काठमाडौंमा ‘कडा खालको’ स्वाइन फ्लू

२०७४ वैशाख ५ गते १०:३८ मा प्रकाशित
सौर्य समाचार

swin flu
काठमाडौं । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरूले सचेतता अपनाउन आग्रह गरेका छन् । काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।
‘पहिलेपहिले नेपालमा देखापरेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हँुदा त्यसले त्यति हानी पु¥याएको थिएन’, उनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखापरेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने हुँदा यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’
करिब तीन साताअघि मात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको छ । ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लू देखिएको अस्पतालले जनाएको छ । गत फागुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लूको भाइरस भेटिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको केन्द्रीय प्रयोगशालामा रगत परीक्षण गराउने मध्ये करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखापरेको छ ।
के–के हुन लक्षण ?
चिकित्सकहरूका अनुसार लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुनसक्छ । यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ । स्वाइन फ्लू सरुवा रोग भएको हँुदा सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फुलुको शंका लागेमा बेलैमा स्वास्थ्य परीक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।
सन् २००९ मा विश्वमा पहिलोपटक स्वाइन फ्लूको संक्रमण देखापरेको थियो । एच वान एन वान भाइरस सुँगुरबाट मानिसमा सर्ने हँुदा यसलाई स्वाइन फ्लू भनिएको हो । स्वाइन फ्लुका विभिन्न प्रजातिमध्ये अमेरिकाको क्यालिफोर्निया सहरबाट फैलिएको क्यालिफोर्निया स्ट्रेन र मिचिगन सहरबाट फैलिएको मिचिगन स्ट्रेन प्रमुख दुई हुन् । क्यालिफोर्निया स्ट्रेनको तुलनामा मिचिगन स्टे«न कडा प्रकारको स्वाइन फ्लू हो ।
‘दम, छातीको संक्रमण, मुटुका रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरूमा यसको जोखिम झन् बढी छ’, सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘त्यसबाहेक सामान्य व्यक्तिमा पनि यसको जोखिम अन्य स्वाइन फ्लूको तुलनामा अझ बढी छ ।’ नेपालमा क्यालिफोर्निया स्टे«नको भ्याक्सिन उपलब्ध छ तर, मिचिगनको भ्याक्सिन नेपाल मात्र होइन, छिमेकी मुलुक भारतमा पनि छैन । यस्तो अवस्थामा यदि कसैलाई यो स्वाइन फ्लू भएमा मानिसलाई मृत्युको मुखमा पु¥याउन सक्छ ।
‘नेपालमा स्वाइन फ्लूका खोप त धेरै छन् । तर, मिचिगन स्ट्रेन कडाप्रकारको स्वाइन फ्लू हो र यसले मृत्युदर बढाउन सक्ने हुँदा समय रहँदै यसको जोखिम कम गर्न सरकारले खोप उपलब्ध गराउनु पर्ने देखिन्छ’, डा. पुनले भने । भारतमा समेत मिचिगन नामक स्वाइन फ्लूबाट ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ । सन् २०१६ को अन्त्यतिर देखापरेको यस रोगविरुद्ध खोप (भ्याक्सिन) लगाउन विश्व स्वास्थ्य संगठनले समेत सुझाव दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया