आलोचनात्मक आँखाले गीतालाई हेर्दा .

२०७३ चैत २६ गते १३:१९ मा प्रकाशित
राजकुमार श्रेष्ठ

Geeta
साँच्चै गीतामा के छ ? दर्शनमा चासो हुने जो कोहीलाई पनि यो खुल्दुली हुने गर्दछ । गीता दर्शनको गहन अध्ययनले आजको मान्छेलाई जीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने कुरामा के सहयोग पुग्छ त ? यसप्रति चासो हुने जो कोहीमा पनि यस्ता जिज्ञासाहरू हुनु स्वभाविकै हो । यस आलेखमा गीता दर्शनका बारेमा संक्षिप्त आलोचनात्मक जानकारी दिलाउने प्रयास गरिनेछ ।
पाण्डव र कौरवको युद्धगाथामा आधारित १८ पर्व रहेको महाभारत नामक महाकाव्यको भीष्म पर्वमा उल्लिखित कृष्ण–अर्जुन संवाद नै गीता दर्शनका रूपमा प्रख्यात छ ।महाभारतको अन्तिम युद्धमा जीवन उत्सर्ग गर्न तयार भएर उभिएका विपक्षी सेनाहरूको बीचमा आफ्नै आफन्तहरू, गुरुहरू, साथीहरू युद्ध भूमिमा देखेपछि शक्तिशाली योद्धा अर्जुन शोक र करुणाले भावविह्वल हुन्छन् । उनको मन मोहग्रस्त हुन्छ र उनी यो लडाइँ नलड्ने मनस्थितिमा पुग्दछन् । कृष्णले युद्ध नलड्ने मानसिकतामा पुगेका अर्जुनलाई पुनः युद्धको लागि तयार बनाउने क्रममा कृष्ण र अर्जुनबीच भएको संवाद नै कृष्ण गीता अर्थात श्रीमद्भागवद् गीता हो ।
गीता दर्शन सम्पूर्णतामा अध्यात्मवादी दर्शन हो । यो यसकारण अध्यात्मवादी हो कि यसले आत्मालाई प्राथमिक तत्व मान्दछ । यसमा आत्मालाई कहिल्यै नमर्ने अमर र अपरिवर्तनीय तत्वको रूपमा व्याख्या गरिएको छ । अध्यात्मवादी दर्शनमध्ये पनि यो वस्तुगत अध्यात्मवादी दर्शन हो । यसले आत्मा भन्ने कुरा वस्तुगत तवरले नै छ भन्ने सोच अघि सारेको छ । यो सोच वैज्ञानिक सोच होइन र तथ्यसँग यो मेल खाँदैन ।
गीता दर्शनमा भनिएको छ ः
न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।२०।। ( श्रीमद्भागवत गीता, अध्याय–२)
यसको अर्थ हुन्छ ः आत्माका लागि न कहिल्यै जन्म छ, न मृत्यु । ऊ आजन्मा छ, नित्य छ, शाश्वत छ र सबैभन्दा पुरानो छ । शरीर मर्दा पनि यो मर्दैन ।
यही धारणा नै गीताको सुरुदेखि अन्त्यसम्म भेटिन्छ । यही नै यसको दार्शनिक सार पनि हो ।
तर, आजसम्मको नयाँ खोज र प्राकृतिक विज्ञानले आत्माको शरीरभन्दा अलग्गै अस्तित्व नभएको प्रमाणित गरिसकेको छ । आत्मा पनि शरीरकै एक महत्वपूर्ण पाटो हो । पदार्थकै उच्च र विकसित रूप आत्मा हो । शरीरकै अभिन्न अंग हुनाले आत्माको पनि जन्म र मृत्यु छ । आत्मा पनि भौतिक शरीर जीवित रहँदासम्म मात्र जीवित रहन्छ । त्यसैले भागवद्गीताको यो दार्शनिक सारसित सहमत हुने कुनै ठाउँ छैन ।
तर, गीता दर्शनको अर्को पाटोलाई हेर्दा यसमा द्वन्द्ववादको अंश पनि भेटिन्छ । यसले यो भौतिक जगत निरन्तर गतिशील भएको बताएको छ । जन्मने हरेक वस्तुको मृत्यु निश्चित छ भनिएको छ । द्वन्द्ववादी दर्शनले पनि संसार परिवर्तनीय छ भन्दछ । तर यो दर्शनले पुनःजन्म हुने कुरा पनि गर्दछ । अतः हरेक वस्तुमा भएको आत्मा मर्दैन भन्ने यो दर्शन अभिधूतवादी द्वन्द्ववादको सार भएको दर्शन हो । कुम्हालेको चक्रजस्तै जन्म मृत्यु फेरि जन्मजस्तो चक्र जीवनमा चल्दछ भन्ने यसको सोच रहेको छ ।
कृष्ण युद्ध छोड्ने मोडमा पुगेका अर्जुनलाई उस्काउँदै ‘भौतिक शरीर नाशवान् र आत्मा अविनाशी भएकाले तिमीले कुनै शोक र संकोच नगरी आफ्नो कर्तव्य ठानेर युद्ध गर । एउटा योद्धाको लागि धर्मको पक्षमा युद्ध गर्नु भन्दा राम्रो अर्को कुनै कर्म छैन’ भन्छन् । यहाँ कृष्णले हिंसाका लागि अर्जुनलाई उक्साएका छन् । विशेष समयमा युद्ध पनि अत्यावश्यक हुनसक्छ भन्ने सोच माक्सर्वाद विपरीत देखिँदैन । तर, जे कारणले युद्ध आवश्यक भनिएको छ त्यो सोचचाहिँ अध्यात्मवादी देखिन्छ ।
गीता दर्शनमा तीन महत्वपूर्ण योग÷मार्गहरू रहेका देखिन्छन् । ती मार्गहरू हुन्– ज्ञान, कर्म र भक्ति योग । गीतामा यी तीन योगहरूलाई मुक्ति मार्गको रूपमा वर्णन गरिएको छ ।
सरसर्ती हेर्दा गीता दर्शनको मुख्य लक्ष्य पनि मानव जातिको मुक्ति अर्थात् मोक्ष प्राप्ति हो । तर, यी तीन मार्गको व्याख्यामा मानवले मुक्ति कसरी प्राप्त गर्न सक्छ भन्ने सवालमा गीतामा अध्यात्मिक कोणबाट ब्याख्या गरिएको छ । सबै मानिसको स्वभाव र कर्म एउटै नहुने भएकाले गीता दर्शनले मुक्ति अर्थात् सफलताको लागि तीन थरिका बाटोको रूपमा तीन थरिको योगको व्याख्या गरेको छ ।
यहाँ थोरै ‘योग’ भनेको के हो भन्नेबारेमा उल्लेख गर्न आवश्यक छ । गीतामा ‘सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते’ अर्थात सफलता वा असफलता जे भए पनि समभावमा रहनुलाई नै योग भनिएको छ । विजय–पराजय, दुःख–सुख, लाभ–हानी जे भए पनि आफ्नो मार्गबाट विचलित नहुनु नै योग हो । गीतामा भनिएको तीनै मार्गका लागि ‘योग’ अर्थात समभाव अनिवार्य मानिएको छ । समभाव वा योगको यो सोचमा कुनै पनि माक्र्सवादी द्वन्द्ववादी भौतिकवादीले असहमत हुनुपर्दैन ।
ज्ञान योग
गीता दर्शनकाअनुसार कुनै पनि वस्तुप्रतिको मोह अर्थात लालसा त्याग्न सकियो भने दुःखबाट मुक्ति प्राप्त गर्न सकिन्छ । कृष्णका अनुसार यो मार्ग तपस्या गर्नसक्ने, शास्त्रको ज्ञान भएका मेधावी व्यक्तिका लागि मात्र उपयुक्त हुन्छ ।
गीताको अध्याय चारमा ज्ञान मार्गको व्याख्या गरिएको छ । गीतामा भनिएको छ, ज्ञान मार्गमा हिँड्दैमा सबैलाई मुक्ति मिल्दैन । त्यसका लागि ज्ञान मार्गमा ‘योग’ जोडिनु पर्दछ । ज्ञानमा योग जोडेर नहिँड्ने ज्ञानीहरू मुक्त हुँदैनन् । यसको तात्पर्य धेरै कुराको जानकारी हुँदैमा मानिस ज्ञानी वा मुक्त हुँदैन । उसमा लालसा हुनु हुँदैन अनि मात्र ऊ मुक्त हुन्छ । यो सोच बुद्धको सोचसित मिल्छ ।
गीतामा भनिएको छ, जो व्यक्ति सफलता र असफलता दुवै आवस्थामा स्थिर चित्तमा रहन्छ, शुभ हुँदा हर्ष र अशुभ हँुदा विस्मात गर्दैन, ईष्र्या वा अहंकारशून्य छ, त्यस्ता व्यक्ति ज्ञानी हुन्छन् । उनीहरूले नै वास्तविक शान्ति र ज्ञानमार्गबाट मुक्ति प्राप्त गर्न सक्दछन् । ज्ञान मार्गलाई स्थित प्रज्ञको मार्ग पनि भनिन्छ । स्थित प्रज्ञ भनेको उच्च चेतनामा अवस्थित व्यक्ति अर्थात अविचलित मान्छे हो । हरेक मान्छे कोशिस गरेर त्यो स्थितिमा पुग्न सक्छ, विशेष मान्छे भइराख्नु पर्दैन । यो सोच नेपालको माक्र्सवादी आन्दोलनको लागि पनि निकै सान्दर्भिक छ । कम्युनिस्ट नेता हुने तर माथिदेखि तलसम्म लोभ, विचलन र अहंकारले ग्रस्त हुने रोगले नै त कम्युनिस्ट आन्दोलन यति धेरै बिग्रिएको हो ।
कर्म योग
सामान्य मानिसका लागि उपयुक्त मानिने मार्ग हो– कर्म योग । निष्काम कर्म गर्नु नै कर्म मार्ग अर्थात् कर्म योग हो । फलको आशामा गरिने कर्ममा समर्पण हुँदैन । त्यस्तो कर्ममा फल पाइन्छ कि पाइँदैन भन्नेतर्फ ज्यादा ध्यान जान्छ, कर्ममा ध्यान जाँदैन । विनासमर्पण कर्म गर्दा कर्म सफल हुनसक्दैन । यो नै कर्मयोगको सार हो ।
गीतामा भनिएको छ,
कर्माण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। (श्रीमद्भागवत गीता अध्याय २, श्लोक ४७)
यो श्लोकको तात्पर्य के हो भने कर्म गर्ने वा नगर्ने कुरा मात्र तिम्रो अधिन वा अधिकारमा छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । तिम्रो अधिकार कर्ममा छ, फलमा होइन । तसर्थ कर्तव्य ठानेर कर्म गर तर फलको आश नगर । कर्म योग भनेकै परिणाम के आउँछ भन्ने कुराको फिक्री नराखेर आफूले गर्नुपर्ने कर्म प्रेमपूर्वक गर्नु हो ।
कर्म भनेको वर्तमान समयमा गरिने काम हो भने फल भनेको भविष्यमा प्राप्त हुने परिणाम हो । कर्म गर्दा आशा गरिएकै फल पाइने कुरा निश्चित हुँदैन । कर्म गर्दा आशा गरिएको फल पाइएन भनेर निराश हुनु पनि बेठीक हो, यसले कर्म गर्ने व्यक्तिमा निराशा जन्माउँछ । कर्मै नगर्नु पनि गलत हो । यसले अकर्मण्यता जन्माउँछ । यो विचार आजको सन्दर्भमा पनि धेरै सान्दर्भिक छ ।
गीतामा फलको आश नगर भन्नुको तात्पर्य आफ्नो निम्ति मात्र होइन, सिंगै समाजले फल पाउने गरी कर्म गर भनिएको छ । यो सोच सिंगो समाजवादी आन्दोलनको लागि पनि त्यत्तिकै उपयोगी र सान्दर्भिक छ । कर्म मार्गबाट लिनुपर्ने शिक्षा हो–आफूले गर्नुपर्ने कर्मप्रतिको समर्पण ।
भक्ति मार्ग
गीतामा, दुःख–सुखमा समान रहने, अति हर्षित वा शोकाकुल नबन्ने, शुभ–अशुभ दुवै वस्तुको त्याग गर्नसक्ने, मित्र र शत्रुमा भेद नगर्ने र कुनै फलप्राप्तिको आशक्ति नराख्ने व्यक्ति मात्र भक्ति मार्गमा लाग्न योग्य हुने कुरा उल्लेख गरिएको छ ।
गीतामा कृष्णले सबैलाई मेरो भक्त हुन भनेका छन् र त्यस्तो भक्तिभाव भएका जो कोही पनि मुक्त हुन्छन् भनेका छन् । तर, भक्ति मार्गमा कृष्णले भनेको त्यो कुरा भने गलत छ । कुनै व्यक्तिको पनि भक्त बन्नु राम्रो कुरा होइन । किनकि भक्तसँग आलोचनात्मक चेत हुँदैन ।
लक्ष्यप्रति हुने प्रेम नै भक्ति योग हो । व्यक्तिमा रहेको समर्पण भावको तहले कुनै पनि कार्यको सफलता निर्धारण गर्दछ । त्यसकारण मान–हानी, विजय–पराजय, दुःुख–सुख जे भए पनि निष्ठायुक्त समर्पण र समभाव भयो भने सफलता प्राप्त हुने सम्भावना ज्यादा हुन्छ ।
गीतामा उल्लेख गरिएअनुसार आफ्नो लक्ष्यमा एकाकार हुनु ध्यान वा भक्ति हो । मानवले लक्षप्राप्तिका लागि ध्यानमा लीन हुनुपर्दछ । ध्यानयोग भक्तले मात्र गर्न सक्दछ । भक्त त्यो हो जो त्यस विषयप्रति सच्चा पे्रमी छ ।
भक्ति योगको मुख्य सूत्र हो– प्रेम । प्रेम नभएको व्यक्ति वा विषयमाथि भक्ति हुँदैन र त्यो आफ्नो विषय पनि हुँदैन, भयो भने त्यो कामचलाउ मात्रै हुन्छ । प्रेम भएको विषयमा मान्छे मर्न परे पनि तयार हुन्छन् । उदाहरणका लागि चे ग्वेभाराको समाजवादी क्रान्तिप्रति अगाध प्रेम भएकैले क्रान्तिका निम्ति उनी सहिद भए, बोलिभियामा विफल पनि भए तर विचलित भएनन् । चे ग्वेभारा भक्तियोग जान्दैनथे तर उनी भक्तियोगका असल उदाहरण हुन् । उनमा क्रान्तिप्रतिको निष्काम प्रेम थियो ।
समदर्शी भाव
गीतामा वर्णन गरिएको अर्को महत्वपूर्ण समदर्शीभाव हो जसको अर्थ हुन्छ– सबै कुरामा समान दृष्टि राख्नु । ज्ञान योगमा समदर्शी भाव मुख्य पक्ष हो । सामान्य चेतनाले समदर्शी हुन सकिँदैन । समदर्शी भन्नुको तात्पर्य जगतका तमाम वस्तुलाई आफूसमान ठान्नसक्ने अन्तर्दृष्टि हो । समदर्शी चेतना भएका व्यक्तिले कुनै पनि वस्तुलाई भौतिक रूपको आधारमा भेद गर्दैनन् । उनीहरू जय–पराजय, दुःख–सुख मात्र होइन, मानिस, जीवजन्तु र प्रकृतिमा पनि भेद गर्दैनन् किनकि मानिस, जीवजन्तु पनि प्रकृतिकै एउटा हिस्सा हुन् ।
त्यसैले त समदर्शन वा समभावतर्फ संकेत गर्दै कृष्णले अर्जुनलाई भन्दछन्,
विद्याविनयसंपन्ने ब्रह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।
अर्थात ः विनम्र साधु पुरुष आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्धान तथा विनित ब्राह्मणलाई र गाई, हात्ती, कुकुर तथा चण्डाललाई समान दृष्टिले हेर्दछन् ।
यदि सबै मानिसको चेतना समदर्शीको स्तरमा उठ्ने हो भने मानव समाजमा भइरहेको अशान्ति र भेदभावको अन्त्य हुने देखिन्छ । यसरी यदि गीता दर्शनका समय– सान्दर्भिक हुने ज्ञान मात्र ग्रहण गर्ने हो भने त्यसका कतिपय शिक्षा आजका लागि पनि त्यतिकै उपयोगी हुने देखिन्छ ।
सन्दर्भ सामग्रीः
१.श्रीमद्भागवद्गीता यथारूप (लेखकः कृष्णकृपामय, नेपालीमा अनुवादकः वादरायण दास
२) रूपान्तरण आन्दोलन र माक्र्सवादी अध्ययन–अनुसन्धान केन्द्रमा भएको दर्शनसम्बन्धी कक्षा नोट

तपाइको प्रतिक्रिया