गैँडाछाप सिमेन्टको उत्पादनमा वृद्धि

२०७३ चैत ७ गते १३:०१ मा प्रकाशित
सौर्य समाचार

udaypur-cement-factoryउदयपुर । ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ । उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैँडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको हो ।
सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो, तर अहिले त्यस्ता समस्या नभएकाले उत्पादन बढेको बताए ।
केही समययता आएर ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेलले जानकारी दिए ।
चालु आवको अन्त्यसम्ममा उद्योगले २५ देखि ३० करोडसम्म आम्दानी गर्नेसमेत उद्योग व्यवस्थापनको दावी छ । उद्योगमा अहिले अढाइ लाखभन्दा बढी सिमेन्ट भण्डार गरिराखिएको बताइन्छ । उदयपुर सिमेन्ट उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता आठ सय मेट्रिक टन हो ।

तपाइको प्रतिक्रिया