लाउडा काण्डमा सर्वोच्चको फैसला चटौतलाई सफाइ, श्रेष्ठद्वयबारे भने राय बाझियो

२०७४ वैशाख ७ गते १०:३६ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । सर्वोच्च अदालतले चर्चित लाउडा काण्डमा तत्कालीन नागरिक उड्डयनमन्त्री तारणीदत्त चटौतसहितलाई सफाइ दिएको छ । तर, वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठ र सदस्य तीर्थलाल श्रेष्ठबारे भने न्यायाधीशकै राय बाझिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले पूर्वमन्त्री चटौत, सिद्धराज जोशी, रामराजा उपाध्याय, उपेन्द्रप्रसाद उपाध्याय, पुष्करप्रसाद वाग्ले तथा अस्ट्रिया र इटलीका दुई नागरिकलाई सफाइ दिने विशेष अदालतको फैसलालाई सदर गरेको छ । उनीहरूले जानी–जानी निगमलाई हानी नोक्सानी पु¥याउने नियत राखेर काम गरेको नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।
तर, हरिभक्त श्रेष्ठ र तीर्थलाल श्रेष्ठबारे भने दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीश खतिवडाले हरिभक्तले बदनियत राखेर सरकारको निर्देशन पालना नगरेको तथा अधिकार दुरुपयोग गरेर भ्रष्टाचार जन्य कार्य गरेको प्रमाणित भएको मत राखेका छन् । साथै तीर्थलालले हरिभक्तको मतियारको भूमिका निर्वाह गरेको उनको राय छ । न्यायाधीश खतिवडाले हरिभक्त र तीर्थलाललाई सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै उल्टीको फैसला लेखे । उनले हरिभक्तलाई तीन वर्ष कैद र ५० हजार जरिवाना तथा तीर्थलाललाई एक वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर फैसलामा लेखेका छन् । तर, अर्का न्यायाधीश शारदाप्रसाद घिमिरेले न्यायाधीश खतिवडाको रायमा असहमति राखेका छन् ।
२०५७ सालमा वायु सेवा निगमले अस्ट्रियाको लाउडा एअरसँग विमान भाडामा लिँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले १२ जेठ २०५८ मा विशेष अदालतमा मुद्दा हालेको थियो । तर, विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशम्शेर जबराको इजलासले २८ साउन ०६४ मा सबैलाई सफाइ दिने फैसला सुनाएको थियो । त्यसविरुद्ध अख्तियार सर्वोच्चमा गयो । तर, लामो समयसम्म यो मुद्दाको फैसला हुन सकेको थिएन । बुधबार सर्वोच्चको फैसला त आयो तर, दुई प्रतिवादीबारे न्यायाधीशको राय बाझिएपछि अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

तपाइको प्रतिक्रिया