दलित उम्मेदवार पाउन दलहरूलाई सकस

मा प्रकाशित

धनगढी । हरेक वडामा एक जना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, माले, राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । दलित महिला उम्मेदवारको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ । दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । दलित महिला उम्मेदवारको अभावकै कारण एक जना दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारीस्वरूप तीन दलका नेता छुट्टाछुट्टै रूपमा ती महिलाको घरमा पुगेर आ–आफ्नो पक्षमा पार्ने प्रयाससमेत गर्ने गरेको देखिएको छ ।
एमाले नेत्री कलावती जोशीले वडामा दलित महिला उम्मेदवार पाउने समस्या ठूलो देखिन थालेको बताए । उनले भनिन्, ‘पाँच ठूला दलका लागि मात्र जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ ।’उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना हुने देखिएको छ ।
६ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा रहेका छन् । ‘पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन’, कांग्रेसका बमले भने, ‘तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ ।’
माओवादी केन्द्रका नेता हरि चौधरी (उत्सव) ले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गरे । अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भए पनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उनले बताए ।

तपाइको प्रतिक्रिया