कुनै पनि शक्तिले निर्वाचन सार्न सक्दैन ः प्रधानमन्त्री

२०७४ वैशाख ८ गते १०:१० मा प्रकाशित
सौर्य समाचार

puspakamal-dahal_iEXjv0SHNa

झापा । प्रधानमन्त्री पुष्पकमल दाहालले यही ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् । स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारी झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले लामो संघर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन चाहेका छैनन् । चुनावी परिणामका कारण निर्वाचनबाट पछि हट्नु हुँदैन ।’ निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
२० वर्षपछि इतिहासमा नै पहिलोपटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँगाउँमा सिहंदरबार पु¥याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, ‘मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्वीकार गर्नुले म आपैmँ चकित भएको छु ।’ मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उनले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गरेका छन् ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि ३१ वैशाखमा नै स्थानीय तहको निर्वाचन हुन्छ भने । ‘लामो समयको संघर्षपछि उत्पीडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन्, कुनै पनि हालतमा अब निर्वाचन हुन्छ, तपाईंहरू ढुक्क हुनुहोस्’, उनले भने ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया