही भएर लेखेँ –
‘सुरुआत हुँदा मैले आफ्नो उपनाम दलित राखेको कुरा सम्झिँन्छु । विभिन्न कारणहरूले । मनभित्रको व्यथा दलित थियो । वातावरणसँग तिरस्कृत हुनुको यथार्थ र आफूसँगको असफलता थियो दलित । साँचो अर्थमा जबसम्म हाम्रो समाज यथावत् छ, सामाजिक विकृतिहरूविरुद्ध तबसम्म दलितहरू यथावत् रहिरहनेछन् । दलित कहिल्यै पनि अन्त हुने प्रकरण हुँदै होइन । बरु आत्मभिमानको सुरुआत हो ।
तर, परिवर्तनको गति पनि विचित्रको छ । परिवर्तनको क्रममा साथीहरूको सल्लाहबाट ‘दलित’ उपनामलाई मैले परिवर्तन गर्ने निर्णय गरेको छु । मेरो पालो अब ‘दलित’ बाट ‘सुविद’ भयो ।’
कम्प्युटर प्रशिक्षक सुनिता मरिकलाई चिन्नुहुन्छ तपार्इं ? बेचन मरिक अर्थात् बाबा भूतनाथकी छोरी । ऊ मेरो साथी हो । म उसलाई दलित भन्न चाहन्न । प्रसंगवश, उनका बुबा बेचन मरिक कसरी बाबा भूतनाथ बने, त्यो प्रसंग म यहाँ सम्झिन चाहन्छु ।
काठमाडौं वनकाली र धरानमा सञ्चालित किरो रिसर्च सेन्टरका संस्थापक उनी जीवनकालमा दलित भनिएको समुदायका एक रोलमोडल बनिरहे । हस्तरेखा विद्या, तन्त्र–साधना, वास्तुशास्त्र र अंक विज्ञानमा सिद्धहस्त मानिन्थे उनी । हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘ब्रह्म–सूत्र’ कार्यक्रमका सञ्चालक पनि थिए ।
नेपालमा अझ पनि सबैभन्दा बढी छुवाछुत र भेदभावको पीडा भोगिरहेको समुदाय हो, डोम । त्यसै समुदायका प्रतिनिधि उनी भन्थे, ‘वेदलगायत धर्मशास्त्रले भन्छ कि कोही पनि मान्छे जन्मजात ब्राह्मण वा पुरोहित हँुदैन । सबै मान्छे जन्मिदा शुद्र नै हुन्छ । मानिसको कर्मले उसको जात निर्धारण हुने हो । उदाहरणका लागि मलाई लिन सक्नहुन्छ । म त्यही डोम समुदायको व्यक्ति हुँ, जुन समुदायले आफ्नो पहिचान दिएर अहिले पनि सार्वजनिक होटलमा चिया खान पाउँदैन । जसको शरीर छोएमा छुनेकै शरीर अपवित्र हुन्छ भन्ने धारणा छ ।’ तर, उनीकहाँ आफ्नो हात देखाउन उच्चजातका व्यक्तिहरू पुग्थे । तर, बाबा भूतनाथ हुनुअघि बेचन मरिकले छुवाछुत र भेदभावको चरम पीडा भोगेका थिए, जुन घटनाले उनलाई बाबा भूतनाथ बनाएको थियो ।
०१७ साल माघ ३ गते उनी आमासहित बिरामी बुबाको उपचार गर्न बिहारको दरभंगास्थित लहेरियासराय अस्पताल गएका थिए । अस्पताल भर्ना गरेको भोलिपल्ट बिहानै बुबाको मृत्यु भयो । त्यहाँबाट लास घर ल्याउँदा बढी खर्च लाग्ने भएकाले विपन्न बेचन र उनकी आमाले त्यहीँ कोसी नदी किनारमा दाहसंस्कार गर्ने निधो गरे ।
सात सय रुपैयाँमा दाहसंस्कार गर्न पण्डा (पण्डित) राजी भयो । दागबत्ती दिने बेला पण्डाले बेचनकी आमासँग मृतकको गोत्र सोधे । जसै उनी डोम भएको थाहा भयो, ती पण्डाले बेचनकोे बुबाको लासलाई लात्तले हानेर चिताबाट तल झारिदिए । त्यतिले नपुगेर आमा छोरामाथि पहिले नै जात किन नभनेको भन्दै कुटपिटसमेत भयो । त्यो घटनाले बेचन ज्यादै मर्माहत भए । र, त्यही दिन उनले कसम खाए कि म एकदिन यस्ता कथित बाहुनहरूलाई घुँडा टेकाएरै छाड्छु !
त्यही इख बोकेर उनी घरबाट हिँडे र विभिन्न स्थानमा भौँतारिँदै बनारस पुगे । त्यहाँ डाक्टर रामनाथ अघोरीसँग भेट भयो, जसको सेवा–टहलमा उनले आफूलाई समर्पित गरे । बुबाको दाहसंस्कार गर्ने क्रममा पण्डाहरूले गरेको दुव्र्यवहारको पीडा सुनाए । उनको दुखद् कथा सुनेर रामनाथ अघोरी आश्चर्यचकित भए । र, भने, ‘चिन्ता नगर तिमीलाई म हजारौँले खुट्टा ढोग्ने उच्चकोटीको योगी बनाइदिन्छु ।’
नभन्दै तिनै अघोरीले सिकाएको साधना र मार्गमा लागेर, १४ वर्षको बनारस बसाइँसँगै उनी ‘अछुत’ बेचन मरिकबाट ‘मान्यवर’ बाबा भूतनाथ भए ।
दलित भन्नाले दमन गरिएको, थिचिएको, कुल्चिएको, समाजमा हक, इज्जत प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारिएको जनसमुदाय भनी बृहत् नेपाली शब्दकोशमा परिभाषित गरिएको छ । यो पृष्ठभूमिमा, मेरो मनमा बीसौँ वर्षदेखि एउटा जिज्ञासा रहिरहेको छ कि हामीले डोमलगायत जातिलाई कहिलेसम्म दलित बनाइराख्ने ? कहिलेसम्म दलित भनाइराख्ने ? राज्यले उनीहरूलाई दलितको टीको कहिलेसम्म लगाइराख्ने ? अझ संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग बनाएर त्यसलाई संस्थागत गर्ने कसरतमा किन लागेका हुन् अगुवाहरू ? के हाम्रा नाति–पनाति पुस्ताले पनि दलित भनेका यी–यी हुन् भनेर गनिरहनुपर्ने, भनिरहनुपर्ने हो ?
यो देशमा अघिल्लोपटक संविधान बनाउँदा झाँगडलाई पनि दलितको अनुसूचीमा समावेश गरिएको थियो । तर, त्यसलाई उनीहरूले स्वीकार गरेनन् र हामी दलित होइनौँ, हामीलाई दलित भन्न पाइँदैन भनेर साहसका साथ अगाडि आए । र, सर्वोच्च अदालतको सहयोगमा जातीय गौरव उठाए । यसैगरी, कामी, दमाई, सार्की, डोम, चमार आदिले हामी आफूलाई दलित मान्दैनौँ, हामीलाई कसैले पनि दलित नभनोस् र त्यस्तो व्यवहार नगरोस् भनेर सर्वोच्च अदालत गए, के अदालतले ‘होइन, तिमीहरू दलित नै हौ ! दलित नै हुनुपर्छ ! भन्छ ? किमार्थ भन्दैन । न अदालत, न राज्य, न समाज कसैले पनि त्यसो भन्दैन । भन्न पाउँदैन । स्मरणीय छ, एलिनोर रुजबेल्टका शब्द, ‘कसैले पनि तपार्इंको इच्छा नभइकन तपाईंलाई हीनताबोध (सानो) गराउन सक्तैन ।’
सामाजिक सञ्जालहरूमा मैले यस्तो विचार सार्वजनिक गरेपछि, सेरोफेरोमा विभिन्न प्रतिक्रियाहरू देखापरे । साहित्यकार÷राजनीतिकर्मी गोपाल कोइरालाले भने, ‘दलित त्यो हो जसले अरूलाई वा आफूलाई दलित भन्छ ।’ गोपाल निरौलाले सुझाव दिए, ‘अब बन्ने किताबमा दलित शब्द हटाउनु राम्रो होला ।’ अर्जुनकुमार आचार्यले भने, ‘कुरा बुझेका लेखक–कवि, पत्रकारहरू खुलेर सडकमा आए भइगयो नि, कसले रोकेको छ ?’
कवि हाङयुग अज्ञातले पोस्ट राखे, ‘कामी–दमाई मात्रै दलित होइनन् । किनभने, दलित भनेका राज्यसत्ताले अन्याय, अत्याचार, दमन र शोषण गरेका नागरिकहरू हुन् । तसर्थ नेपालमा ९९ प्रतिशत दलित छन् । बाँकी रहेका एक प्रतिशतले भारतको आडमा राज्यसत्ता कब्जा गरेर हामीमाथि कुशासन थोपरिरहेछन् ।’
अधिकारकर्मी भेषराज पोख्रेलले लेखे, तपार्इंले मात्र खुवाएर हुँदैन दाइ समाजले नै खुवाउनुपर्छ अनि मात्र परिवर्तन भएको मानिन्छ । त्यसमा उत्तम कोइरालाको टिप्पणी छ, पुरानो पुस्ताले मान्दैन । अबको पुस्तालाई भन्दै पर्दैन । सञ्चारकर्मी विवेक गौतमले प्रतिप्रश्न गरे, ‘त्यसोभए के सिरहाको धनगढी–३ नयनपुरका दीपक मल्लिक आफूले चाहेर दलित भएका हुन् त ?’
मैले तर्क गरेँ, ‘हो नि ! राउटेहरू अझै जंगलमै बस्न चाहन्छन् । त्यसैमा विडम्बनायुक्त मजा छ उनीहरूलाई । सिरहाको मात्र किन जुनसुकै ठाउँका दलितहरूले ‘म किन दलित ?’ भनेर प्रश्न गर्ने हो भने उनीहरूको मुक्ति उहिल्यै भइसक्थ्यो । कतिले यो कुरा बुझेर आफूलाई दलितभन्दा माथिल्लो श्रेणीमा पु¥याइसकेका छन् । सिरहालगायत सीमान्त बस्तीमा त्यो चेतना नपुग्नुको अलिअलि दोष तपार्इं–हामी जस्ता सरोकारवालाहरूको पनि हो । जो, कुनै कार्यक्रम गर्दा भत्ता पाइने लोभले वा चुनावका बेला भोट चाहिने करले मात्र ती बस्तीहरूमा पुगेका हुन्छौँ । तथ्य कुरा बुझाउन आफ्नो छुट्टै समय दिँदैनौँ ।’
शिक्षक दिनेश पौडेलका अनुसार जातीय विभेद समाजको तात्कालिक आवश्यकताले जन्मेको व्यवस्था थियो । त्यस समयमा उनीहरूको दृष्टिमा दुराचार, व्यभिचार वा नैतिक पतन हुनेलाई जातिच्यूत गराइन्थ्यो । यही दण्डविधान थियो । तर, अब कानुन फेरिए । युगको आवश्यकताले व्यक्तिलाई अछुत राख्नुपर्छ भनेन । तर, दलित अधिकारकर्मी भनिने अहिलेका एनजिओकर्मीहरूले त दलितलाई बाँकी समाजबाट एक्ल्याएर झगडालु, ईष्र्यालु र शंकालु बन्ने तालिम दिइरहेका छन् । जबसम्म उच्च भनिएका जातिबाट अलग पहिचान निर्माण गरिन्छ, तबसम्म यो आन्दोलनको औचित्य कहिल्यै सकिनेवाला छैन अर्थात् दलितहरू जहिल्यै दलित भन्ने कलंकको साइनबोर्ड झुन्ड्याइरहन बाध्य हुनेछन् ।
ज्योतिष मधुसूदन रिजाल अशिक्षा, बेरोजगार, गरिबी र रुढीवाद नै दलित हो भन्छन् । रिजालका अनुसार यसमा सबै जातिका मान्छे पर्छन् । अरूको के कुरा गर्नु उत्तम जात भनिने ब्राह्मणमा पनि जैसी भनेर कर्मकाण्ड नचल्ने, छोएको नखाने चलन छ । तथापि यस्ता कुरा हिजो थिए होलान् । अब छैन । जातको आधारमा विभेद गर्नु अपराध हो ।
यसरी प्रतिक्रियाहरू सञ्चयन गर्दा थाहा हुन्छ, कोही पनि व्यक्ति बाहिरी आवरण खासगरी शरीरले होइन मनले दलित हुने रहेछ । महाकवि देवकोटाले भनेका छन्, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’ प्रष्टै छ, मानिस जातले ठूलो मात्र होइन, सानो पनि हुँदैन ।
मर्यादा पुरुषोत्तम रामले सबरीले दिएको जूठो बयर खाएर पौराणिक कालमै हिन्दू धर्म–संस्कृतिमा छुवाछुतको भेदभाव ग्राह्य नहुने सन्देश दिएका थिए । बुझेका मान्छे र धर्म–प्रचारकहरूले राम्रा कुरा समाजमा फैलाउन नसक्दाको परिणाम हो अहिले सनातनी समाजमा देखिएको अनपेक्षित परिदृश्य ।
फेरि छुवाछुतको कुरा गर्दा बाहुन–क्षेत्रीहरूले दलित भनिएका जातकाहरूलाई भेदभाव गरिएको कुरा आउँछ, तर दलित भनिएका जातहरूमै आन्तरिक छुवाछुत भयंकर छ । बाहुन–क्षेत्री बाहुन–क्षेत्रीभित्रै पनि आन्तरिक छुवाछुत छ । यी सबै धर्मसँग जोडिएका ऐँजेरुहरू हुन् । क्रिस्चियन, इस्लाम र बौद्ध धर्ममा पनि छुवाछुतको व्यवहार हुन्छ । कुनै पनि धर्मले छुवाछुतलाई प्रश्रय दिँदैन । तर, मानिसहरू जान्दा–जान्दै पनि साबुन पानीले हात नधोएको अवस्थामा पनि ‘फोहोरी हात’ ले खानेकुरा समातिरहेका, खाइरहेका हुन्छन् । त्यस्तै भएको छ यो छुवाछुत, बोक्सी, महिनाबारीसँग सम्बन्धित कुप्रथाहरूको कुरा पनि ।
कालान्तरमा बालागुरु षडानन्द, पण्डित छविलाल पोखरेललगायत महापुरुषहरूले सार्वजनिक रूपमा दलित भनिएका समुदायका मानिसको उत्थानका लागि काम गरेका थिए । दलित भनिएकाहरूको घरमा गएर व्रतबन्ध, पूजा–श्राद्ध गर्ने, उनीहरूले पकाएको खाने, सहभोजको आयोजना गर्ने थुप्रै बाहुनहरू भए इतिहासमा र अझ पनि कतिले त्यस्तो सत्कार्य गरिआएकै छन् । तर, हामी कतिपय अधिकारकर्मीहरू नै यस्ता सकारात्मक उदाहरणहरूको प्रचार गर्न हिच्किचाउने गर्छाैं ।
अर्को कुरा, संविधानबाट यो दलित शब्द हटाउनुपर्छ । र, राज्यले दलित भनिने र व्यवहार गरिने कुप्रथा उन्मूलन गर्नुपर्छ । दलित आयोग खारेज गर्नुपर्छ । किनकि हाम्रो समाजको अघिल्लो पुस्ताले गरेको गल्तीलाई हामीले कहिलेसम्म बोकेर हिँडिरहने ? कहिलेसम्म हामीले कोही ‘मान्छे’ ‘दलित’ पनि हुन्छ भनेर मानिरहने ?
नेपालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिमार्फत् २२ जातलाई दलित भनी पहिचान गर्दा नेवारी दलितभित्रका कुसुले, कुचे, च्यामे र पोडे जातिलाई समेत समावेश गरेको थियो । तर, अहिले यी चार जाति दलित हो कि होइन भन्नेमा विवाद छ । उही जातिलाई कोही दलित हो भन्ने कोही होइन भन्ने ! विवादको चुरो बुझिनसक्नु छ । दलित जातिमा सूचीकृत गरिएका मुसहरहरूका ‘कुल देवता’ मानिने दिनाभद्रीले राज्य सञ्चालन गरेको मिथकीय कथा तराईतिर लोकप्रिय छ । मिथिला समाजमा यसका अनेकौँ प्रमाणहरू पनि छन् । विडम्बना उनै राजाका सन्ततिहरू आज आफूलाई दलित ठानिरहेका छन् ।
यसबाहेक नेपालमा दलितको सूचीमा थपिने जातिहरूको संख्या बढ्दो छ । त्यसैको एउटा उदाहरण हो, महोत्तरीमा रहेको धनकार जाति । समाजमा आफूहरूमाथि डुम र हलखोर जातिसरह व्यवहार हुने गरेको दाबी गर्दै उनीहरूले आफूहरूलाई पनि दलित वर्गमा सूचीकृत गराउन माग गरेका छन् । राज्यबाट दलितले पाउने सुविधा आफूहरूले पनि पाउनुपर्ने उनीहरूको दाबी छ । दुःख लाग्छ, आरक्षण र अरू सुविधाको प्रलोभनमा परेर–पारेर थप जातिहरू दलित हुन प्रेरित हुँदैछन् ।
प्रश्न यो होइन कि मैले यो आलेखमा के तर्क गरें ? के विषय उठान गरेँ ? मूल प्रश्न वा सवाल यो हो कि आज दलित भनेर सम्बोधन गरिएका जाति कसैले पनि आफूलाई त्यसो भनिदिँदा गौरवको अनुभव गर्छन् कि गर्दैनन् ? कि अपमानबोध हुन्छ ? यदि यो शब्दप्रति गौरवबोध हुँदैन भने किन उनीहरू आफूलाई दलित नै भनाइराख्न उद्यत छन् ?
एकदिन मधेली सात नम्बरस्थित मुसहरीको रिपोर्टिङ गर्ने क्रममा मैले सोधेको थिएँ, ‘तपार्इंहरूले आफ्ना छोराछोरीलाई स्कुलमा पढाउन थाल्नुभएछ, त्यसो गर्दा मुसा खोजेर खाने अनि माटो काट्ने तपार्इंहरूको परम्परा र पेसा त हराउने भयो नि, होइन ?’
जवाफमा स्थानीय तारादेवी ऋषिदेवको प्रतिप्रश्न थियो, ‘सबदिनसे पाछुए रहबे ? हमरा आरु नै पढ्लिए त बालबच्चाके पढावै पर्ले कि !’ (हामी सधैँ पछि नै रहनु ? हामीहरूले पढ्न पाएनौँ तर केटाकेटीलाई त पढाउनै प¥यो नि !’)

तपाइको प्रतिक्रिया