एमालेद्वारा निर्वाचन आयोगमा उजुरी निर्वाचन प्रभावित पार्न कार्यकर्तालाई पैसा बाँडियो

मा प्रकाशित

uml

काठमाडौं । एमालेले निर्वाचन आचारसंहिताविपरीत माओवादी पूर्वलडाकुहरूलाई रकम वितरण गर्न लागेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पूर्वलडाकुलाई रकम वितरण गर्न शान्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयोजनमा रकम निकासा भइसकेको एमाले दाबी छ । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोग पुगेको प्रतिनिधिमण्डलले सरकारले निर्वाचन प्रभावित पार्न बजेटमा नभएका शीर्षकमा रकम खर्च गरिरहेको ‘सबुत’ पेस गरेको हो ।
आयोगलाई ध्यानकर्षण गराए लगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले युवा तथा खेलकुद मन्त्रालयले ‘समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रम’ अन्तर्गत विभिन्न जिल्लामा करोडौँ रकम विनियोजन गरेको दाबी गरे । एमालेले युुवा तथा खेलकुद मन्त्रालय, योजना तथा बैदेशिक समन्वय शाखाको चलानी नं. १२७० को पत्र समेत पेस गरेको छ । जसमा समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रमका लागि पाँच करोड २३ लाखसम्मको स्रोतको सुनिश्चितता प्रदान गरिएको बेहोरा उल्लेख छ ।
समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रम निर्माण गर्न विभिन्न ७८ योजनामा रोल्पा जिल्लामा मात्रै पाँच करोड २३ लाख विनियोजन गरिएको र उक्त रकम बजेटको शीर्षकमा नरहेको र निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको एमालेले जनाएको छ । त्यस्तै रोल्पा जिल्लाभित्रका अन्तर गाविस जोड्ने नयाँ सडक आयोजनाहरूअन्तर्गत एक सय १३ वटा विभिन्न आयोजनामा अर्बौं रकम निकासा गर्न लागिएको एमालेले आयोगलाई जानकारी दिएको छ । नेम्वाङले निर्वाचन प्रभावित पार्न सरकारद्वारा भइरहेका यस्ता गतिविधि तत्काल रोक्न आयोगको ध्यानकर्षण गराएको जानकारी दिए ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिता पालानाका लागि आयोगले खबरदारी गर्ने बताएको नेम्वाङको भनाइ थियो । उनले स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेको र दलहरूले आयोगलाई सहयोग गर्नुपर्ने यादवको भनाइ रहेको नेम्वाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया