‘किरात बालबालिका नामकोश’ किराती संकलन

मा प्रकाशित

काठमाडौं । पहिचानको विषयलाई लिएर ‘किराँत बालबालिका नामकोश’ पुस्तक प्रकाशनमा आएको छ । चन्द्रकुमार राई ‘हतुवाली’को संकलन, लेखन तथा सम्पादन रहेकोले उक्त पुस्तक होम्ताङ सेवा समाज काठमाडौंले प्रकाशन गरेको हो । उक्त पुस्तकमा किराँत राई, लिम्बू, कोइँच (सुनुवार) र याक्खा भाषाको नामपद तथा शब्द र नेपालीमा अर्थसहित समेटिएका छन् । चार सय पृष्ठमा समेटिएको नामकोशमा राई समूहभित्र २८ वटा भाषालगायत ३१ भाषा नाम रहेका छन् ।

समेटिएका भाषाहरूमा आठपहरिया, कुलुङ, कोयी, खालिङ, चाम्लिङ, छिलिङ, छिन्ताङ, छुकुवा, जेरोङ, तिलुङ, थुलुङ, दुङमाली दुमी, देवास, नाछिरिङ, नेवाहाङ छन् । त्यसैगरी पुमा, फाङदुवाली, बान्तावा, बेलहारे, मुगाली, मेवाहाङ, याम्फु, लिङखिम, लोहोरुङ, वाम्बुले, बाहिङ, साम्पाङ, लिम्बू, कोइँच र याक्खा छन् ।

भोजपुरको रानीबास–३ मा ४६ वर्षअघि जन्मिएका लेखक हतुवालीको यसअघि चार कृति प्रकाशित छन् । ती कृतिहरूमा साकेन्वाको उत्पत्ति (२०५६), साकेन्वा (२०६४), किरात राई जातिभित्रका विशेष संस्कृतिहरू (२०६५) र राई बान्तावा भाषामा बालबालिकाको नाम (२०७०) छन् ।

पुस्तकको भूमिकामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले पहिले पहिले हाम्रा नाम तथा स्थाननामहरू मातृभाषामै हुने उल्लेख गरेका छन् । ‘दुई सय ४० वर्ष बढी समयदेखि राज्यको एक भाषिक नीतिका कारणले पनि खस नेपाली भाषाको बढ्दो प्रचलन र प्रभावमा हाम्रा आफ्ना र स्नान नामहरू पनि खस नेपालीकृत भएर गए,’ सांस्कृतिक र भाषिक विचलन आएको उल्लेख गर्दै भनेका छन्, ‘अस्तित्व रक्षका लागि मात्र भए पनि जन्मने बालबालिकाको नाम मातृभाषामा राखेर भाषा र संस्कृति संस्कृतिको संरक्षणमा अघि बढ्ने जमर्कोप्रति शुभकामना व्यक्त गर्दछु ।’

यसैगरी संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो जातीय संस्कार र संस्कृतिको चिनारी र विशेषता तथा मातृभाषााको श्रीशोभा दर्शाउने नामको महत्व ज्यादै ठूलो हुने उल्लेख गरेका छन् । ‘यस कोशभित्रका नामहरू अध्ययन गर्दै जाँदा किराँती राई, लिम्बू, सुनुवार र याक्खा समाजमा विद्यमान अमूर्त संस्कृतिको भण्डार विश्व ब्रम्हाण्डदेखि लिएर प्रकृतिसम्म ओगटेको देखापर्दछ,’ जोशीले भनेका छन्, ‘यो नै यस नामकाशेको महान् उपलब्धि भएको छ ।’
भाषाशास्त्री डा. नोवलकिशोर राईले यस कोशले भाषा–संस्कृतिको बेलो पछ्याउने प्रयाको थालनी भएको उल्लेख गरेका छन् । ‘जैसीले पात्रा पल्टाएर राख्ने संस्कृतिका नाम वा फिलिमबाट प्रभावित भएर दिइने नामहरूबाट भिन्न बाटो खोज्ने एउटा ठूलो जमातले आफ्नो भाषा र संस्कृतिको झलक दिने नाम आफ्नो बालबालिकालाई दिन चाहेको विषय स्तुत्य छ,’ राईले भनेका छन्, ‘यो सत्य प्रयासले किराँती समाज र गैर किराँती समुदायमा समेत एउटा जिज्ञाशा र चेतनाको झिल्को उठ्नेछ भन्ने विश्वास लिन सकिन्छ ।’
अर्का भाषाशास्त्री डा. माधवप्रसाद पोखरेलले भाषावैज्ञानिक सिद्धान्तका आधारमा कुनै मातृभाषामा भाषिक संकट निम्त्याउने पहिलो खुड्किलो नै आफ्नो मातृभाषामा केटाकेटीको नाउँ राख्न मन नलाग्नु हो भनेका छन् । ‘यहाँ जुन जुन भाषाबाट शब्दहरू बटुलिएका छन्, तीमध्ये अर्थ पनि उच्चारण झन्डै मिल्ने शब्दहरूले ती भाषाहरूको नजिकको ऐतिहासिक साइनो देखाउँछ,’ पोखरेलले भनेका छन्, ‘यति ठूलो तुलनात्मक शब्दकोशका गर्भमा धेरै ठूलो ऐतिहासिक, सांस्कृतिक, मानशास्त्रीय र भाषा वैज्ञानिक रहस्य लुकेको सुइँको पाइन्छ ।’

पुस्तकको भूमिकामा भाषाशास्त्री डा.लाल–श्याँकारेलु रापचाले चेतनाको अभाव र औपनिवेश–साम्राज्यवादी तथा सामन्तवादीहरूको पेलानले संसारलगायत नेपालका आदिवासीको मौलिक पहिचानको स्थिति अत्यन्तै नाजुक अवस्थामा गुज्रिएको बेला यो कृतिले भाषिक–सांस्कृतिक सतिविरुद्धको अभियानका रूपमा बुझ्नु पर्ने उल्लेख गरेका छन् । ‘किराँत बालबालिका नामकोश भाषिक–सांस्कृतिक सति जाने उल्टो गोरेटोको सुल्टो गोरेटो हो,’ रापचाले भनेका छन्, ‘आफ्नो मौलिक भाषिक–सांस्कृतिक निधिको माया गर्ने नविनतम पुस्ताहरूले यस्तो सुल्टो गोरेटोलाई मुलबाटो बनाऊन् ।’
लेखक हतुवालकै शब्दमा वक्ताले बोल्ने कयौँ भाषाहरू आज क्रमशः खिइने र सकिने अवस्थामा पुगेका छन् । पुर्खाले वर्षौं लगाएर व्यावहारिक जीवनमा भाषाको आर्जन गरेका थिए । यिनै भाषाको माध्यमबाट आपसी जीवनमा सद्भाव, आवश्यकतालगायत कुराहरू आदानप्रदान गरेका थिए । जीवन र जगत भाषाकै कारणले सुन्दर बनाएका थिए । भाषाकै कारणले पहिचान छुट्टै बनाएका थिए । तर, यिनै सुन्दर भाषाहरू क्रमशः समय, परिवेश र परिस्थितिसँगै लोप हुँदै जानु दुःखलाग्दो कुरा हो । पुर्खाले लामो समयमा सिर्जना गरेर दिएको सौगात हामी सन्ततिहरूले संरक्षण र प्रचलनमा ल्याउन नसक्नु भाषाका ज्ञाता हाम्रा पुर्खाहरू प्रतिको बेवास्ता वा असम्मान हो । त्यसैले पुर्खाहरूको सम्मान र जातीय चिनारी दिने हो भने हाम्रा मातृभाषाहरूको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य हो । हाम्रा मातृभाषाहरू आकाशका फल होइनन्, हाम्रै खल्तीका फल हुन् । यी फल टिप्न न खेताला चाहिन्छ, न त अरूको भरोशामा नै रहनुपर्छ, मात्र टिप्ने र खाने चाहानामा वृद्धि गर्नु पर्छ । ‘किराँत बालबालिका नामकोश’ यही टिप्ने र खाना चाहानाको सततः एक प्रयास मात्र हो ।
यो नामकोश किराँत जातिमा लोप हुन लागेका भाषाहरूलाई प्रचलनमा ल्याउने र प्रचलनमा रहेका भाषाहरूलाई व्यापक प्रयोगमा ल्याउने एउटा प्रयोग हो । यो किराँत भाषाको लागि मात्र होइन, अन्य भाषाहरूका सन्दर्भमा पनि उपयुक्त र मार्गदर्शक पुस्तक हो । समय, परिवेश र परिस्थितिअनुसार नेपाली र अंग्रेजी भाषाको चपेटामा परेर होस् वा अन्य कारणले होस् कुनै भाषा निर्मुल र निमिट्यान्न हुन लागेको अवस्थामा सो भाषालाई कसरी प्रचलनमा बढी से बढी ल्याउने र सुसुप्तावस्थामा रहेका भाषाहरूलाई कसरी सरकारी तथा गैरसरकारी दस्तावेजीकरण गर्न सकिन्छ त भन्ने एक सहज प्रयास हो ।
किरात पुर्खाहरूले सदियौँ वर्षमा सिर्जना गरेर विकास गरेका भाषाहरू र सदियौँ वर्ष प्रचलनमा ल्याएर जीवन निर्वाह गरेका भाषाहरू अहिले मर्नु न बाँच्नुको संघारमा छन् । अहिलेको प्रचलनमा किराँत भनेर राई, लिम्बु, याक्खा र सुनुवारलाई मानिन्छ । यी चार किराँतभित्रमा ०६८ सालको जनगणनाले दिएको तथ्यांकअनुसार किराँत राई जातिमा २६ भाषाहरू र लिम्बु, याक्खा र सुनुवारको प्रत्येकको एउटा गरेर २९ भाषा प्रचलनमा रहेको देखिन्छ । ती बाहेक पनि राई जातिमा थप दुई भाषाहरू प्राप्त भएकोले जम्मा ३१ भाषाहरू अस्तित्वमा रहेको पाइन्छ । तथापि, यी ३१ भाषाहरूमा बराबर प्रचलनमा आउने भाषाहरू अति थोरै मात्र रहेका छन् । बुुङलावा, मुगाली, साम वा लिङखिमे बोलिचालीमै छैनन् । एकाध बुढाहरूले बचाएको बाहेक हराउँदै गएका छन् । त्यसरी नै अहिले बोलिचालीमै भएका भाषाहरू पनि प्रचलनको उपयुक्त माध्यम र लिखित प्रयोगको माध्यम नभएर ओरालो लाग्ने अवस्थामै पुगेका छन् । यो अवस्थामा रहेका भाषाहरूको संरक्षण र संवद्र्धन गर्ने एक अचुक माध्यम भाषा नै बालबालिकाको नाम हो ।
बालबालिकोको नाम भाषामा नै राखेपछि समाजमा सहजै प्रचलनमा आउने, जातीय तथा भाषिक सीमालाई सहज रूपमा अपनत्व प्रदान गर्ने र सरकारी तथा गैर सरकारी अभिलेखहरूमा पनि लुप्त वा सुसुप्त भाषा सजिलै अभिलेख्य हुन सक्दछ । यसरी सहजले प्रचलनमा आउनु, अपनत्व पाउनु र अभिलेख्य हुनु भनेको भाषाले प्राथमिकता पाउनु हो । यस आधारमा किराँत बालबालिका नामकोशको महत्व रहेको छ । यो पुस्तक चार किराँत राई, लिम्बु, याक्खा र सुनुवार भाषामा बालबालिका जन्मेपछि भाषामा नाम कस्तो राख्ने भन्ने नाम शब्दहरूको संग्रह हो ।
किराँतहरूले आपूmलाई आफ्नो भाषा बोल्न नआए पनि भाषाको मोह छ । तैपनि, सन्तानको नाम भाषामा राख्न मन छ । किराँत बालबालिका नामकोशको सहयोगले सजिलै संभावना रहेको छ । पुस्तकमा भाषाका नामहरू प्राप्त भएसम्म संग्रहित छन् । यिनै नामहरू मध्येमा प्रिय लाग्ने भाषाको नाम छनौट गरी नाम राख्न सकिन्छ । नाम छान्न सहज होस् र प्रिय शब्द छान्न सकियोस् भनेर नेपालीमा अर्थसमेत दिइएको छ । अर्थात् यो पुस्तक किरात भाषामा बालबालिकाको नाम राख्नको लागि बजारमा पाइने चाउचाउ खाजा वा खाना जस्तै हो ।
पुस्तकमा बालबालिकाको नामको संग्रह मात्र छैन, नामको प्रकार, नामको कानुनी र संवैधानिक व्यवस्था, नामको महत्व, भाषामा नामको महत्व बारेमा प्रकाश पारिएको छ । त्यति मात्र होइन भाषाको के हो, भाषाको लोप हुनुको कारण र भाषामा नामको महत्व बारेमा क्षेत्रगत अनुसन्धानमार्फत् प्रमाणित गरिएबाट पनि पुस्तकको महत्व प्रष्ट रहेको छ । यसले नाम राख्न चााहनेलाई मात्र होइन नामको बारेमा अध्ययन अनुसन्धान गर्ने जिज्ञासुहरूको लागि पनि महत्व राख्दछ ।

तपाइको प्रतिक्रिया