अदालती फैसलापछि लामिछाने बाहिरिए

२०७४ वैशाख ६ गते ११:१७ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । अदालती फैसलापछि कैलाश विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठलाई भित्र्याइएको छ । आगामी १३ जेठदेखि दोस्रो कार्यकाल सकिन लागेका कृष्णराज लामिछानेको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो । बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र गिरीको तीन कार्यकाल भएको भन्दै पाटन उच्च अदालतमा मुद्दा परेको थियो । अदालतले नेपाल राष्ट्र बैंकको विनियमावलीलाई टेक्दै तीन कार्यकाल खान नपाइने फैसला गरेको थियो ।
बैंकको अध्यक्षमा अदालतको तय गरेपछि लामिछानेले विवादमा पर्नुअघि नै तेस्रो कार्यकाल नखाने जानकारी सञ्चालक समितिलाई दिइसकेका थिए । त्यसपछि बैंकको वोर्डले सोमबार नयाँ प्रमुख कार्यकारीमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो । श्रेष्ठ एनसिसी बैकका प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका व्यक्ति हुन् ।
उनी एनसीसीमा हुँदा राष्ट्र बैंकले एनसिसीको बोर्ड टेकओभर गरेको थियो । त्यसपछि केन्द्रीय बैंकले उनको कार्यकाल थपेन । उनी एनसिसी अघि नबिल बैकको कामु सिइओ थिए । नेपाल राष्ट्र बैंकले विनियमावलीमार्फत प्रमुख कार्यकारी र सञ्चालकले दुई कार्यकाल मात्र पदमा बस्न पाउने व्यवस्था गरेको छ ।
विनियमावलीमा अहिले खाइरहेकोलाई एक मान्दै अर्को एक कार्यकाल थप्न पाउने सुविधा भए पनि अदालतले पुरानो कार्यकाललाई समेत जोडेर व्याख्या गरेको हो । अदालतले जहिलेसुकैबाट दुई कार्यकाल पुरा भएपनि तेस्रो कार्यकालका लागि अयोग्य हुने फैसला गरेको छ । श्रेष्ठले जेठ १४ गतेबाट कार्यभार सम्हाल्ने छन् ।

तपाइको प्रतिक्रिया