सपनाको देश अमेरिका

२०७४ जेठ १९ गते ७:५८ मा प्रकाशित

18485396_10212889492974204_7071714137621438658_n

– भिभिता सेढाई
सपनाको देश तर हामीले भने धेरैजसो अमेरिकामा दुःख पाको पीडा भोगेको मात्र सुन्छौँ, पत्रपत्रिकामा पढ्छौँ । अमेरिकामा दुःख मात्रै छैन धेरै मौका पनि छन् । धेरथोर पैसा कमाउन सकिन्छ । आत्मनिर्भर बन्न सकिन्छ । स्वतन्त्रता छ । उता स्वदेशमा रहनुभएका आमाबाबा, दाजुभाइ, दिदीबहिनीलाई आवश्यकता पर्दा सहयोग गर्न सकिन्छ । त्यसैले नै अमेरिकालाई सपनाको मुलुक पनि भनिएको हो । १७÷१८ वर्षको उमेरमा प्लस २ सकिने बित्तिकै बिदेशिनु सानो आँटको कुरा होइन ।

किनभने त्यो त बिहानबेलुका आमाले पकाएको खाएर, थालमा हात चुठेर, बाबासँग पैसा होस् कि नहोस् मलाई खर्च चाहियो भन्दै मागेर, घरमा कामको नाममा ढलेको लोटासम्म नउठाएर, साथीभाइ भन्दै दिनभर रमाइलो गर्दै हिँड्ने उमेर हो । त्यो उमेरमा हामीलाई घरमा बाबाआमाले यस्तो गर त्यस्तो नगर, समयमा घर आऊ, राती बाहिर नहिँड, राम्रो पढ, कुलतमा नलाग भन्दा बाँधेर राखेको सोच्छौँ । हाम्रो सोचाइ गलतभन्दा पनि त्यो उमेरै त्यस्तै हो ।

परिपक्वता आइसकेको हुँदैन । के गलत के सही छुट्याउन सक्तैनौ । बाबाआमाले हाम्रै लागि भनेको हो, हाम्रो सुनौलो भविष्यको लागि बाटो देखाएको हो भनेर बुझ्दैनौ । कति भाइबहिनी अहिले पनि त्यही रमाइलो जीवन बिताउँदै छन् नेपालमा । अर्कातिर, त्यही उमेरका कतिपय भाइबहिनी त्यो रमाइलो, घुमफिर, सपना र रहर थाती राखेर, साथीभाइ छोडेर घर परिवारको जिम्मेवारी बोकेर, आफ्नो सपना पूरा गर्न, उच्च शिक्षा हासिल गर्न, केही कमाउने आशाले र स्वतन्त्रको अनुभवका लागि एक्लै विदेशिएका छन् । यस्तै हजारौँ युवा बुझेर वा नबुझी साथीभाइको लहैलहैमा अमेरिका आएका छन् । म उनीहरूको आँट, र अठोटलाई अभिवादन गर्छु । सबै नराम्रै, दुःखै मात्र छ भन्न मिल्दैन अमेरिकामा । विशेषगरी त्यो उमेरमा घरमा तिनले सिंको पनि भाँचेका हुँदैनन् ।

घरमा आमाले मात्र गर्ने तरकारी किन्ने, खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने र पट्याएर राख्ने, कोठा र घरको सरसफाइ गर्ने सबै घरायसी कामकाज गर्न सिकाउँछ अमेरिकाले तिनलाई । आमाहरूको त्याग, माया र महानता पनि बुझाउँछ अमेरिकाले ।  यो अमेरिकाको हावापानी नै त्यस्तै छ । अमेरिकीको चालचलन नै त्यस्तै छ जसले हामी नेपालीको मन तान्छ र हामीलाई पनि आत्मनिर्भर, स्वावलम्वी बन्न प्रोत्साहन गर्छ । उता नेपालमा हुँदा बाबाले हाम्रो लागि गरिदिने सबै काम पनि सिकाउँछ अमेरिकाले । कलेजको फी तिर्ने, पढ्ने विषय छान्ने र दर्ता गर्ने, काम खोज्न हिँड्ने समय व्यवस्थापन गर्ने, घरको भाडा, बिजुलीपानीको बिल तिर्ने, महिनाभरको खर्च चलाउने, आफ्नै बलमा काम गर्ने, अलिअलि पैसा बचाउने र पैसा बच्यो भने घरको आवश्यकता पूरा गर्ने जस्ता काम पनि गर्न सिकाउँछ । बाबाले हाम्रो लागि जीवनभर गर्नुभएको कडा परिश्रमको महत्व बुझाउँछ अमेरिकाले ।
नेपालमा निजी गाडी चढ्ने थौरै धनी, हुनेखानेले मात्रै हो । अमेरिका आएपछि हामी धेरैले आफ्नै गाडी चड्छौँ । यो हाम्रा बाबाआमा र हाम्रो पनि ठूलो सपना हुन्छ । हुनत, निजी गाड़ी हुनैपर्ने बाध्यता पनि छ अमेरिकामा काम, कलेज जानआउन । तर, त्यस्ता कयौँ बाध्यता नेपालमै भए कहिल्यै पूरा हुँदैन थियो । बाध्यता नै सही, सरर गाडी चढेर हिँड्ने धोको पु¥याइदिन्छ अमेरिकाले । बाबाआमालाई अमेरिका घुमाउन ल्याएर, गाडीमा राखेर सरर्र आफैँले चलाएर अमेरिकाका विभिन्न राज्य घुमाउन पाउँदाको सान, गर्व अमेरिकाले नै दिएको छ । नेपालमा नै बसेको भए यो सब सकिँदैन थियो र बाबाआमाले हामीलाई हुर्काउन, हाम्रो इच्छा पूरा गर्न गर्नुभएको त्याग, दुःख, परिश्रमको अनुमान पनि लगाउन सकिँदैन थियो ।
सबैलाई अमेरिकामा राम्रै मात्र भएको छैन होला । अझै पनि कतिलाई अमेरिकाले आत्मनिर्भर बनाउन सकेको छैन होला । कतिले अझै पनि नेपालबाटै पैसा मगाउने गर्छन् होला । कसैले तिनको परिवार सक्षम हुनुहुन्छ सजिलै पठाइदिन सक्नुहुन्छ भनेर मगाउँछन् त कसैले काम नपाएर यहाँ खाना बस्न गाह्रो भएर बाबाआमासँग माग्नुबाहेक अरू विकल्प नपाएर मगाउँलान् । तर, तिनले काम पाएपछि पैसा नेपाल पठाएका पनि छन् । बिस्तारै बिस्तारै यहाँ बस्दै गएपछि अमेरिकाले आत्मनिर्भर बनाएरै छोड्छ । आत्मनिर्भर बन्नुबाहेक अरू उपाय पनि त हुँदैन । नेपालबाट कहिलेसम्म र कति पठाउने भन्ने हुन्छ । अमेरिकामा हजारमा पैसा आउँदा उता नेपालमा लाखलाखमा जान्छ । जति नै धनीले पनि धेरै वर्षसम्म यताको खर्च उठाउन गाह्रै पर्छ । पक्कै पनि छोराछोरीको माया आफ्नो ठाउँमा हुन्छ ।
कति जना ऋण गरेर विदेश आएका हुन्छन् र त्यो ऋण अमेरिका आएको केही वर्षमा तिरी पनि सक्छन् काम गरेर । कतिले अलि बढी काम गरेर नेपालमा परिवार पालेका छन् । बाबाआमाको सपना पूरा गरेका छन् । दाजुभाइ, दिदीबहिनीको रहर पूरा गर्न, पढाइको लागि पनि सहयोग गरेका हुन्छन् ।  अमेरिका आएको सुरुसुरुमा घरको, साथीभाइको, बाबाआमाको सम्झना आउनु स्वाभाविकै हो तर यहाँ बस्दै जाँदा यतैको हावापानी, रहनसहनको बानी पर्न थाल्छ । उता बाबाको काँधबाट एक जनाको जिम्मेवारी कम हुँदा पनि नेपालको महँगीमा धेरै सहयोग मिल्छ घरबार चलाउन । बाबाआमाले बच्चै ठानेका छोराछोरीलाई अमेरिकाले घरको एउटा बलियो र सक्षम खाँबो बनाएको छ ।
आफू चिप्सको भरमै (अमेरिकामा पैसा छ भने कहिले भोको रहनु पर्दैन) गुजारा गरेर पनि घरको चुलो निभ्न दिएका छैनन् अमेरिका आइपुगेका छोराछोरीले । बाबाआमाको शिर गर्वले उठाइदिएका छन् । भाइबहिनीलाई डाक्टर इन्जिनियर बनाएका छन् । कतिले बाबाआमाको जीवनभरको सपना एउटा पक्की घर बनाइदिएका छन् । जग्गा किनिदिएका होलान् कतिले, कतिले गाडी, मोटरसाइकल किनिदिएका छन्, बाबाको ऋण तिरेर काँध हलुका बनाइदिएका छन् । यस्तै कयौँ सराहनीय काम गरेका छन् ती १७÷१८ वर्षमै बिदेसिएका कलिला युवाले ।  जिन्दगीको यात्रामा दुई पाटा हुन्छन् । मैले अमेरिका आएर धेरै दुःख पाएँ, खान पाइनँ, घरपरिवार, साथीभाइबाट टाढा भएँ । रमाइलो गर्न पाइनँ भनेर दुःखित भएर बस्ने कि मैले दुःख गरेर, मिहिनेत गरेर बाबाआमालाई सुख, खुसी दिएँ, उहाँहरूको सपना, रहर पूरा गरिदिएँ भनेर गर्वका साथ अझै अगाडि बढ्ने हो रोजाइ हाम्रै हातमा छ ।

कहिले नभनिएका, नलेखिएका सफलताका कथा छन् अमेरिकामा । धेरैलाई स्वतन्त्र, स्वावलम्बी, आत्मनिर्भर, निडर, बलियो मानसिकता, समय र पैसा कुशल व्यवस्थापन, जिम्मेवार र सक्षम नागरिक पनि बनाएको छ अमेरिकाले ।

तपाइको प्रतिक्रिया