विराटनगर किंग्स र टिम चौराहा डिपिएलको फाइनलमा

२०७४ वैशाख ८ गते १०:५८ मा प्रकाशित
राधिका बोहरा

dpl
कैलाली । पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषवाकरको कप्तानीमा रहेको बिराटनगर किंग्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
यो डिपिएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डिपिएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किंग्सविरुद्ध १ सय ७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जितेको थियो । टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहँदा अमर रौतेलाले १६ रन जोडे । रूपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहव आलमले १–१ विकेट लिए । टिम चौराहाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन मात्र बनाउन सक्यो ।
राम्रो सुरुआत गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानहरूले ठूलो साझेदारी नै गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो । उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४–१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे । चौराहका लागि ललित राजवंशी र सौरभ खनालले रुपन्देहीको ३–३ विकेट लिए । रोचक के छ भने समूह चरणका ५ मध्ये मात्र २ खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधारमा चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो । समूह चरणको अन्तिम खेलमा रूपन्देही र टिम चौराहा नै भिडेका थिए र प्ले अफमा स्थान बनाउन रूपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनुपर्ने थियो ।
पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो । बिहीबार पनि पारस चम्किए र रूपेन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ । एमिनेटरमा काठमाडांै गोल्डेन्सलाई हराएर उपाधि भिडन्तको यात्रामा कायम रहन रूपन्देहीलाई जित्नुपर्ने खेल जितेर चौराह फाइनल पुगेको हो । टिमका सबै खेलाडीहरूले पछिल्लो खेलमा सुधारिएको प्रदर्शन गर्दै आएपछि खेलमा फर्किएको र फाइनलमा पनि राम्रो प्रदर्शन गर्ने चौराहका कप्तान पारस खड्काले बताए ।

तपाइको प्रतिक्रिया