कनचनपुर

मा प्रकाशित

दार्चुला त हेरिसकी अब आयौं तल ।
अत्याचारी छिमेकीको हेर्दै जाउँ चाला ।
हेर हामी आइपुग्यौं जिल्ला कञ्चनपुर ।
ब्रम्हदेव मण्डी हो यो थियो यहाँ नेर ।।
(१)
एक नम्बर स्तम्भ आज कता हराएछ ।
मिच्दै जाने साँढेले त बाटो बनाएछ ।।
यहाँसम्म मिचिसक्यो अरु पनि मिच्ला ।
चुपलागी बस्यौं भने अझै अघि बढ़्ला ।।
(२)
उतातिर टनकपुर हिँड हेर्न जाऊँ ।
राष्ट्रघाती सन्धि गरी ठगिएको ठाउँ ।।
दुई सय बाइस हेक्टर हाम्रो जमिनमा ।
बाँध बन्यो पानी जम्यो हाम्रै मझेरीमा ।।
(३)
खोई हाम्रो आधा आधी पानी र बिजुली ।
वारि हेर मरुभूमि पारी हरियाली ।।
छाम छाती अलिकति तातो छ कि छैन ।
मुटुभित्र तातो रगत दौडन्छ दौडन्न ।।
(४)
वीर भए एक मुठी माटो समातेर ।
वाचा गर नभत्काई मर्दिन भनेर ।।
आमालाई बेची खाने नकचरालाई ।
जानी राख राष्ट्रघाती सन्धि गर्नेलाई ।।
(५)
हिँड अब वनबासा गड्डाचौकी जाऊँ ।
तीस बिघा वर्षौंदेखि मिचिएको ठाउँ ।।
लक्ष्मीपुर, विलासपुर रामपुर हेर ।
मेला घाट हेरेपछि सुन्दर नगर हेर ।।
(६)
बेलडाँगी र त्रिभुवन बस्ती पनि हेर ।
नेपालीको खेतीपाती लुटिएको हेर ।।
एकछिन उभिएर छाम आफ्नै छाती ।
हेपिएर बाँची राख्नु हुन्छ र के जाती ? ।।
(७)
कवि पिताम्बर नेपाली
(कवि जनप्रिय बहुमुखी कलेजका पूर्वक्याम्पस प्रमुख हुन् ।)
गजल
यो नजरले त्यो नजरको
यो नजरले त्यो नजरको इशारा बुझ्न सक्छ
बुझेपछि मायाको दिलमा मूल फुट्न सक्छ
शृंगार गरी फूल तिमी नजिक आयौ भने
होस् गर मात्तिएको भँवराले चुम्न सक्छ
कति बस्छौं साँचेर भरिएको त्यो जवानी
आऊ साटौँ पिरती नत्र खोली सुक्न सक्छ
नजरका ती वाणहरूले प्रहार मात्रै नगरिदेऊ
मेरो पनि मुटु न हो चोट लाग्दा दुख्न सक्छ
आँखामा गाजल लगाई ओँठमा लाली लगाई
तिमी आयौँ भने कसम मुर्दा पनि उठ्न सक्छ

तपाइको प्रतिक्रिया