ठूला उद्योगमा छापा मार्ने तयारीमा विभाग

२०७४ वैशाख ६ गते ११:१८ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । राजस्व अनुसन्धान विभागले देशका प्रमुख औद्योगिक सहरका ठूला उद्योगमाथि निगरानी बढाएको छ । विराटनगर, वीरगंज, भैरहवा, चितवनलगायतका ठूला उद्योगले कर छलेको हुन सक्ने भन्दै ती ठाउँका उद्योगमाथि छापा मार्न लागेको विभाग स्रोतले बताएको छ । ‘ठूलो व्यापारीले अर्बौ रूपैयाँ कर छलेको भन्ने जानकारी आएकाले तीव्र रूपमा छापा मार्न लागिएको हो,’ विभागका एक उच्च अधिकारीले भने, ‘यस पटक देशमा ठूला तथा प्रतिष्ठित उद्योगीमाथि छापा मार्छौ ।’
अवैध सामानको ओसारपसार, कर छली गरेको भन्ने जानकारी आएकाले विभागले ती क्षेत्रका व्यापारीमाथि निगरानी बढाएको विभाग स्रोतले जनाएको छ । आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्तःशुल्क, गैरकर छली गरी राजस्व चुहावट गरेको व्यक्ति वा संस्थामाथि पनि छापा मार्न लागेको स्रोतको दाबी छ ।साना व्यापारीमाथि मात्रै राजस्व अनुसन्धानको टिमले छापा मार्ने गरेको भन्ने आरोप मेट्न पनि ठूला व्यवसायीमाथि छापा मार्न लागेको विभागले जनाएको छ । विभागका अनुसार अहिले देशभर एकैचोटि छापा मार्ने योजना छ । ‘सबै कम्पनीको बारेमा जानकारी लिने काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘सबै कम्पनीको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको र केही ठाउँमा छापा मार्न सुरू भइसकेको छ ।’
विशेषगरी, साना उद्योग भन्दा पनि ठूला उद्योगलाई केन्द्रमा राखेर विभागले विवरण संकलन गर्न थालेको स्रोतको भनाई छ । स्रोतका अनुसार गुड्खा, पान पराग उद्योग, सिमेन्ट उद्योग, स्टील उद्योगमा छापा मार्ने तयारी विभागको रहेको छ ।
छापामार शैलीमा उद्योगीमाथि आक्रमण गरिए त्यसको मान्य नहुने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । ‘स्वच्छ रूपमा उद्योगमाथि अनुगमन हुनुपर्छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘तर, व्यापारीलाई एउटा आतंककारीको जस्तो व्यवहार गरिए त्यसको विरोधमा उत्रिन्छौ ं।’ बजारलाई सन्तुलित बनाउन उद्योगमाथि अनुगनम गर्नु जायज भएपनि गलत स्वार्थबाट अनुगमन गर्न नहुने महासंघको भनाइ छ ।
‘हामी अनुगमन गर्न हुन्न भन्ने पक्षमा छैनौं,’ गोल्छाले भने, ‘तर, व्यवसायीलाई हतोत्साहित बनाउने र लगानी प्रभावित पार्ने गरी अनुगमन गरिनु हुन्न ।’ बिस्तारै बन्दै गएको लगानीको वातावरण प्रभावित गर्ने गरी अनुगमन हुँदा राज्य आफैलाई नोक्सान हुने महासंघको भनाइ छ । व्यवसायीका अनुसार केही सिमित व्यवसायीलाई केन्द्रमा राखेर राजस्व अनुसन्धान विभागले छापा मार्ने तयारी गरेको छ ।
विभागले बार्गेनिङ गर्न मात्रै यस अघि उद्योगमाथि छापा मारेको थियो । व्यवसायीका अनुसार व्यवसायीबाट फाइल उठाएका कर्मचारीले ४० लाख रूपैयाँसम्म मागेका थिए । त्यसमध्ये केही व्यापारीले कर्मचारीले मागेको सो रकम समेत भुक्तानी गरेको व्यवसायीबीचमा चर्चा छ । यस अघि पनि पहिला राजस्वको टोली आएर व्यवसायीका कार्यालयबाट कागजपत्र लाने गरेका छन् । कागजपत्र लगेर अनुसन्धानका नाममा पैसा असुल्ने काम मात्रै हुने गरेको व्यवसायीहरू बताउँछन् ।‘उद्योगसँग भएको खातापाता लैजाने तर, अध्ययन केही गर्ने होइन,’ एक उद्योगीले भने, ‘पछि मुद्दा हालौ कि यतै मिलाउने भनेर विभागमा बोलाउने गरेका छन् । खोसिएका खाता माग्न जाँदा छानबिन गर्दैछौँ भन्ने उत्तर दिने गर्छन् । तर, गरेका केही हुँदैनन् । त्यसपछि केही बार्गेनिङमा कुरो मिलेपछि खातापाता फिर्ता पाइन्छ र ‘मुद्दा’ पनि त्यत्तिकै सकिन्छ ।’

तपाइको प्रतिक्रिया