हिमालयन ट्रस्टले बनायो सात वटा विद्यालय भवन

२०७४ वैशाख ८ गते १०:३० मा प्रकाशित
सौर्य समाचार

सोलुखुम्बु । हिमालयन ट्रस्टले दुई वर्षअघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका विभिन्न सात वटा विद्यालयमा भूकम्प प्रतिरोधी ३७ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुका साथै ६ वटा कक्षा कोठा मर्मत गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ । भूकम्पलगत्तै कक्षा सञ्चालनका लागि विभिन्न विद्यालयमा पाल उपलब्ध गराउनुका साथै सिकाइ केन्द्रसमेत निर्माण गरिदिएको ट्रस्टले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर चार करोड तीन लाख ८३ हजार नौ सय ६० रुपैयाँको लागतमा सात वटा विद्यालयमा नयाँ भवन निर्माण तथा आंशिक क्षति भएका कक्षाकोठाको मर्मत गरेको ट्रस्टका जिल्ला संयोजक नव भुजेलले जानकारी दिए ।
उनका अनुसार सो ट्रस्टले ल्हमुकर्मा आधारभूत विद्यालय गोली–९ मा तीन कोठे नयाँ भवन र गोली आधारभूत विद्यालय गोली–७ गेप्चुकामा ६ कोठे भवन निर्माणका साथै आंशिक क्षति भएका दुई वटा कक्षाकोठा मर्मत गरिदिएको हो । यस्तै बेनी आधारभूत विद्यालय सोलुदूधकुण्ड नगरपालिका–२ मा चार कोठे नयाँ भवन, जुनबेसी माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–२ मा १२ वटा कक्षा कोठा भएको दुई वटा भवन, पिके माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–३ मा नौ वटा कक्षाकोठा भएको दुई वटा भवन, जनजागृति माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–५ मा तीन वटा कक्षाकोठा भएको एउटा भवन निर्माणका साथै ज्वालामाई आधारभूत विद्यालय सोलुदूधकुण्ड नगरपालिका–३ मा चार वटा कक्षा कोठा मर्मत गरिदिएको छ ।
भूकम्पका कारण विद्यालयभवन क्षतिग्रस्त हुँदा कक्षा सञ्चालनमा समस्या भइरहेका बेला सो ट्रस्टले भवन निर्माण गरिदिएपछि कक्षा सञ्चालनमा सहज भएको पिके माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरले बताए । प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीद्वारा स्थापित हिमालयन ट्रस्टले सोलुखुम्बुका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, शिक्षक तलब, छात्रवृत्ति प्रदान तथा भौतिक निर्माणको काम गर्दै आएको छ । ट्रस्टले जिल्लामा भूकम्पबाट क्षति भएका थप आठ वटा विद्यालयमा ३३ वटा नयाँ कक्षाकोठा र खुम्जुङ माविमा एक सय ८५ मिटर लामो पर्खाल लगाउन लागेको छ ।

तपाइको प्रतिक्रिया