बैंकमा जम्मा गरेको धनमा पनि ठगी

२०७४ वैशाख ८ गते १०:५५ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । हिजोआज बैंकमा राखेको निक्षेप पनि असुरक्षित हुन थालेको छ । बैंकमा रकम जम्मा गरिएको छ भनेर ढुक्क हुने अवस्था अब रहेन । कहिले एटिएम प्रकरण कहिले स्वाइप काण्डले निक्षेपकर्ता त्रस्त भइरहेका अवस्थामा कैलाश विकास बैंकको ठगी प्रकरण थपिएकाले सबैलाई झस्काएको छ ।
साथमा वा घरमा पैसा राख्दा चोरी, डकैतीलगायत ज्यान पनि जानसक्ने भएकाले यी कुराबाट ढुक्क हुन मानिसहरू बैंकप्रति आकर्षित भएका हुन । तर, बैंक पनि अब सुरक्षित नरहेको सन्देश कैलाश विकास बैंक प्रकरणले दिएको छ ।
राजधानी काठमाडौंमा व्यक्तिले बैंकमा जम्मा गरेको खाताबाटै नक्कली एटिएममार्फत रकम चोरी हुने वा स्वाइपमार्फत चोरी भएको घटना त अब पुराना भए । हिजोआज पोखरास्थित कैलाश विकास बैंकको कर्मचारीबाटै सेवाग्राही ठगिएको समाचारले निक्षेपकर्ता त्रस्त भएका छन् । बैंकले ठगीएका सेवाग्राहीको निक्षेपको क्षतिपुर्ती गर्ला वा सम्वन्धित कर्मचारीलाई पक्राउ गरेर भूक्तान गराउँला, तर निक्षेपकर्ताको मनमा भने डर रहिरहने देखिएको छ ।
घटना विवरणअनुसार पोखरास्थित कैलास विकास बैंकका म्यानेजर रविचन्द्र खनाल निक्षेपकर्ताको करोडौं रकम लिएर फरार भएका छन् । उनले देशै छाडेर गएको बताइएको छ । उनीसंग अमेरिकाको पाँच वर्षे भिसा रहेको बताइन्छ ।
ग्राहकले बैंकमा जम्मा गर्न ल्याएको रकम बैंकमा जम्मा नगरी खल्ती राखेको, ‘भरे यति नम्वरको यति रकमको चेक आउँछ अहिले मलाई पैसाको खाँचो प¥यो’ भनेर बैंकसंग रकम लिएर उनी फरार भएको समाचार छ । खनालले सर्वसाधारणले बैंकमा जम्मा गर्नल्याएको ५ करोड, बैंकबाट एक करोड ८० लाख र विभिन्न सहकारीबाट दुई करोड रकम कुम्ल्याएर फरार भएको समाचारमा उल्लेख छ ।
हाल बैंकले सर्वसाधारणले निक्षेप जम्मा गरेको रकम बैंकमै जम्मा गरिसकेको जनाएको छ । तर, कतिको निक्षेप जम्मा भयो कतिको भएन एकिन हुन सकेको छैन । एक दिन वा केही घण्टा पनि आफ्नो निक्षेप हराउँदा कतिपय ग्राहकलाई धेरै नोक्सानी हुनसक्छ । त्यसको क्षतिपुर्ती बैंकले कसरी गर्छ ?
कैलाश बैंकको ठगी काण्डको समाचार सुनेका काठमाडौं कपनका राममणि निरौला भन्छन्, ‘बैंक नै असुरक्षित भएपछि अब पैसा कहाँ राख्नु ?’ आम निक्षेपकर्ताका मनमा पलाएको यस्तो डरले भयावह संकेत गरेको छ र यसले भोलिका दिनमा मुलुकको अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्छ, कपनकै रमा भट्टराई भन्छिन् ‘यसमा राष्ट्र बैंकले नै चासो लिएर निक्षेपकर्तालाई ढुक्क बनाउने वातावरण बनाउनु पर्छ ।

तपाइको प्रतिक्रिया