गिद्धको ढाडमा स्याटलाइट

२०७३ चैत २५ गते १०:०४ मा प्रकाशित
सौर्य समाचार

चितवन । अति संकटापन्न अवस्थामा रहेको डंगुुर जातको गिद्धको संख्या बढाउन संरक्षण गरी राखिएको गिद्धलाई नयाँ ठाउँमा लगेर प्रकृतिमा छाडिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही २ वैशाखमा छाडिँदै छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार विश्वबाटै लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो । निकुञ्जको कार्यालय कसरामा यसवर्ष कोरलेका ९ वटा बच्चासहित ५६ वटा गिद्ध रहेका छन् । सन २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । यद्यपि, ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध २ वैशाखमा छाड्न लागिएको हो ।
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार सन् २०१७ मा पाँच वटा, सन् २०१८ र २०१९ मा चार÷चार वटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । नवलपरासीको पिठौलीमा सोझै प्रकृतिमा छाड्नुअघि केहिमहिना राख्नका लागि खोर निर्माण गरिसकिएको छ ।
उनका अनुसार सो खोरमा यी ६ वटा गिद्धलाई ढाडमा स्याटलाइट ट्याग जडान गरी राखिनेछ । बिस्तारै बाहिर प्रकृतिका गिद्धसँग घुलमिल गराउने ढंगले छाड्नका लागि सबै खालका तयारी पूरा गरिएको छ । यीसँगै सो क्षेत्रमा रहेका प्राकृतिक ६ वटा गिद्धलाई पनि नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छोडिँदै छ । ती दुवै गिद्धको चरिचरण, घुलमिल, बासस्थानलगायत विषयमा स्याटलाइटमार्फत् अध्ययन गरिने कँडेलले बताए । स्याटलाइटले दैनिक ६ पटक गिद्धको अवस्थाको बारेमा जानकारी दिनेछ ।
नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले खोरमा हुर्काइएका र प्रकृतिमा रहेका गिद्धको अध्ययनका लागि यो निकै प्रभावकारी रहने बताए ।
अति संकटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणको प्रयासमा नेपाल अग्रणी रहेको भन्दै उनले भारतमा पनि संरक्षणमा राखिएका गिद्धलाई प्रकृतिमा छाड्न लागिएको बताए । यो अभियानमा विश्वमा नै नेपाल पहिलो रहेको भन्दै विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव नौ प्रतिशत गिद्ध मासिए पछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालेको बताए ।मुख्यरूपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने उनले बताए । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको उनले बताए ।
नेपाल सरकारले २००७ देखि डाइक्लोफिनाक प्रतिबन्ध लगाएको छ । यद्यपि, कतिपय ठाउँमा अझै प्रयोग भएको भन्दै प्रधानले ५६ जिल्लामा डाइक्लोफिनाक निषेधित जिल्ला घोषणा भइसकेको बताए ।भारतीय सीमा क्षेत्रमा डाइक्लोफिनाक अत्यधिक प्रयोग हुने हुँदा नेपालमा प्रतिबन्ध लगाएर पनि गिद्धहरू प्रभावित हुँदै आएको उनले बताए । संरक्षण अभियान थालेको १० वर्षमा निकै प्रगति भएको उनको भनाइ छ ।नेपाल सरकारको गिद्ध संरक्षण अभियानको एक दाता प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख चिरञ्जीवी पोख्रेलले संख्या बढाउनका लागि थालिएको संरक्षण अभियान प्रभावकारी भएको बताए ।ठूलो खर्च भए पनि काम भने प्रभावकारी रहेको र जति सक्दो छिटो प्रकृतिमा गिद्धको संख्या बढाउन सबै जुट्नुपर्ने उनले बताए । एक दशकअघि विद्युत् विस्तारका क्रममा पनि धेरै गिद्ध बिजुलीको तारमा करेन्ट लागेर मरेको बताइन्छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
हाल देशभर सात ठाउँमा यस्ता रेस्टुरेन्ट सुरु गरिएको छ । जटायु रेस्टुरेन्ट गिद्ध संरक्षण केन्द्र हो जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाया किनेर राख्ने गर्दछ । जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको दुई सय ५० मा रेस्टुरेन्टले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ ।एक वर्षमा करिब एक सयवटा पशु चौपाया मुख्यरूपमा गाई, गोरु किनेर गिद्धलाई खुवाउँदै आएको उनले बताए । जटायु रेस्टुरेन्टले संरक्षण गरेको क्षेत्रमा एक सय ८८ वटा गिद्ध रेकर्ड भएका छन, जहाँ आठ प्रजातिका गिद्ध रहेका छन् ।चार प्रजातिका अन्यत्रबाट विभिन्न मौसममा त्यहाँ आउँछन् भने चार प्रजाति रैथाने हुन् । ती चार प्रजातिमध्ये तीन प्रजातिले सोही क्षेत्र र एक प्रजातिले पाल्पा क्षेत्रमा फूल पार्ने र ओथारो बस्ने गरेको चौधरीले बताए । वर्षमा एकपटक गिद्धले एउटा मात्र अन्डा पार्ने गर्दछ । ५५ दिन ओथारो बसेपछि बच्चा कोरल्ने गर्दछ ।

तपाइको प्रतिक्रिया